करिब डेढ दशक प्रवासी जीवन व्यतीत गरेर आफ्नै देशमा केही गर्ने उद्देश्यले फर्किएपश्चात् हालसालै स्थानीय चुनाव प्रत्यक्ष देख्ने, भोग्ने अवसर मिल्यो । तर, यसपटक मैले मतदान गरिनँ । भोट हाल्न औँलाहरू तयार भए, तर मन तयार भएन । गोरखा सिरानचोकस्थित घरमा भोट माग्न आएका ठूला दलका उम्मेदवार र प्रतिनिधिलाई हप्काएर पठाएँ । त्यो मेरो उनीहरूप्रति अनादर नभई आक्रोश र पीडाको अभिव्यक्ति थियो । म तब मात्र भोट हाल्नेछु, जब गाउँका सबै साथीभाइसँगै बसेर खानपिन गर्न पाउनेछु, सबै मन्दिरका ढोका हाम्रा लागि खुल्नेछन्, गाउँको भोजभतेरमा मेरा मान्छेले अलग्गै तल्लो गरामा बसेर खानुपर्नेछैन, होटेलमा चिया खाँदा पैसा तिरेर पनि आफैँले गिलास पखाल्नुपर्दैन ।
मेरा कुनै पनि सवालको जवाफ थिएन उनीहरूसँग । बिचरा ! गाउँका कार्यकर्तासँग मैले खोजेको उत्तर हुने कुरा पनि भएन । यतिखेर त ठूला दल र तिनका अग्रज नेताहरूले, प्रधानमन्त्री तथा मन्त्रीहरूले नै छुवाछुतको मुद्दा बिर्सिसके । मूलतः हाम्रो रगतपसिनाले बनेको माओवादीलगायत सबै शक्तिले जातीय अपमान, घृणा र हिंसाको विषय उठाउनै छाडिसके ।
आज दलहरूबीच धेरै विषयमा धेरै मतमतान्तर छन्, विवाद होलान् । तर, छुवाछुतको परम्परा कायमै राख्ने विषयमा चाहिँ उनीहरूको अघोषित तर कसिलो सहमति देखिन्छ । यस विषयमा एक प्रकारको साझा राष्ट्रिय नीति नै बनेको दृष्टिगोचर हुन्छ । आज कुन पार्टी छ, जसले छुवाछुतबारे बोल्छ ? कुन शक्ति छ, जसले दलितमाथि हिंसा गर्ने, दलित मार्ने अपराधी नउम्काएको होस् ? गणतन्त्रमा मनुवाद झनै उग्र र कठोर बन्दै गएको हामीलाई आभास भएको छ ।
यसरी दलहरू दलितलाई दल्न मात्रै तत्पर रहनुका पछाडि धेरै कारण होलान् । तर, प्रमुख कारण सबै शासक, सबै प्रभावशाली नेता कथित उच्च जातीय छन्, ब्राह्मणवादी सोचका छन् । धर्मसंस्कारसँग अन्योन्याश्रित सम्बन्ध राख्ने जातीय छुवाछुत र भेदभाव मेटाउने प्रयास गर्दा हारिएला भन्ने डर पनि उनीहरूमा हुनुपर्छ । त्यसैले, मुखले जति समानताको कुरा फलाके पनि त्यसलाई व्यवहारमा उतार्न कुनै शासक तयार छैन । प्रभावशाली हिन्दूसत्ता चिढिएला र विशेषतः भारतीय मोदी–आरएसएस सत्ताको दुस्मनी खेप्नुपर्ला भन्ने चिन्ता पनि हुन सक्छ । आफ्नै दाजुभाइ, कुलकुटुम्ब रिसाउलान्, देवीदेउता चिढिएलान्, पाप लाग्ला भन्ने सोचले ग्रस्त भएका जस्ता देखिन्छन्, सत्तावरिपरि घुमिरहने पात्रहरू ।
आज सबै दलको नारा समृद्धि र शान्ति छ । त्यो राम्रो हो । मुलुकमा शान्ति र कानुनी शासन छाउनुपर्छ, अनि यो विश्वकै दरिद्रतम अवस्थाबाट यथाशीघ्र माथि उठ्नुपर्छ । तर, पार्टीहरूले भौतिक विकास मात्रै विकास होइन भन्ने ध्रुवसत्य बिर्सिरहेका छन् । साथसाथै सामाजिक परिवर्तन, सांस्कृतिक र धार्मिक सुधार पनि अपरिहार्य हुन्छ । सभ्यता र संस्कृतिको समयानुकूल रूपान्तरण, आधुनिकीकरण हुनुपर्छ । एउटा नागरिकले अर्को नागरिकको पानी छुँदा, घरभित्र पस्दा, छोरी बिहे गर्दा यातना, हिंसा र हत्यासमेत सहनुपर्ने हाम्रो सभ्यता र संस्कृति कुन ढुंगेयुगमा छ ?
