मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ भदौ १७ बिहीबार १०:००:००
Read Time : > 10 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

ट्रकले ठक्कर दियो, बिएन्डसीले बन्धक बनायो

गरिबलाई बन्धक, शक्तिको सेवा

Read Time : > 10 मिनेट
२०७८ भदौ १७ बिहीबार १०:००:००

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दम्पतीको उपचारमा ४२ लाखको बिल उठ्यो, १२ लाख आफैँले बुझाए, ३० लाख बुझाउन नसकेपछि झापाको बिएन्डसी अस्पतालले चार महिनादेखि घर जान दिएन

शक्तिको सेवा : झापाको बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले ०७५ साउन पहिलो साता भक्तपुरस्थित आफ्नै घरमा तत्कालीन नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मार्सी चामलको भात खुवाएका थिए । मेडिकल कलेजको सम्बन्धन पाउन प्रसाईंले लगातार कोसिस गरिरहेका छन् ।

गरिबलाई बन्धक : दुर्घटनामा घाइते झापाको शिवसताक्षी – २ का यामबहादुर श्रेष्ठ (३९) र पत्नी सनम दुर्गा प्रसाईंको झापास्थित बिएन्डसी अस्पतालमा छन् । यमबहादुरको खुट्टा गुमेको छ, श्रीमती सनमको दायाँ खुट्टामा स्टिल लगाइएको छ । ४२ लाख खर्च उठेको छ । ठक्कर दिने ट्रकको साहुले उपचार खर्च तिर्न मानेको छैन । अस्पतालले पैसा नबुझाएसम्म घर जान दिएको छैन ।

झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालले उपचार खर्च तिर्न नसकेको एक विपन्न दम्पतीलाई चार महिनादेखि बन्धक बनाएको छ । झापाको शिवसताक्षी– २ का ३९ वर्षीय यामबहादुर श्रेष्ठ र उनकी श्रीमती सनम बन्धक बनाइएका हुन् । 

बिएन्डसीका सञ्चालक दुर्गा प्रसाईं हुन् । प्रसाईं उनै हुन् जसले विवेकशील साझाका संस्थापक अध्यक्ष उज्ज्वल थापा कोरोना संक्रमण भएर उपचाररत छँदा सबै उपचार खर्च बिएन्डसी अस्पतालले व्यहोर्ने सार्वजनिक घोषणा गरेका थिए । थापाको उपचारका लागि देश–विदेशका शुभचिन्तकबाट लाखौँ रकम जम्मा भइरहँदा १५ जेठमा प्रसाईंले विज्ञप्ति निकालेर उक्त घोषणा गरेका थिए । उनै प्रसाईंको त्यही अस्पतालले उपचार खर्च तिर्न नसकेका श्रेष्ठदम्पतीलाई भने ६ महिनादेखि बन्धक बनाएको छ । 

१९ फागुन ०७७ मा पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कन्काईमा को.१ख १६८४ नम्बरको ट्रकले प्रदेश १–०१–००१ च ०१६७ नम्बरको कार र प्रदेश १–०१–०१३प१७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रक विराटनगरस्थित रिजाल ग्यास उद्योगको हो जसका सञ्चालक हुन् नवीन रिजाल । दुर्घटनामा कारमा सवार दुईजनाको ज्यानै गएको थियो भने मोटरसाइकलमा रहेका श्रेष्ठदम्पती घाइते भएका थिए । 

उपचारका लागि बिएन्डसी पुर्‍याइएका यामबहादुरको दायाँ खुट्टा नै काटेर फाल्नुपर्‍यो । श्रीमती सनमको दायाँ खुट्टामै स्टिल राखिएको छ, तर अहिले पनि खुट्टा राम्ररी चल्न सक्दैन । अस्पतालले उपचार सकिएको भन्दै ४२ लाखको बिल थमाएर वैशाख अन्तिम साता डिस्चार्ज हुन भनेको थियो । तर, भुक्तान गर्न उनीहरूको आर्थिक हैसियतले पुगेन ।

