कोभिड–१९ को दोस्रो छालले छिमेकी भारत क्षत्विक्षत बनिरहँदा नेपालमा पनि महामारीको सुनामी आउने त्रास फैलिएको छ । अघिल्लो लकडाउनमा धेरै आतंकित, धेरै दुःख पाएर बिस्तारै कोरोना जितेको अनुभूति गरेका हामी नेपाली पुनः थुनिएका छौँ । स्थानीय संक्रमणको स्थितिअनुसार ‘टार्गेटेड’ निषेधाज्ञा सुरु भरहँदा पुनः एकपटक रोकथामका खातिर सामाजिक दुरीको महत्व ह्वात्तै बढेर गएको छ ।
‘सामाजिक दुरी’ आफैँमा विरोधाभाषपूर्ण (अक्सिमोरोन) शब्दावली हो । मान्छे–मान्छेबीच दुरी कायम गर्ने कार्यलाई विश्वभरि किन सामाजिक दुरी (‘सोसल डिस्टेन्स’) भनियो होला ? कैलेबाट यसको प्रयोग सुरु भयो होला ? सामाजिक त त्यो व्यक्ति हुन्छ, जो सबैको सामीप्य रुचाउँछ, सबैको साथ र संगतमा रमाउँछ । जो एकलकाटे छैन । कसैसँग नमिल्ने र आफूलाई अलग राख्न खोज्ने कामलाई मनोवैज्ञानिक भाषामा ‘एन्टी सोसल बिहेवियर’ पो भनिन्छ त !
कोरोनाजस्तो महामारीमा प्रचलित सामाजिक दुरीको अर्थ भौतिक दुरीको मात्रा वा मापन हो । मिटरमा, किलोमिटरमा नाप्न मिल्ने लम्बाइ हो । वास्तवमा दुरी त अनेक प्रकारका हुन्छनः भौतिक, सामाजिक, राजनीतिक, वैचारिक, भावनात्मक, मनोवैज्ञानिक, आदि । वर्षौं सँगै बसेका, एउटै ओछ्यानमा सुतेका श्रीमान्–श्रीमती पनि भावनात्मक रूपमा धेरै टाढा हुन सक्छन् । परिवारको करले, इज्जतको डरले मात्रै नछुटेका हुन सक्छन् । तर, कोही हजारौँ माइल पर भए पनि, भौतिक रूपमा कहिल्यै नभेटे पनि ज्यादै आत्मीय सम्बन्धमा बाँधिन सक्छन्– खासगरी आजको स्मार्ट फोन र डिजिटल मिडियाको जमानामा ।
यस अर्थमा कोरोना संक्रमण ‘चेन ब्रेक’ गर्ने हेतु एपिडिमेलोजिस्टहरूले सुझाएको, राज्यले अराएको, व्यक्तिले कायम गर्न खोजेको सामाजिक दुरीलाई वास्तवमा भौतिक दुरीको संज्ञा दिनु पो बढी उपयोगी हुन्थ्यो होला । कोरोना महामारीले विश्वभर विनाशलीला मच्चाएको यतिका समय भइसक्दा पनि यसबारे धेरै चिज पत्ता लाग्न बाँकी नै छ । ठ्याक्कै दुई मिटरको दुरीमा बस्दा कुन हदसम्म संक्रमणबाट सुरक्षित भइन्छ भन्ने ग्यारेन्टी पनि कसैले दिन सकेको छैन । तैपनि दुई मिटरलाई नै संसारभर मापदण्ड बनाइएको छ, र हामी त्यही पालना गर्ने कोसिसमा छौँ । तर, सवाल उठ्छ– सबैसँग सधैँ दुई मिटर टाढा रहेर जीवन चल्छ ? कति दिन, कति हप्ता, कति महिना यसरी जीविका चल्छ ?
