अमेरिकाले अफगानिस्तान छोड्दा मिडिया र राजनीतिक विचार मोटामोटी दुई समूहमा विभाजित भएका छन् । एकथरीले अफगान जनताको मानवअधिकार रक्षा गर्न र मुलुकका आतंककारीसँग लड्न अमेरिकाले अफगानिस्तानलाई एक्लै नछाडेको भए हुन्थ्यो र अहिलेको मितिसम्म पनि हस्तक्षेप गरिरहेको भए हुन्थ्यो भन्ने मत राख्छन् । यो मतलाई संस्थापनका सञ्चारमाध्यम र ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार एचआर म्याकमास्टरजस्ता राष्ट्रिय सुरक्षा पण्डितले प्रोत्साहन गरिरहेका छन् । म्याकमास्टरले एक टिभी अन्तर्वार्तामा पछिल्लो साता आइएसको स्थानीय शाखाले गरेको काबुल हमलाले ‘तालिबानलाई सहयोग गरेको थियो, किनभने यो हमला अफगानिस्तान छोड्दा अमेरिकालाई अपमान गर्न गरिएको थियो’ भन्ने झुटसमेत बोलेका थिए ।
अर्कातिर प्रगतिशील एवं स्वतन्त्र मिडिया र युद्धविरोधीहरू अफगानिस्तानमा विदेशी शक्तिको उपस्थिति नै अफगान जनताको मानवअधिकारका लागि खतरा हो भन्ने दलिल पेस गर्छन् । उनीहरूका अनुसार अमेरिकी हस्तक्षेप रोक्नु उपलब्ध सबै खराब विकल्पमध्येको एक उत्तम विकल्प हो । युद्ध जारी राख्दा अमेरिकी जनता एवं धनको दुरुपयोग भएर नाफाखोरलाई फाइदा मात्रै होइन, यसले तालिबानलाई नै दोस्रो मौका दिन बाध्य बनाएको अफगानमाथि थप अत्याचार गर्नेछ । अघिल्लो साता आइएस–खोरासनले गरेको काबुल हमलामा १७० अफगान जनता र १३ अमेरिकी सेना मारिएका थिए । यस घटनालाई युद्ध समर्थकले अफगानिस्तानबाट सेना हटाउनुहुँदैन भन्ने तर्कका रूपमा पेस गरेका छन् ।
‘आजको हताहतीले अमेरिकी सेनाको उपस्थितिविना पनि आतंककारी हमला रोक्न सकिन्छ भन्ने स्पष्टीकरणसाथ गरिएको बाइडेनको सेनाफिर्तीको निर्णयमाथि गम्भीर प्रश्न खडा गरेको छ’ एकजना लेख्छन् । ‘बाइडेनको कदम गल्ती हो, अफगानिस्तानमा राष्ट्रपतिले तोकेको समयसीमाभन्दा बढी समयसम्म अमेरिकी सेनाको कारबाही जारी रहनुपर्छ’ अर्का टिप्पणीकार लेख्छन् । अफगानिस्तान छोड्दा भएका घटनाबाट उल्लिखित विचार ग्रहण गर्नु सबैभन्दा खराब पाठ लिएको ठहरिनेछ । मुलुकभित्र र बाहिर अफगानिस्तानबाट अमेरिकी सेनाफिर्तीबाट आलोचित बाइडेनले आइएस–केलाई ‘खोजेर उसको कर्तुतको मूल्य चुकाउन लगाउँछु’ भन्नु आफ्नो इज्जत जोगाउन र तथाकथित सख्तपन कायम राखिराख्ने काम मात्रै हो । अन्ततः बाइडेन प्रशासनले गत आइतबार संदिग्ध आइएस केको अखडामा ‘रक्षात्मक कारबाही’ गर्यो ।
काबुलमा अमेरिकी सैन्य उपस्थितिको समय र आक्रमण जति बढ्थ्यो, त्यसले अमेरिकी सेनालाई नै असर गथ्र्यो । हिंसाको दुश्चक्र रोकिँदैनथ्यो । त्यसैले बाइडेनले समयसीमामै अफगानिस्तान छोड्नुको विकल्प थिएन ।