यो सत्य शासकहरूले, पार्टीका बोसहरूले या त बुझेकै छैनन्, या बुझ पचाइरहेका छन् । दलितलाई जे गरे पनि हुन्छ, जे भने पनि हुन्छ, जसरी परिचालन गरे पनि हुन्छ, कनिकाजस्तो अवसर दिएपछि सजिलै फुर्किहाल्छन् भन्ने मानसिकताको उपज हो । र, स्वयं दलित अगुवाहरूले, खासगरी दलीय राजनीतिमा सक्रिय उत्पीडित नेता–कार्यकर्ताले नेताको हेपाहा विचारलाई परोक्ष रूपमा प्रोत्साहन गरिरहेका छन् ।
चुनावअघि दलहरूको राष्ट्रिय अधिवेशन सम्पन्न भयो । मैले निकै गहिरोसँग अध्ययन गर्दा गाउँदेखि प्रदेश र केन्द्रीय सम्मेलनलगायत कतै पनि दलितले भोग्दै आएको हिंसा, हत्या, अत्याचार र अन्यायको कुरा उठ्दै उठेन । न कुनै दलको दस्ताबेजमा दलित सवाल उठाइयो । सबैजसो नेताहरू ब्राह्मणवादी छन् । तर, अस्वाभाविकचाहिँ के भयो भने कुनै पनि अगुवा दलितले आफ्नो दललाई जातीय दमनको विषयमा संवेदनशील बनाउने प्रयास गरेको देखिएन, सुनिएन । दलित अगुवाले नै आफ्नो समुदायको पीडाप्रति आँखा चिम्लिए । पहिलेजस्तै दलित नेता–कार्यकर्ताको समग्र ध्यानदृष्टि आफ्नो प्यानलका ‘विष्ट’लाई जिताएर दुनो सोझ्याउनेतर्फ मात्रै केन्द्रित भयो ।
पार्टी अधिवेशनपश्चात् स्थानीय चुनावको परिदृश्य त झनै उदेकलाग्दो थियो । हाम्रो दास मानसिकताको उग्र रूप हो यो । दलित नेता–कार्यकर्ता जिउज्यान फालेर पार्टीका विष्ट मालिकलाई जिताउन सक्रिय भए । कसैलाई कुट्न, कसैलाई धम्क्याउन, कसैमाथि सांघातिक आक्रमण नै गर्न परे पनि उनीहरू सधैँ अगाडि बढे । विष्टले निर्देश दिएपछि काम तमाम ! मालिकको इच्छाबमोजिम कति छिटो हामी उत्तेजित र आक्रोशित भइहाल्ने ! नारा लगाउन, बाजा बजाउन, नाचगान गर्न, उस्तै परे उम्मेदवार बोकेर हिँड्न पनि हामी कति आतुर ! हुनेखाने सुनार, टेलरहरू विष्ट उम्मेदवारलाई खुला दिलले चन्दा दिन कति अग्रसर !