परिवारले जेनतेन १२ लाख जुटाएर बुझायो । तर, बाँकी ३० लाख पनि नतिरेसम्म अस्पतालले छाड्न मानेन । ठक्कर दिने ट्रकका मालिक रिजाल ग्यासका सञ्चालकले पनि बिल तिरिदिएनन् । त्यसपछि उनीहरू अस्पतालमै बन्धक बनाइए । यामबहादुरलाई खुट्टा गुमाउनुपर्दाको पीडा त छँदैछ, त्यो भन्दा ठूलो पीडा उपचार खर्च बुझाउन नसकेर आधा वर्ष अस्पतालमै बन्धक हुनुपरेकोमा छ ।

‘खुट्टा त गुमाएँ, उपचार खर्च बुझाउन नसक्दा अहिले जेलमा बसेजस्तै भएको छ । डिप्रेसन होलाजस्तो भएको छ । यहाँबाट निस्किन पाए त जसोतसो जीवन चलाउने थिएँ,’ बेड नं. २०२१ बाट यामबहादुरले भने, ‘दुर्घटना गराएको ट्रकले हो, कानुनअनुसार ट्रकको साहुबाट अस्पताललाई तिर्न लगाएर हामीलाई छाडिदिए भइहाल्थ्यो नि ! तर अस्पतालले बन्धक बनाएर के गरेको ?’

यामबहादुर आडैको अर्को बेडमा श्रीमती सनम पनि बेचैन छिन् । ‘घरमा दुई छोरीहरू छन् । सानी त भर्खर अढाई वर्षकी भइ । उसले नियमित दूधसमेत खान पाइन, बेलाबेला अस्पताल ल्याउन भनेर खुवाउँछु । ११ वर्षकी जेठी छोरी फोनमा कुरा गर्छे । ममी कहिले आउने भनेर सोध्दै रुन्छे,’ सनम भन्छिन्, ‘बन्धक जीवन बिताउन साह्रै गाह्रो छ । पैसा भएको भए पनि तिरेर निस्कनुजस्तो भएको छ ।’

छोरा–बुहारी अस्पतालमा बन्धक छन्, नातिनातिना घरमा बाबुआमा खोज्छन् । यो देखेर यामबहादुरकी आमा देवीमायाको मन अमिलिन्छ । उनी छोराबुहारी भेट्न जतिपटक अस्पताल आउँछिन्, पीडा बोकेर घर फर्किन्छिन् । ‘उपचारको पैसा तिर्न नसकेर छोराबुहारी घर जान पाएका छैनन् । दूध खाँदै गरेकी नातीनी सधैँ आमा खोज्छे,’ बिएण्डसी अस्पतालमै भेटिएकी देवीमायाले भनिन्, ‘वेलावेला अस्पताल ल्याएर सानी नातीनीलाई फकाउने गरेकी छु ।’

वैदेशिक रोजगारीका लागि पोर्चुगल बसेर दुई वर्षपछि छुट्टीमा घर आएका उनी गत चैतसम्म फर्कनुपर्ने थियो, दुर्घटनाले उनको जीवनमा नमिठो मोड लियो । परिवारका सदस्यसँग पनि उनीहरूलाई छुटाउन सक्ने कुनै शक्ति छैन । 

‘हामीले सक्ने १२ लाख त जम्मा गर्‍यौँ । तर, यतिले मात्र दाइभाउजूलाई निकाल्न पुगेन,’ भाइ ख्यामबहादुर भन्छन्, ‘दुई महिनामै डिस्चार्ज भएका उहाँहरूलाई आजसम्म निकाल्न सकिएन । अस्पतालमै बन्धक भएर जीवन बिताउन बाध्य हुनुहुन्छ ।’