केही दिनअघि आफ्नो अनलाइन पत्रिका सेतोपाटीमा सम्पादक अमित ढकालले सामाजिक दुरी र मास्कबारे एक महत्वपूर्ण विषय उठाए । उनले सम्झाए कि आफ्ना नातागोता, परिवारसँग मास्क खोलेर हामीले गल्ती गर्दै छौँ । हुन पनि हो, भाइरसले आफ्नो र अर्को चिन्दैन । यसबाट पनि मेरो माथिको जिकिर पुष्टि हुन्छ कि व्यवहारतः दुई मिटिर त के एक मिटरकै दुरी कडा रूपमा लागू गर्न असम्भव छ ।
नेपालमा मात्र होइन, विकसित मुलुकमा पनि यो नियम पालना गर्न कठिन छ । लकडाउनका वेला मैले ६–७ महिना लन्डनमा बिताएँ । बसमा, रेलमा, सपिङ कम्प्लेक्समा, अस्पतालमा, युनिभर्सिटीमा, कहीँ पनि सबैबाट १–२ मिटर टाढा रहन असम्भव थियो । नेपालजस्तो यातायात र अन्य सार्वजनिक सुविधा न्यून भएको नेपालमा त यो झनै असम्भव विषय हो ।
मेरो मनसाय कोभिड संक्रमण नियन्त्रण गर्ने नियमहरू पालना नै नगरौँ भन्ने पक्कै होइन । यहाँ केवल व्यावहारिक सत्यता उजागर मात्र गर्न खोजिएको हो । र यो सामाजिक दुरी कायम गर्न नसकिने सत्य कोरोनाबाहेक अन्य विषयमा लागू हुन्छ । जस्तै कि, छुवाछुत । अरुले सामाजिक दुरीको सकस र अपमान सहनुपरेको कोरोना महामारी सुरु भएपछि हो, तर मेरो र आमदलितको जीवन सामाजिक दुरीको कथाव्यथाले भरिभराउ छ ।
सबै विष्टहरूबाट टाढै रहनुपर्ने, छोयो कि उनको देउता रिसायो, जिउ अपवित्र भयो– कुलधर्म नासियो ! यस्तो मान्यता ! निजी तथा सार्वजनिक स्थलहरूमा दुरी कायम गर्नैपर्ने । मन्दिर पूजा गर्न जाँदा ढोकाबाहिरै बस्नुपर्ने, टीको पातमा लिएर आफैँ लगाउनुपर्ने, साथीको घरमा, चिया पसलमा आफूले खाएको भाँडा आफैँ पखाल्नुपर्ने । खाना हालिदिने, धुने पानी हालिदिने माथिबाट– नछोईकन । भोजभतेरमा अलग्गै तल्लो गरामा गुन्द्रीले बारेर खान दिने, भातमासु केही इन्चमाथिबाटै खसालिदिने । झुक्केर त्यो दुरी शून्य भयो भने, अर्थात् डाडु छोइयो भने पिटाइ खाइने ! अझै पनि कतिपय तराईका गाउँमा डोमचमारको छायाले समेत ठाकुर, झा, कायस्थलाई छुन हुँदैन । जसको मतलब बिहान र घाम डुब्ने वेला छाया लामो हुने हुनाले ती दलितहरू निकै टाढा बस्नुपर्ने सकस झेलिँदै छ अझै ।
अरूले सामाजिक दुरीको सकस र अपमान सहनुपरेको कोरोना महामारी सुरु भएपछि हो, तर मेरो र आमदलितको जीवन सामाजिक दुरीको कथाव्यथाले भरिभराउ छ । सबै विष्टहरूबाट टाढै रहनुपर्ने, छोयो कि उनको देउता रिसायो, जिउ अपवित्र भयो– कुलधर्म नासियो !