तर दुखको कुरो, अघि लाग्ने बिरालो र पछि कुद्ने मुसो पार्टीमा सर्लक्कै छुट्टिएका थिए ! सितिमिती पार्टीहरूले दलितलाई टिकटै दिएनन् । कतै दिइहाले पनि आफ्नो पार्टीले हार्ने निश्चित भएको पालिकामा मात्रै दिए । एकाध धनाढ्य दलितले पैसामा टिकट किने । बाध्यताले वडा दलित महिला सदस्य उठाउनुप¥यो पार्टीहरूले । तर, दलित सदस्यमा उठाइएकाहरू अधिकांश निरक्षर थिए, केही तर्क गर्न वा बोल्न नसक्ने थिए । विष्टका आँखामा आँखा जुधाएर अधिकारको माग राख्न सक्ने दलित महिलाको कमी छैन समाजमा, तर त्यस्ताले अवसर कहिल्यै पाउँदैनन् ।
‘विष्ट’ उम्मेदवारको देवत्वकरण गरेर आफूचाहिँ हाँसीहाँसी तल्लो गरामा बसेर भोज खाने दलित नेता–कार्यकर्ताले कहिलेसम्म प्रदर्शन गरिरहने यति धेरै दासत्व ?
घरदैलो गरेर विष्ट उम्मेदवारका लागि भोट माग्न बढी खट्ने, अघि–अघि कुद्ने पनि हाम्रै दलित थिए । कति उत्साहित र उमंगित देखिन्थे ती विष्टका लागि भोट माग्दै गाउँसहर डुल्न पाउँदा ! तर, आफ्नै अधिकारको भने तिनलाई ख्यालै थिएन । मतलबै भएन । पसल, भट्टी र त्यति माया गरेको उम्मेदवारकै घरमा समेत तिनले बाहिरै बसेर रक्सी र मासुभात खाए, भाँडा आफैँ मस्काए । आफ्नो आत्मसम्मान घाममा सुकाए । आफ्नो इज्जतको मलामी आफैँ गए । देशका अधिकांश गाउँसहरमा भयो त्यही, देखियो त्यही । तर, कहीँ–कतै दलित अगुवाको आक्रोश, आपत्ति सुनिएन ।
आँखाभरि आँसु लिएर पनि हाँस्ने बानी परेको छ हामीलाई । मुटुभरि पीडा सहेर पनि रमाउने संस्कार विकसित भएको छ हाम्रो । मनुस्मृतिले आज्ञा गरेबमोजिम तागाधारीको सेवा गर्नु नै शूद्रको परमधर्म ठानिरहेका छौँ हामी । अहिलेको चुनावमा पनि मैले देखेँ यही । मुसाको यस्तो व्यवहार देखेपछि बिरालो झन्झन् सशक्त र हिंस्रक किन नबनोस् ? बिरालोले खेलाई–खेलाई, रोजीरोजी मुसाको सिकार किन नगरोस् ? हामी आफैँ मुसा र बिरालोको भेद छुट्याउन असमर्थ देखिन्छौँ । राप र तापले बत्तीमा आकर्षित हुने पुतली बनेका छौँ हामी ! कतिखेर डढेर ढल्छौँ, मर्छौं, थाहै पाउँदैनौँ !
आफ्नै जाति समुदायका मानिस कुटिँदा, मारिँदा हामीलाई खासै सन्ताप हुँदैन । हामी आक्रोशित बन्दैनौँ । तर, आफ्ना विष्टको कसैले जायज विषयमा फेसबुकमा निन्दा मात्रै ग¥यो भने पनि हामी तुरुन्तै तातिहाल्छौँ, उत्तेजित बनिहाल्छौँ । र, जब चुनावमा विष्टले जिते, तिनका घरपरिवारभन्दा पनि बढी हर्षित र उमंगित बने दलितहरू । नाचगान गरे, बाजा लिएर निस्किए । विष्ट उम्मेदवारको देवत्वकरण गरेर आफूचाहिँ हाँसी–हाँसी तल्लो गरामा बसेर भोज खाए, रमाए ! कहिलेसम्म यो रमिता ? कहिलेसम्म प्रदर्शन गरिरहने हामीले यति धेरै दासत्व ?