दुर्घटनाको सुरुवाती समयमा रिजाल ग्यासका सञ्चालक रिजाल सम्पर्कमा रहेको ख्यामबहादुर बताउँछन् । त्यतिखेर डेढलाख जति दिएको पनि उनले बताए । तर, पछिल्लो सयम उनीहरू सम्पर्कमै आउन नचाहेको ख्यामबहादुरको भनाई छ । रिजालले पहुँचका आधारमा अस्पतालको बिल नतिरिदिएको उनको गुनासो छ । 

तर, रिजाल ग्यास उद्योगका व्यवस्थापक नरतन नेपाल दुर्घटनामा ट्रकको गल्ती नभएको दाबी गर्छन् । ‘हाम्रो गाडीको गल्ती छैन । सुरुमा मोटरसाइकल र कार जुधेका हुन् । पछि कार हाम्रो ट्रकमा आएर ठोक्किएको हो । प्रहरीले बनाएको मुचुल्काको आधारमा ठूलो गाडीको मात्र गल्ती देख्नु हुँदैन,’ उनले भने । 

त्यसो भए सुरुमा उपचार खर्च तिर्न किन तयार हुनुभयो त ? भन्ने प्रश्नमा उनले भने, ‘त्यो मानवीयताका आधारमा गरेको हो । कम्पनीको गाडी हो भन्दैमा हामीलाई मारमा पार्नु हुँदैन ।’

तर, इलाका प्रहरी कार्यालय अनारमनीले भने कार र मोटरसाइकललाई ट्रकले नै ठक्कर दिएर दुर्घटना भएको जनाएको छ । त्यही आधारमा मुद्दा अदालत पुर्‍याइएको प्रहरी नायव उपरीक्षण सन्तोष आचार्यले बताए । 

‘ट्रकले नै दुर्घटना गराएको हाम्रो अनुसन्धानको निष्कर्ष हो । त्यही आधारमा चालक प्रेमबहादुर वाइबा पुर्पक्षका लागि कारागार चलान भएका छन्,’ उनले भने, मुद्दा अदालतमा विचाराधीन भएकाले अहिले धेरै बोल्न मिल्दैन ।’

दुर्घटनामा भएको क्षतिको क्षतिपूर्ति र उपचार खर्चका विषयमा प्रमुख जिल्ला अधिकारीले हेर्ने कानुनी व्यवस्था छ । प्रजिअ श्रवणकुमार तिमिल्सिन पनि ट्रककै गल्ती भएको बताउँछन् । तर, उनले ट्रक र चालक नियन्त्रणमा रहेको तथा मुद्दा कानुनी प्रक्रियामा रहेकाले अस्पतालले लिनुपर्ने रकम सम्बन्धित पक्षबाट पछि दिराउने सर्तमा श्रेष्ठ दम्पत्तिलाई घर पठाउनु पर्ने थियो । तर, पीडितले प्रहरीलाई अस्पतालको बिल बेलैमा नबुझाउँदा र लकडाउनका कारण जिल्ला न्यायधिवक्ताको कार्यालयबाट मिसिल आउन समय लाग्दा प्रक्रियामा ढिलाई भएको उनको दाबी छ । अब आउँदो सोमबार फैसला हुने उनले बताए । 

‘प्रहरीले त्यसै मुद्दा लिएर त आउँदैन नि । निर्दोषलाई दोषी बनाउँदैन नि ! सुरुमा त उहाँहरूले पीडितलाई पैसा पनि दिनुभएको छ,’ उनले भने, ‘मु्द्दा कानुनी प्रक्रियामा छ । छिट्टै टुंगिन्छ । वकपत्रको काम भइरहेको छ । ट्रकका साहुलाई बोलाउँदा आउनु भएन । अब सोमबार पेसी तोकेको छु, फैसला नै गर्नुपर्ने भयो ।’ बिएण्डसी अस्पतालले भने ६ महिनादेखि उपचार गरिरहेका श्रेष्ठ दम्पतीको डिस्चार्ज नै नभएको दाबी गरेको छ । यद्यपि ट्रक साहु सम्पर्कमा नआउँदा बिरामी समस्यामा परेको अस्पतालका जनसम्पर्क अधिकृत प्रसिम गिरीले बताए । 

