मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर ११ शनिबार
  • Saturday, 27 November, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १८ शुक्रबार ०८:२३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विकास बैंकले बढाउन थाले कर्जाको ब्याजदर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १८ शुक्रबार ०८:२३:००

केही विकास बैंकहरूले कर्जाको ब्याजदर बढाउन थालेका छन् । पुँजी लागतमा वृद्धि नभए पनि निक्षेप र कर्जाको ब्याजअन्तर (स्प्रेड दर) अधिकतम सीमाभन्दा कम रहेकाले कर्जाको ब्याजदर वृद्धि गर्न थालिएको बैंकरहरूले बताएका छन् । केही बैंकहरूले शून्य दशमलव ५ प्रतिशतसम्म कर्जाको ब्याजदर बढाउन लागेका हुन् । हाल विकास बैंकहरूको स्प्रेड दर औसतमा करिब चार दशमलव २ देखि चार दशमलव ५ प्रतिशतसम्म रहेको बैंकरहरू बताउँछन् । विकास बैंकहरूले ब्याजअन्तर अधिकतम ५ प्रतिशतसम्म कायम गर्न सक्छन् । 

‘लामो समयदेखि ब्याजदर नबढेका ग्राहकहरूको कर्जाको ब्याजदरमा वृद्धि गर्न लागेका हौँ,’ सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले भने, ‘निक्षेप घटेकै कारण भने होइन ।’ 

कर्जाको ब्याजदर वृद्धि गर्दा आधारदरमा हुने वृद्धिसम्म मात्र वृद्धि गर्न सकिने र यस्तो वृद्धि एक त्रैमासमा एकपटक मात्र गर्न सकिने व्यवस्था राष्ट्र बैंकले उल्लेख गरेको छ । विकास बैंकहरूको आधारदरमा खासै वृद्धि नभए पनि स्प्रेड दर कम भएकै कारण वृद्धि गर्न लागेको देखिन्छ । 

आधारदरमा सञ्चालन लागतहरू पनि जोडिने भएकाले कुनै विकास बैंकहरूको यस्तो लागत बढेकाले पनि कर्जाको ब्याजदरमा वृद्धि भइरहेको हुन सक्ने पोखरेलको अनुमान छ । बैंकहरूले ब्याजदर परिवर्तन हुने–नहुने विषय कर्जा सम्झौता गर्दा नै खुलाएर ग्राहकलाई जानकारी दिनुपर्ने व्यवस्था छ भने परिवर्तन गर्दासमेत जानकारी दिनुपर्छ । 

कतिपय विकास बैंकहरूले भने भदौमा निक्षेपको ब्याजदर घटाएर हुन जाने ब्याजअन्तरको लाभ लिने प्रयास गरेका छन् । ‘तरलताको दबाब विकास बैंकहरूमा खासै देखिएको छैन, त्यसैले पनि अहिलेको प्रतिस्पर्धामा केही लाभ लिन भदौमा निक्षेपको ब्याजदर सीमान्तदरमा घटाएका हौँ,’ डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्नमान पोखरेलले भने । हुन त भदौको दोस्रो सातामा विकास बैंकहरू (सहारा, कर्पोरेट र साल्पा) बाहेक १५ वटाको निक्षेप दुई अर्ब २३ करोड रुपैयाँले घटेर चार खर्ब ८७ अर्बमा सीमित भएको छ । त्यस्तै, कर्जा लगानी दुई अर्ब ४४ करोड रुपैयाँले बढेर चार खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ ।  

समग्र प्रणालीको निक्षेपमा हुने एक–दुई अर्ब रुपैयाँको फेरबदलले भने खासै ठूलो समस्या नआउने पोखरेल बताउँछन् । यद्यपि, विकास बैंकहरूमा तरलताको अवस्थासमेत प्रक्षेपण गर्न नसकिने अवस्थामा रहेको श्रेष्ठको भनाइ छ । ‘साउन अन्तिम साता तरलता निकै टाइट हुने अवस्था देखिएको थियो,’ श्रेष्ठले भने, ‘तर, फेरि तत्कालै सुधार भयो र समस्या देखिएन, तरलता प्रक्षेपण गर्न नसक्ने अवस्था भने छ ।’

विकास बैंकहरूले ग्राहकहरूको विश्वास जितेकाले तरलतामा धेरै दबाब नपरेको पोखरेलको दाबी छ । विगतमा ९० वटासम्म  विकास बैंक हुँदा पनि समग्र बैंकिङ प्रणालीमा निक्षेपको हिस्सा सरदर १० प्रतिशत रहेको र हाल विकास बैंकहरूको संख्या घटेर १८ हुँदा पनि हिस्सा बराबरीजस्तै कायम रहिरहेकाले नै यसको पुष्टि गर्ने पोखरेलको दाबी छ । हाल समग्र बैंकिङ प्रणालीमा ४६ खर्ब ६५ अर्ब निक्षेप छ भने विकास बैंकहरूमा मात्रै यसको १० प्रतिशत अर्थात् चार खर्ब ८७ अर्ब निक्षेप छ ।