
नेपाली कांग्रेसले छैटाैँ पटक १४औँ महाधिवेशनको कार्यतालिकामा संशोधन गरेको छ । क्रियाशील सदस्यता टुंगो लाग्न नसक्दा २० जिल्लामा वडा अधिवेशन अनिश्चित भएपछि कांग्रेसले कार्यतालिकामा संशोधन गरेको हो । संशोधित कार्यतालिकामा प्रदेश र केन्द्रबाहेकका अधिवेशनको समय परिवर्तन गरिएको छ। कांग्रेसले क्रियाशील सदस्यता टुंगो लाग्न नसकेकाले कार्यतालिका संशोधन गरिएको जानकारी दिएको छ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले क्रियाशीलकै कारणले अधिवेशन कार्यतालिका परिवर्तन गर्नुपरेको जानकारी दिए। ‘क्रियाशीलकै कारणले अधिवेशन कार्यतालिका संशोधन गरिएको हो। नेताहरूले शनिबार बेलुकासम्म टुंग्याउने भन्नुभएको छ। उहाँहरू बसेर काम गरिरहनुभएको छ। करिब टुंगिने अवश्थामा छ,’ उनले भने ।
संशोधित कार्यतालिकाअनुसार क्रियाशील टुंगो लाग्न बाँकी २० जिल्लाको हकमा असोज ५ मा वडा अधिवेशन हुनेछ । क्रियाशील सदस्यता विवरण सार्वजनिक भइसकेका ५७ जिल्लामा भने वडा अधिवेशन जारी छ। गाउँ/नगरपालिका अधिवेशन असोज ९ मा, प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १२ मा, एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३५ जिल्लामा अधिवेशन असोज १५ मा र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन असोज १८ मा सम्पन्न हुनेछ ।
यस्तै, प्रदेश अधिवेशन यसअघिकै कार्यतालिकाअनुसार कात्तिक १० देखि १२ सम्म र केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ सम्म काठमाडौंमा हुनेछ।
‘पार्टीले नेताहरूको भनाइ सुनेको हो’
केन्द्रीय निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले नेताहरूको अनुरोधमा कार्यतालिका संशोधन गरिएको नयाँ पत्रिकालाई जानकारी दिए। उनले क्रियाशील सदस्यताको विषय मात्रलाई कार्यतालिका संशोधनको कारण मान्न नमिल्ने बताए । उनले कांग्रेस सत्तापक्षसमेत भएकाले पार्टीले ह्विप जारी गरेर ३० भदौसम्म राजधानी नछाड्न भनेकाले अधिवेशनको यसअघिको कार्यतालिकामा असर परेको बताए ।
‘कांग्रेस सत्तापक्ष भएकाले पार्टीले ह्विप जारी गरेर माननीयज्यूहरूलाई भदौ ३० सम्म कहीँ नजान भनेकाले उहाँहरू संसद्मा केन्द्रित हुनुभयो। उहाँहरूको अनुरोधलाई पार्टीले सुनेर संशोधन गरेको हो,’उनले भने ।
‘सहमतिमा नै नयाँ कार्यतालिका’
कांग्रेस संस्थापनइतर पक्षले कार्यतालिका सहमतिमा नै ल्याइएको बताएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले सहमतिमा नै नयाँ कार्यतालिका ल्याइएको बताए । ‘यो सल्लाहमा नै आएको हो । हामी पनि बाध्य भयौँ । क्रियाशील छानबिन पनि सकिएको छैन । छानबिन सकेर सबै वडामा एकैचोटि गर्ने सहमतिअनुसार नयाँ कार्यतालिका ल्याइएको हो।
’शनिबार साँझसम्म क्रियाशील टुंगाँउछौँ’
क्रियाशील सदस्यता विवाद समाधानमा सहजीकरण गरिरहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले शनिबार साँझसम्म क्रियाशीलको विषय टुंगो लाग्ने बताए । ‘अब मिलिसक्यो नमिलेका कुरा केही छैनन् । शनिबार साँझसम्ममा टुंगिँदै छ ।’
संविधानको धारा २६९ को उपधारा ४(ख) को व्यवस्थाअनुसार पाँच वर्षमा विशेष परिस्थितिका कारण महाधिवेशन सम्पन्न हुन नसके ६ महिनाको थप समय पाउने व्यवस्था रहेको छ । कांग्रेसको हकमा संविधानको व्यवस्थाअनुसारको साढे पाँच वर्षको अवधि भदौ २३ मा पूरा भएको थियो । कांग्रेसले कोरोनाका कारण महाधिवेशन हुन नसकेको भन्दै कार्यतालिकाबारे निर्वाचन आयोगलाई जानकारी गराएको छ ।
क्रियाशील सार्वजनिक हुन बाँकी जिल्लाहरू
क्रियाशील विवाद टुंगिन बाँकी जिल्लाहरूमा प्रदेश १ को मोरङ, प्रदेश २ का पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी बागमती प्रदेशका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा र काठमाडौं, लुम्बिनी प्रदेशका बाँके, बर्दिया र कपिलवस्तु, कर्णाली प्रदेशका डोल्पा र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशका बाजुरा र कैलाली रहेका छन् । हालसम्म क्रियाशील सदस्यता विवाद नभएको प्रदेश गण्डकी रहेको छ। प्रदेश २ मा भने कुनै पनि जिल्लाको क्रियाशील विवाद टुंगिएको छैन । अधिवेशन सुरु हुन नसक्दा प्रदेश २ अधिवेशन शून्य प्रदेश बन्न पुगेको छ।