‘हामी पैसा नहुँदा उपचार कहिल्यै रोक्दैनौँ । उहाँहरूको उपचार भइरहेको छ,’ गिरीले भने, ‘तर, गाडी साहु अझै सम्पर्कमा आएनन् । दुर्घटना गराएर यसरी बेवारिशे बनाएर छाड्नेलाई प्रशासनले कानुनी कारबाही गरोस्,’ उनले भने । 

बिएन्डसीको बेड नं. २०२१ बाट यामबहादुरको विलौना जेलमा बसेजस्तै भएको छ

खुट्टा त गुमाएँ, उपचार खर्च बुझाउन नसक्दा अहिले जेलमा बसेजस्तै भएको छ । डिप्रेसन होलाजस्तो भएको छ । यहाँबाट निस्किन पाए त जसोतसो जीवन चलाउने थिएँ । दुर्घटना गराएको ट्रकले हो । कानुनअनुसार ट्रकको साहुबाट अस्पताललाई तिर्न लगाएर हामीलाई छाडिदिए भइहाल्थ्यो नि । तर, अस्पतालमै बन्धक बनाएर के गरेको? 

प्रजिअ श्रवणकुमार तिमिल्सिना भन्छन्– सोमबार मुद्दाको फैसला हुन्छ

दोष ट्रककै देखिन्छ । प्रहरीले त्यसै मुद्दा लिएर त आउँदैन नि । निर्दोषलाई दोषी बनाउँदैन नि ! सुरुमा त उहाँहरूले पीडितलाई पैसा पनि दिनुभएको छ । मु्द्दा कानुनी प्रक्रियामा छ । छिट्टै टुंगिन्छ । वकपत्रको काम भइरहेको छ । ट्रकका साहुलाई बोलाउँदा आउनु भएन । अब सोमबार पेसी तोकेको छु, फैसला नै गर्नुपर्ने भयो ।

इप्रका अनारमनीका डिएसपी सन्तोष आचार्य भन्छन्– ट्रककै दोष छ

ट्रकले नै दुर्घटना गराएको हाम्रो अनुसन्धानको निष्कर्ष हो । त्यही आधारमा चालक प्रेमबहादुर वाइबा पुर्पक्षका लागि कारागार चलान भएका छन । मुद्दा अदालतमा विचाराधीन भएकाले अहिले धेरै बोल्न मिल्दैन । अदालतबाट उपयुक्त समयमा उपयुक्त फैसला आउला । अदालतको फैसलापछि पीडितले न्याय पाउलान् ।

अस्पताल प्रशासन भन्छ– ट्रक साहु नआउँदा बिरामी समस्यामा परे
बिएन्डसी अस्पतालले भने ६ महिनादेखि उपचार गरिरहेका श्रेष्ठदम्पतीको डिस्चार्ज नै नभएको दाबी गरेको छ । यद्यपि ट्रक साहु सम्पर्कमा नआउँदा बिरामी समस्यामा परेको अस्पतालका जनसम्पर्क अधिकृत प्रसिम गिरीले बताए । ‘पैसा नहुँदा उपचार कहिल्यै रोक्दैनौँ । उहाँहरूको उपचार भइरहेको छ,’ गिरीले भने, ‘तर, गाडी साहु अझै सम्पर्कमा आएनन् । दुर्घटना गराएर यसरी बेवारिसे बनाएर छाड्नेलाई प्रशासनले कानुनी कारबाही गरोस्,’ उनले भने ।

