१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल फोटो
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १ शुक्रबार १५:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषध ओसारपसार र उपभोग बढेको छ : प्रहरी महानिरीक्षक थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १ शुक्रबार १५:४०:००

प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले लागुऔषध ओसारपसार र उपभोग गर्ने युवाहरूको संख्या बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्। शुक्रबार आसरा सुधार केन्द्र रानीबारीको २५औँ वार्षिकोत्सव कार्यक्रममा उनले देशको विकास र परिवर्तनमा लाग्नुपर्ने युवाहरू कुलतमा फसेको भन्दै उनीहरूलाई सुधार्न परिवार र समाजले चासो दिनुपर्ने बताए।

लागुऔषधको कुलतमा फेसेका युवाशक्तिलाई राष्ट्र निर्माणको बाटोमा ल्याउनुपर्ने उनको धारणा छ। उनले प्रहरीले पनि कुलतमा फसेका कैयौँ युवालाई सुधार गर्दै आइरहेको बताए। ‘लागुऔषध समस्या विश्वकै साझा समस्याको रूपमा देखा परेकोले छ। यसको दुर्व्यसन, उत्पादन, खरिद–बिक्री, सञ्चय, ओसारपसार र उपभोगको वृद्धि भइरहेको छ। यो निकै चुनौतीको विषय भएको छ,’ उनले भने, ‘कुलतमा फसेका युवा शक्तिलाई राष्ट्र निर्माणको बाटोमा ल्याउनु सबैको सामाजिक दायित्व हो।’

उनले लागुऔषध सेवनकर्ताको उपचार र पुनर्स्थापनाको जिम्मेवारी नेपाल प्रहरीको कार्यक्षेत्रभन्दा बाहिर रहेकोले कारबाहीमा पनि समस्या भएको बताए।

आसरा सुधार केन्द्र नेपाल प्रहरी श्रीमती संघद्वारा सञ्चालन हुँदै आएको छ। यस केन्द्रले स्थापनाकालदेखि नै लागुऔषध र दुर्व्यसन नियन्त्रणमा काम गर्दै आइरहेको छ। लागुऔषध दुर्व्यसनीमा फसेका हजारौँ मानिसहरूलाई यस केन्द्रले कुलतबाट छुटाएको छ।

कार्यक्रममा बोल्दै केन्द्रकी अध्यक्ष सिर्जना थापाले लागुऔषध दुर्व्यसनीले विकराल समस्या निम्त्याएको बताइन्। सोही समस्यालाई मध्यनजर गर्दै केन्द्रले प्रयोगकर्ताहरूलाई उपचार, परामर्श सेवा एवं पुनर्स्थापना गर्दै आइरहेको उनले जानकारी दिइन् । उनले लागुऔषधविरुद्ध जनचेतनामूलक कार्यक्रम, योग अभ्यासजस्ता कार्य गर्न आवश्यक रहेको औँल्याइन्।