दलितहरू दलीय राजनीतिमा लाग्नु हुँदैन भन्ने मेरो आशय होइन । फेरि पनि भन्छु, म लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको पक्षधर हो । शासनसत्ता पार्टीहरूले नै चलाउने हो । यी पार्टीको ऐतिहासिक आन्दोलन र क्रान्तिहरूले नै समाज यो स्थानमा आइपुगेको हो, हामीले यति अधिकार प्राप्त गरेका हौँ । त्यसमा दुईमत नै छैन । परन्तु, आज आएर पार्टीहरू चरम भ्रष्टाचार, बेइमानी, परिवारवाद, जातिवाद र अपराधकर्ममा मुछिएका छन् । समग्र देशले दुःख पाएको छ । दलहरूकै कारण राजतन्त्र र हिन्दूराज्य फर्काएर हाम्रा अधिकार कटौती गर्न खोज्ने पुरातनपन्थीहरूको मनोबल उठ्दै गएको छ । राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रहरू सलबलाएका छन् । तसर्थ, दलहरूलाई विशेषतः नेतृत्वलाई जिम्मेवार बनाउनुपर्छ । र, खासगरी ६० लाख दलितको मुद्दाप्रति गम्भीर बनाउन पार्टीभित्र र बाहिरबाट सशक्त दबाब सिर्जना गर्नु आवश्यक छ ।
ठूला दलको सानो प्रयासले पनि सामाजिक रूपान्तरणमा ठूलो भूमिका खेल्न सक्छ । जस्तो कि कांग्रेसको विधानमा भनिएको छ, जातीय विभेद गर्नेले सक्रिय सदस्यता गुमाउनेछ । तर, त्यो नियम कत्ति पनि लागू भएको छैन किनकि मिन विश्वकर्मा र जीवन परियारहरूले बोल्ने हिम्मत गरेकै छैनन् । आज आएर ती दलित कांग्रेसी कार्यकर्ता घरदैलो कार्यक्रममा पनि भाँडा माझ्दै हिँडेका छन् । हिजो बन्दुक भिराएर दलितलाई गैरदलितको घरमा छिराउने माओवादीहरू आज आफ्नै घरमा दलित कार्यकर्ता छिराउँदैनन्, सँगै बसेर खाँदैनन् । किनकि हिजो विष्टको आदेशमा मान्छे मार्दै हिँड्ने दलितहरू आफ्नै अधिकारका लागि चुइँक्क बोल्ने साहस गर्दैनन् । त्यसैले मैले भन्दै आएको छु, हामी घोडा बनेका छौँ । घोडा स्वविवेकले होचो बार पनि नाघेर जाँदैन, तर मान्छे चढेर उफार्दा अग्ला बारहरू पनि सजिलै नाघ्छ । दलित पनि विष्टको आज्ञा र आदेशमा जस्तो हर्कत गर्न पनि तयार छन्, तर विष्टसामु आफ्नो स्वाभिमानको कुरा गर्नै सक्दैनन् । उस्तै परे आफ्नै छोरीबुहारी मारेको घटनामा पनि विष्टले चुप लाग् भनिदिए भने चुप भइदिन्छन् । यस्तो दासतापूर्ण राजनीतिले हाम्रो मुक्ति कहिल्यै हुनेछैन ।
सानो बच्चाले पनि रोएर स्वर नमच्चाएसम्म आमाले दूध चुसाउँदिनन् । हामीलाई अधिकार चाहिएको हो भने हिम्मतसाथ पार्टी नेतृत्वसँग कुरा गरौँ । अलग्गै राखेर खुवाउने, जातकै कारण घरमा छिर्न पनि नदिने उम्मेदवारको चुनावप्रचारमा हिँड्दैनौँ भन्ने अडान राखौँ । अलग भोज खुवाउने विष्टको विजयभोजमा सरिक नहोऔँ । विभेद गर्ने नेताको विजयजुलुसमा दमाहा नठोकौँ, नर्सिंगा नफुकौँ । राजनीतिक दल भनेका परिवर्तनका संवाहक हुन्, संवाहक बन्नुपर्छ । त्यस दिशामा अग्रसर गराउने दायित्व हाम्रो, खासगरी सम्बन्धित दलमा आबद्ध साथीहरूको हो । नेताको भक्ति गर्नुस्, अन्धभक्ति नगर्नुस् । तिनको सेवा गर्नुस्, तर आत्मसम्मानको पनि ख्याल राख्नुस् ।