उज्ज्वल थापाको उपचार खर्च व्यहोर्ने प्रचार, तर थापाको परिवारले लिन मानेन

यामबहादुर श्रेष्ठ र उनकी श्रीमती सनमलाई ६ महिनादेखि बन्धक बनाएको बिएन्डसीका सञ्चालक दुर्गा प्रसाईं उनै हुन्, जसले तीन महिनाअघि विवेकशील साझाका संस्थापक अध्यक्ष उज्ज्वल थापा कोरोना संक्रमण भएर उपचाररत छँदा सबै उपचार खर्च बिएन्डसीले नै व्यहोर्ने सार्वजनिक घोषणा गरेका थिए ।

थापाको उपचारका लागि देश–विदेशका शुभचिन्तकबाट लाखौँ रकम जम्मा भइरहँदा १५ जेठमा प्रसाईंले विज्ञप्ति निकालेर उक्त घोषणा गरेका थिए ।

तर, थापा परिवार र उनको परिवारले प्रसाईंको प्रस्तावलाई अस्वीकार गरेको थियो । बिएन्डसी मेडिकल कलेजकै विद्यार्थीमाथि आर्थिक शोषण गरेको समेत प्रसाईंमाथि आरोप छ ।

मौलिक हकमै प्रहार
संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था छ । जसमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ भनिएको छ । तर, उपचार खर्च तिर्न नसक्ने नागरिकलाई निजी अस्पतालले पटक–पटक बन्धक बनाउँदै आएका छन् ।

बिरामी बन्धक बनाइएका नौ घटना

१. विराट नर्सिङ होमले बनायो सुत्केरीलाई डेढ महिनासम्म बन्धक

उपचार खर्च तिर्न नसक्दा विराटनगरको विराट नर्सिङ होमले डेढ महिनासम्म एक सुत्केरीलाई बन्धक राखेको थियो । झापा बिर्तामोड नगरपालिका– ३ सुकुमबासी टोलकी २२ वर्षीया चेली सुन्दास राजवंशीलाई विराटले एक लाख २० हजार रुपैयाँ तिर्न नसक्दा डेढ महिना बन्धक बनाएको थियो ।

चेली २९ माघ ०७७ मा विराट नर्सिङ गएकी थिइन् । उनको उपचारको क्रममा एक लाख २० हजार खर्च भएको थियो । तर, उनले उपचार खर्च बुझाउन सकिनन् भने अस्पतालले घर जान दिएन ।

घर जान नपाउँदा सुत्केरी चेली र उनकी सासू अमृता सुन्दास कैयाँै दिन भोकभोकै परे । घटना बाहिर आएपछि प्रदेश १ की तत्कालीन सामाजिक विकासमन्त्री जसमाया गजमेर जमानत बसेर चेलीको उद्धार गरिन् । पछि उनको उपचार खर्च प्रदेश सरकारले व्यहोर्‍यो । 

२. सप्तरीका दलितदम्पती विराटनगरको गोल्डेन अस्पतालमा दुई महिनासम्म बन्धक

५ साउन ०७७ मा सप्तरीको अग्निसाइर–कृष्णसवरन गाउँपालिका– ६ महुलीका शिवचन्द्र सदा (भुटाई) र श्रीमती मिलियादेवी छिमेकी दिना साहको कुटाइबाट गम्भीर घाइते भए । स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि विराटनगरको गोल्डेन अस्पतालमा रिफर भयो । उपचारका क्रममा एक लाख ९० हजार बिल उठ्यो ।

तर, भूमिहीन सदादम्पतीले उपचार खर्च तिर्न सकेनन् । पैसा नतिरी अस्पतालले घर जान दिएन । ऐलानी जग्गामा फुसको छाप्रोमा तीन लालाबालासहित ओत लाग्दै आएका शिवचन्द्रले चिनेजानेका सबैलाई गुहारे । जनप्रतिनिधिलाई पनि भने ।