यो तथाकथित रक्षात्मक हमला २० वर्षदेखिको मूर्खतापूर्ण युद्धको एउटा सानो तर सम्पूर्ण प्रतिबिम्ब बन्न पुग्यो । गत आइतबारको ड्रोन हमलाले काबुलका दुई परिवारका १० जना मारिए, जहाँ सातजना बालबालिका थिए, जसमा दुईजना त दुई वर्ष पनि पुगेका थिएनन् । विडम्बना सरकारी कर्मचारी भएका कारण यी दुई परिवारलाई काबुलबाट एयरपोर्ट उद्धार गरिने भएको थियो । अर्को भाषामा भन्ने हो भने अमेरिकी युद्धलाई नै सहयोग गरेका अफगान अनुवादक र सरकारी कर्मचारीका परिवार अमेरिकी सेनाकै सिकार बन्न पुगे । छिमेकीका अनुसार सो हमलाले उनीहरूको घर रगत र मांशपिण्डले लिपिएको थियो, जसले डरलाग्दो सिनेमाको ‘बीभत्स दृश्य’ प्रतीत गराउँथ्यो । ‘यदि तिमीहरू सही निसानामा हमला गर्न सक्दैनौ भने अफगानिस्तानलाई अफगान जनताकै जिम्मामा छाडिदेऊ’ आक्रोशित छिमेकी मिडियामा भनिरहेका थिए ।
अमेरिकी एवं अन्य साझेदारहरूको २० वर्षदेखिको बीभत्स युद्ध यस्तै दर्दनाक घटनाको सिलसिला हो । मानवअधिकारको रक्षा र आतंकवाद निरूपण गर्ने भनिएको युद्धमा गत २० वर्षमा राजनीतिक असफलता लुकाउन माथि भनिएजस्तै त्रुटिपूर्ण हमला भए, जसले लक्षित आतंककारीको नभई आम निहत्था सर्वसाधारण र आफ्नै पक्षधरको मृत्यु निम्त्यायो । नतिजा अमेरिकाविरोधी भावना स्वाभाविक रूपमा बढ्यो र अमेरिकी एवं अमेरिकी समर्थक मात्रै निसानामा परेनन्, हिंस्रक विद्रोही समूहलाई पनि एक ठाउँमा ल्याइदियो । यस सन्दर्भमा अमेरिकी ड्रोन कारबाहीमा काम गरेका पोल खोलुवा ड्यानियल हेलले अफगानिस्तानलगायत मुलुकमा हुने कारबाहीहरू लक्षितलाई प्रहार गर्ने उद्देश्यले प्रेरित हुँदैनन् भनेर खुलाएका थिए । यो खुलासा गरेकै कारण हेल अहिले जेल सजाय भोगिरहेका छन् ।
बाइडेनको समयसीमा नाघेर अमेरिकी सेना राख्नु विगत २० वर्षदेखिको आतंकको पुनरावृत्ति मात्रै नभई अमेरिकी सेनाको जीवन पनि जोखिममा पार्नु हो । किनभने तालिबानसँग शत्रुतापूर्ण सम्बन्ध बनाएका आइएस–केलगायतका हमलामा अमेरिकी सेना पर्ने जोखिम स्वाभाविक रूपमा अत्यधिक हुनेछ । त्यति मात्रै नभई समयसीमा उल्लंघन गरेकोमा तालिबानबाटै हमलाको खतरालाई इन्कार गर्न सकिँदैन । काबुलमा जति धेरै अमेरिकी सैन्य उपस्थितिको समय र आक्रमण बढ्थ्यो, त्यसले अमेरिकी सेनालाई नै असर गथ्र्यो । बदलापूर्ण हिंसाको दुश्चक्र रोकिँदैनथ्यो । त्यसैले बाइडेनले समयसीमामै अफगानिस्तान छोड्नुको विकल्प थिएन ।
ज्याकोबिनबाट (मर्केटिक ‘एस्टरडेज म्यान : द केस अगेन्स्ट जो बाइडेन’का लेखक हुन्)