यस अर्थमा यो दुरी झनै असामाजिक दुरी हो । मान्छेलाई मान्छे झैँ बाँच्न नदिने आपराधिक दुरी हो । यो वर्गीय दुरी, यो धार्मिक दुरी, यो सांस्कृतिक दुरी, यो अमानवीय दुरी, यो अत्याचारी दुरी नहटाएसम्म हाम्रो संस्कृति, हाम्रो सभ्यता, हाम्रो धर्म, हाम्रो समाज विकसित हुँदैन, आधुनिक बन्दैन । यो व्यवस्थाको अन्त्य नगरी हाम्रो समाजमा, हाम्रो देशमा भाइचारा, सद्भाव, शान्ति फस्टाउँदैन । यस्तो मध्ययुगीन, फासिवादी चलन कायम राखेर राष्ट्र समुन्नत बन्न सक्दैन । भौतिक विकास मात्रै विकास र समृद्धि होइन । सभ्यता पनि चोखिनुपर्छ, संस्कार र संस्कृति पनि परिष्कृत बन्नुपर्छ ।
अलि गहिरिएर हेर्दा कोरोनाको केसमा जस्तै जात व्यवस्थामा पनि यथार्थमा सामाजिक दुरी कायम गर्न मुस्किल हुन्छ । लगभग यो असम्भव छ । आफैँ पकाएर मात्रै खाने कट्टरपन्थी बाहुनले पनि आखिर त्यही कामीले बनाएको भाँडामा पकाउनुपर्छ, कामीले बनाएको थालमा खानुपर्छ । शूद्र भनेर मन्दिर पस्न नदिए पनि भित्र त्यही कामीले बनाएको त्रिशूल र घन्ट पुजिन्छ, उसैको सीपको गजुर हुन्छ, त्यही दमैले थुक लाएको धजा चढाइन्छ । त्यही सार्कीले बनाएको वा मर्मत गरेको जुत्ता लगाउने हो, त्यही दमैले ज्यान नापी–नापी सिएको कपडामा ठाँटिने हो । कसरी सम्भव छ, यी पवित्र भनिने जातहरूले दलित नछोई, दलितबाट सधैँ पर रहेर जीविका गर्न ? सामाजिक दुरी त एकदम अप्राकृतिक, एकदम अवैज्ञानिक, एकदम देखावटी मात्रै हो । अरूलाई हेपेर आफू महान् र उच्च देखाउने प्रपञ्च मात्रै हो ।
केही साल पहिला प्रसिद्ध लोकदोहोरी गायक राजु परियार र कृष्ण परियारको गीतले यो सत्य अत्यन्तै कलात्मक र मुटु छुने गरी प्रस्तुत गरेको छ । गीतले भन्छ, ‘रुमाल धोको छु, यो खोलीको पानी कोही नखानू, मैले छोको छु !’ कति क्रान्तिकारी छ, यो रचना । गीतले हावामा सास नफेर किनकि यसैमा मैले नि सास फेरेको छु भन्छ, लुगाको सट्टा पात लगाएर हिँड भन्छ । जातको आधारमा कायम गरिएको सामाजिक दुरी बिलकुल आधारहीन, अव्यावहारिक, असत्य छ भन्ने कुरालाई यसरी सशक्त ढंगले पस्किएको छ, यस गीतमा ।
भनिन्छ, जतिसुकै नराम्रो घटना वा महामारीले पनि कुनै न कुनै सकारात्मक कुरा सिकाएरै जान्छ । कोरोना भाइरसले एक प्रकारले सबैलाई अस्पृश्य बनाएको छ । अछुत भनेर हामीले जीवनभर भोगेको पीडा कोभिड बिरामीले प्रत्यक्ष अनुभूत गर्न पाएका छन् । यहीँबाट हाम्रो परम्परागत समाजमा नयाँ चेतना फैलियोस् । कोरोना कहर त बिस्तारै पार लाउने नै छौँ, छुवाछुतरूपी धार्मिक सामाजिक कोरोना हटाउन पनि जागरुकता बढोस् । यस उद्देश्यका लागि सामाजिक दुरी बढाउने होइन, घटाउँदै लाने क्रमले तीव्रता पाओस् ।