वर्षाका कारण काभ्रेमा ५३ लाखबराबरको क्षति

मंगलबार, २२ भदौ, २०७८
डिजिटल संस्करण

आइतबारदेखि सोमबारसम्म निरन्तर परेको वर्षाका कारण काभ्रेमा ५३ लाख रुपैयाँबराबरको क्षति पुगेको छ। वर्षाका कारण आएको बाढी र पहिरोले घर, गोठ र घरपालुवा जनावर पुरिँदा ५३ लाखबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार मण्डनदेउपुर नगरपालिका– २ का रामशंकर ध्वजूको होटेलमा बाढी पस्दा १५–१६ लाखबराबरको धनमाल क्षति भएको छ। सोही स्थानका टंकबहादुर घिसिङको गोठ पहिरोले पुरिँदा ७० हजारबराबरको पशुचौपायसहितको क्षति पुगेको प्रहरीले जनाएको छ।

त्यसैगरी, बनेपा नगरपालिका– १ दुलालगाउँका मीठाराम दुलालको दुईतले कच्ची घर र गोठ पहिरोले पुरिएको छ। घरगोठ पुरिँदा पशुचौपायासहित करिब ३० लाखबराबरको क्षति भएको छ। सोही नगरपालिका– २ घिमिरेगाउँकी अनन्तकुमारी घिमिरेकी एकतले घर पहिरोले पुरिँदा सात लाख रुपैयाँबराबरको क्षति पुगेको छ।

जिल्लामा वर्षाका कारण घर पुरिँदा दुईजना घाइते भए पनि थप कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

See More On

सुझावित समाचार