तर, सबैले आश्वासन मात्र दिए । कसै गरे पनि शिवचन्द्रले रकम जुटाउन सकेनन् । यता, गोल्डेन अस्पतालका प्रबन्धक ज्याउल हकले एक लाख ९० हजार नबुझाएसम्म सदादम्पतीलाई मुक्त नगर्ने बताइरहे । उपचार खर्चको अभावमा सदादम्पती दुई महिनादेखि अस्पतालमा बन्धक रहेको नयाँ पत्रिकामा समाचार आएपछि प्रदेश सरकारले उपचार खर्च दिने निर्णय गर्‍यो र सदादम्पती मुक्त भए । 

३. ह्याम्स अस्पतालमा १५ दिनसम्म युवक बन्दी

धादिङको गल्छी गाउँपालिका– ४ का चन्द्रबहादुर तामाङ (२४) दोलखास्थित सासा हाइड्रोपावरमा काम गर्थे । कामकै सिलसिलामा २५ साउन ०७७ मा सुरुङ खन्ने क्रममा तामाङको टाउकोमा अचानक ढुंगो बज्रियो । उनी बेहोस भए । हेलिकोप्टरबाट उद्धार गरेर त्यही दिन उनलाई काठमाडौं धुम्बाराहीस्थित ह्याम्स अस्पताल ल्याइयो ।

११ दिन आइसियूमा राखेपछि उनको होस आयो । त्यसपछि वार्डमा सारेर उपचार भयो । स्वास्थ्य अवस्था पनि सामान्य बन्यो । डाक्टरहरूले ‘निको भइसक्यो, घर जानुहोस्’ भन्न थाले । तर, उपचारमा लागेको नौ लाख ९० हजार रुपैयाँ तिर्न नसक्दा उनलाई अस्पताल प्रशासनले जान दिए ।

आर्थिक रूपले अत्यन्त विपन्न चन्द्रबहादुर १५ दिनदेखि अस्पतालमा बन्दी बनेको सम्बन्धमा नयाँ पत्रिकाले समाचार लेखेपछि हाइड्रोपावर कम्पनीले अस्पताल आएर उपचार खर्च भुक्तान गर्‍यो । निको भइसकेपछि पनि ह्याम्सको नवौँ तलाको बेड नम्बर ९०९ मा बन्दी बनेका चन्द्रबहादुरले झन्डै दुई महिनापछि बाहिरी संसार देखे, परिवार भेटे ।

४. ४० हजार नबुझाएको भन्दै विराटमा दुईवर्षे बालकको शव बन्धक

विराटनगरस्थित विराट अस्पतालले ४० हजार रुपैयाँ नपाएको भन्दै दुई वर्षीय दलित बालकको शव दुई दिनसम्म बन्धक राख्यो । सिराहाको सिराहा नगरपालिका– ४ मानपुरका दुई वर्षीय सिद्धार्थ सदा (मुसहर)को २६ असोज ०७७ मा उपचारको क्रममा मृत्यु भएको थियो ।

उपचारमा करिब दुई लाख रुपैयाँ खर्च भएको थियो । परिवारले एक लाख रुपैयाँ बुझाइसकेको थियो । बाँकी एक लाखमध्ये ६० हजार बुझाएर शव लैजान्छौँ, ४० हजार पछि दिन्छौँ भन्दा पनि विराटले शव लैजान दिएन । अन्त्येष्टिका लागि शव नपाएपछि मृतकका आफन्त रुवाबासी गर्दै अस्पतालमा धर्ना नै बसे ।

तैपनि अस्पताल प्रशासनको मन पग्लिएन । दुर्घटनामा अघिल्लो वर्ष मात्र श्रीमान् गुमाएकी भूमिहीन सुनिता सदाले छोरोको अन्त्येष्टिसम्म गर्न नपाएपछि सबैतिर गुहार लगाइन् । तैपनि अस्पतालले शव दिएन । पछि ऋण गरेर थप ४० हजार बुझाएपछि दुई दिनपछि मात्र सुनिताले छोराको शव पाइन् ।

