जुम्लामा नगरपालिकाले लामो समयसम्म नउठाएको फोहोर उठाएर संविधान दिवस मनाइएको छ। चन्दननाथ नगरपालिकाको बजार क्षेत्रमा सरसफाइ गरी संविधान दिवस मनाइएको हो।
चन्दननाथ नगरपालिकाले फोहोर संकलन गर्नुपर्ने भए पनि लामो समयदेखि फोहोर उठाएको थिएन। बजार दुर्गन्धित भएपछि संविधान दिवसकै दिन पारेर फोहोर उठाइएको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बताए।
चुनावका वेलामा आफैँले घोषणा गरेका नारा कार्यान्वयन गर्न नसक्दा जनप्रतिनिधिहरू असफल भइसकेकाे उनले बताए। महत भन्छन्, ‘अरू गाउँघरका कुरा नगरौँ, यही बजार क्षेत्र पनि सधैँ सेना प्रहरीले सरसफाइ गर्नुपरेको छ। यो दुःखद पक्ष हो। फोहोर व्यवस्थापनको दीर्घकालीन योजना नहुँदा यस्तो समस्या झेल्नुपरेको हो।’
नगरपालिकाका वातावरण तथा सरसफाइ शाखा प्रमुख नायब सुब्बा लक्ष्मीचन्द्र न्यौपानेका अनुसार डम्पिङसाइटको व्यवस्थापन नभएकाले नियमित रूपमा बजारको फोहोर नउठेको हो। दीर्घकालीन योजना बनिसकेको भन्दै उनले छिट्टै नियमित रूपमा फोहोर संकलन हुने बताए।
सरसफाइ कार्यक्रममा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी निकायका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक समाज, उद्योग वाणिज्य संघलगायतको उपस्थिति थियो।
संविधान दिवसको अवसरमा धार्मिक तथा पर्यटन क्षेत्र सरसफाइ गर्नु भन्ने परिपत्र आएकाले सरसफाइ गरी दिवस मनाएको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंले बताइन् ।
नगर सरसफाइ तथा फोहोर संकलन गर्नु नगरपालिकाकै दायित्व भएको भन्दै उनले यसमा नागरिक पनि उत्तिकै जिम्मेवार हुनुपर्ने बताइन्।