५. चार दिनकी सुत्केरीसमेत अस्पतालमै बन्दी

१७ असार ०७८ मा प्रसूति बेथा लागेपछि धनुषाको क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया वेगम खातुनलाई परिवारजनले जनकपुरकै आर्या केयर अस्पताल पुर्‍याए । शल्यक्रियापछि वेगमले जुम्ल्याहा छोरा–छोरी जन्माइन् । चार दिनपछि २१ असारमा चिकित्सकले अब घर जान सकिने बताए । तर, आर्थिक विपन्न वेगमको परिवारले अस्पतालमा लागेको एक लाख १० हजार रुपैयाँ बुझाउन सकेको थिएन ।

अस्पताल प्रशासनले सुत्केरी वेगम र जुम्ल्याहालाई पैसा नबुझाई घर जान दिएन । उपचार खर्च बुझाउन नसक्दा सुत्केरी महिला चार दिनदेखि बन्धक परेको समाचार सार्वजनिक भएपछि सरकारको आलोचना भयो । तत्कालीन फस्र्ट लेडी (प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी) राधिका शाक्यले सबै उपचार खर्च व्यहोर्दै वेगमलाई बन्धकमुक्त गराइन् । 

६. ३५ हजार बुझाउन नसक्दा सुत्केरी र बच्चा बन्दी

जनकपुरधामकै चन्द्रकला अस्पताल एन्ड रिसर्च सेन्टरले अर्की एक सुत्केरी महिलालाई चार दिन बन्धक बनाएको थियो । सर्लाहीको लालबन्दी– ५ की कुसुम पासवानलाई आफन्तले प्रसूति बेथा लागेपछि १७ भदौ ०७७ मा चन्द्रकला अस्पताल भर्ना गरे । शल्यक्रियापछि उनले सन्तान लाभ गरिन् । २२ भदौमा अस्पतालले उनलाई डिस्चार्ज गर्ने तयारी गर्‍यो ।

तर, उपचार खर्चबापत ३५ हजार रुपैयाँ बुझाउन नसक्दा उनलाई अस्पतालले घर जान दिएन । पैसा नबुझाउँदासम्म कुसुम र नवजात बच्चालाई जान नदिने बताएपछि श्रीमान् रवीन्द्र पासवानले आफन्त, गाउँलेसँग ऋण, सरसापट खोजे, तर उपाय लागेन । समाचार बाहिरिएपछि सर्लाहीबाट प्रदेश २ मा प्रतिनिधित्व गर्ने सांसद बेची लुंगेलीले महिला सञ्जालको सहयोगमा पैसा संकलन गरी अस्पताललाई बुझाएपछि मात्र कुसुम बन्धकमुक्त भइन् । 

७. उपचार खर्च नतिरेको भन्दै नोबेलले शवसमेत बन्धक राख्यो

विराटनगर कञ्चनबारीस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले उपचार खर्च परिवारले नतिरेको भन्दै एक वृद्धको शव चार दिनसम्म बन्धक राख्यो । उपचारको क्रममा १९ भदौ ०७७ मा मृत्यु भएका सप्तरीको महुली गाउँपालिका– ६ मोहनपुरका सनमान सार्की (६७) को शव अस्पतालले परिवारलाई नदिई बन्धक राखेको थियो । उच्च रक्तचापले थलिएका सनमान ५ चैत ०७६ मा उपचारका लागि नोबेलमा भर्ना भएका थिए ।

करिब साढे पाँच महिना उपचारपछि १९ भदौ ०७७ मा उनको मृत्यु भयो । त्यतिवेलासम्म अस्पतालतर्फ पाँच लाख र फार्मेसीमा ६ लाख रुपैयाँ तिर्न बाँकी थियो । उपचारखर्च नतिरेसम्म शव उठाउन नदिने प्रशासनको भनाइपछि पीडितहरूले सञ्चारकर्मीलाई गुहार लगाए । अस्पतालले शवसमेत बन्धक राख्दा सुकुमबासी दलित परिवारले शव दाहसंस्कारसम्म गर्न नपाएको भन्दै नयाँ पत्रिकाले समाचार छाप्यो ।

समाचार आएपछि पहिले अस्पताल प्रशासनले परिवारलाई अनेक दबाब दियो । तर, चौतर्फी आलोचना भएपछि अन्ततः नोबेलले नै एम्बुलेन्समा राखेर घरसम्मै शव पुर्‍याइदियो । उसले उपचारमा लागेको सबै रकमसमेत मिनाहा गर्‍यो । 

८. दुर्घटनामा परेका कृष्ण चन्दा उठाएर मुक्त भए

मकवानपुर कैलाश गाउँपालिका– ७ कोथलीटारका कृष्णबहादुर चेपाङ (२५) चितवन भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा एक साता बन्धक बने । २३ असारमा घरछेउमै ना.१४प ३७०७ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि आफन्तले उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज पुर्‍याएका थिए । उपचारका क्रममा सात लाख ३८ हजार रुपैयाँ खर्च लाग्यो । निको भइसकेपछि पनि कृष्णको परिवारले बाँकी रकम जुटाउन सकेन । रकम नबुझाई अस्पतालले मुक्त गरेन ।

त्यसपछि आफन्तले चन्दा संकलन गर्न थाले । संविधानसभाका सदस्य गोविन्दराम चेपाङ र दाइ नाता पर्ने विनोद चेपाङको सक्रियतामा केही रकम संकलन भयो । कसै गरे पनि सबै रकम जुटाउन नसकेपछि अस्पतालले ९५ हजार छुट दियो । र, कृष्णबहादुर अस्पतालबाट मुक्त भए । 

९. पैसा तिर्न नसकेपछि अस्पतालबाटै भागे राजु

मकवानपुर भीमफेदीका राजु थिङ (३४) २९ भदौ ०७७ मा अचानक बेहोस भए । चितवन मेडिकल कलेज (सिएमसी)मा उपचार सुरु भयो । १० दिनपछि उनको होस खुल्यो । चिकित्सकका अनुसार उनलाई समयमा निमोनियाको उपचार नहुँदा ‘सेप्टिक सक’ भएको थियो । राजुको होस त आयो, तर अस्पतालको उपचार खर्चले परिवारको होस उड्न थाल्यो । राजु ठीक भए । चिकित्सकले घर जान सल्लाह दिए । तर, अस्पताल प्रशासनले सबै रकम भुक्तान नहुँदासम्म जान दिएन ।

उपचार खर्च जुटाउन परिवारले दसैँका लागि राखिएका चारवटा खसी बेच्यो । आफन्तसँग सरसापट माग्यो । पटक–पटक प्रशासन र जनप्रतिनिधिसँग गुहार लगायो, तर कसैले वास्ता गरेनन् । उनको परिवारले सो दुई लाख रुपैयाँ अस्पतालमा बुझाइसकेको थियो । अस्पताललाई थप तीन लाख र फार्मेसीलाई करिब एक लाख ५० हजार तिर्न बाँकी थियो ।

२३ असोजमा साधारण वार्डमा सारे पनि अस्पतालले घर जान दिएन । कसै गरे पनि सो रकम जोहो गर्न नसकेपछि उनी अस्पतालमै बन्धक बनिरहे भने बन्धक छोरो छुटाउन राजुका बाबुले गाउँगाउँ डुलेर पैसा उठाउन थाले । तर, कोरोना महामारीको समय भएकाले अधिकांशले छेउ पर्नै दिँदैनथे । अन्ततः केही सीप नलागेपछि राजु अस्पतालबाटै भागे ।