शासकहरूको प्रवृत्ति नफेरिने हो भने सत्तामा बस्ने पात्र फेरिनुको कुनै अर्थ छैन
सानो होस् वा ठूलो, राज्यको प्रकृति समान हुन्छ । राज्यमा हुनुपर्ने सबै गुण सानो राज्यमा पनि हुन्छन् । तर, राज्य आफैँमा कति निर्भर छ भन्ने पाटो महत्वपूर्ण हुन्छ । पहिले–पहिले यातायात र सञ्चारको दायराका आधारमा राज्यको सीमा निर्धारण हुन्थ्यो । मानिसले तत्काल उपलब्ध सवारीसाधनको प्रयोगबाट जति भूखण्डमा आफ्नो प्रभुत्व कायम गर्न सक्यो, त्यति नै उसको राज्य मानिन्थ्यो । ऊ त्यस भूखण्डको स्वामी अर्थात् राजा मानिन्थ्यो । कालान्तरमा यातायात र सञ्चारको विकाससँगै राज्यको सीमाको पनि विस्तार हुन थाल्यो । यो क्रम पनि एक निश्चित बिन्दुमा पुगेर रोकियो ।
कुनै वेला बेलायतको शासनमा कहिल्यै सूर्यास्त हुँदैन भनिन्थ्यो । तर, त्यो पनि सधैँ कायम रहेन । समयको गतिसँगै त्यसको पनि अन्त्य भयो । तर, विगतमा राज्य र राजाका चरित्र जेजस्ता थिए, आज पनि उस्तै छन् । शब्दमा परिवर्तन आयो पनि होला, तर राज्यसत्तामा रहेर राजकाज गर्ने व्यक्तिको प्रवृत्तिमा भने कुनै परिवर्तन आएको छैन । हिजोका राजा–महाराजाको दैनिकी र आजका राजनेताको दिनचर्यामा खासै अन्तर देखिन्न ।
राज्यसत्ताले आमनागरिकको पक्षमा भन्दै राजकीय सत्ता संरक्षणमा आफूलाई तल्लीन राख्छ । हामीले सुनेका पुराना राज्य व्यवस्थाका कथालाई आजका लोकतान्त्रिक पद्धतिसँग तुलना गरेर हेर्दा त्यसको चरित्रमा खासै भिन्नता पाइँदैन । नेतृत्वको उत्तराधिकारीका सम्बन्धमा केही परिवर्तन महसुस गर्न सकिएला । तर, हिजोका राजा र आजका राजनेताहरूको तात्विक चरित्रमा कुनै फरक छैन । हिजो वंशजका आधारमा उत्तराधिकारी छानिन्थे । अहिले निर्वाचित नेताको प्रचलन आएको छ । हिजोका दिनमा पनि दरबारसँग निकट हुनेहरूले आमसर्वसाधारणमाथि अन्याय गर्थे । आज पनि सत्तासीनका आडमा उनीहरूका कार्यकर्ता, नजिकका नातेदारको दबदबा देखिन्छ । राज्यबाट कुनै काम लिन प्रयोग गरिने तरिका हिजो र आजमा कुनै अन्तर छैन ।
हिजो पनि सीमित भारदारको घेरामा बसेर राजाले राज्य सञ्चालन गर्थे । आज पनि निश्चित सल्लाहकार वा त्यस्तै कुनै नामबाट भारदारी प्रवृत्ति कायमै राखिएको छ । व्यक्तिलाई सम्बोधन गरिने पदमा परिवर्तन भयो होला, तर उनीहरूको स्वभाव र प्रवृत्तिमा कुनै परिवर्तन भएको छैन । राणाशासनमा पनि राणाका नजिकका मानिसले राम्रै फाइदा लिएका थिए । पञ्चायती व्यवस्थामा पनि पञ्चका नजिकका मानिसलाई राम्रै प्रजातन्त्र थियो । बहुदलीय व्यवस्थामा पनि पार्टीका नेतानिकट कार्यकर्ताको बोलवाला थियो । अहिले लोकतान्त्रिक गणतन्त्रमा पनि सर्वसाधारणको पहुँच छैन । सीमित व्यक्तिको चाकडीविना कुनै काम गर्न सकिन्न । त्यसैले पात्र परिवर्तन भए पनि प्रवृत्ति भने परिवर्तन हुन सकेको छैन ।
यो विश्व राजनीतिकै स्वभाव हो । राजनीति जहिले पनि इलाइटहरूको नियन्त्रणमा थियो, छ र हुनेछ । त्यसैले हामीले सामान्य तरिकाले सोचिने राजनीतिक परिवर्तनले आमनागरिकको जीवन पद्धतिमा तात्विक असर पार्दैन । संसारका जति पनि आन्दोलन र राजनीतिक परिवर्तनको अध्ययन गर्दा राज्यसत्ता एक वर्गबाट अर्कोमा हस्तान्तरण हुन्छ, तर राज्यको तात्विक प्रकृति भने कायमै रहन्छ । हुन त राजाको अवधारणा नै सबै जनताले आफूमा निहित शक्तिको केही अंश एकजनालाई दिने र उसले सोही शक्ति प्रयोग गरी जसले शक्ति प्रदान गरेका हुन्, उनीहरूमाथि नै शासन गर्ने सिद्धान्तबाट उत्पत्ति भएको हो । जुनसुकै व्यक्तिले पनि आफूले प्राप्त गरेको अधिकार आफूखुसी प्रयोग गर्छ । त्यसरी प्रयोग गरिने शक्ति कति निहित स्वार्थमा प्रयोग गरिन्छ वा कति आममानिसको हितमा प्रयोग गरिन्छ भन्नेले राज्यसत्ताको लोकप्रियता निर्धारण गरेको हुन्छ ।
संसारमा प्रतिनिधित्व र उत्तराधिकारी चयनमा विभिन्न परिवर्तन आए । तर, राज्यसत्ताका मालिकहरूको दृष्टिकोणमा कुनै अन्तर आएन । राजकीय शक्ति प्रयोग नगरेको व्यक्तिलाई राज्य नियन्त्रित सुरक्षा आवश्यकता पर्दैन । ऊ सधैँ आमसर्वसाधारणबाटै संरक्षित भएको महसुस गर्छ । तर, कसैले राजकीय अधिकार प्रयोग गरी जनतामाथि शासन चलाएको छ भने उसलाई राज्यनियन्त्रित सुरक्षाको खाँचो पर्छ । त्यसैले उसले आफू राज्यसत्ताबाट बाहिरिँदासमेत आफूलाई असुरक्षित महसुस गरी विभिन्न सुरक्षाकर्मी प्रयोग गर्छ ।
हिजो राजाको चरित्र जेजस्तो थियो, आजका नेताको पनि उस्तै छ । शब्दमा परिवर्तन आयो होला, तर राजकाज गर्ने व्यक्तिको प्रवृत्तिमा भने परिवर्तन आएन ।
नागरिकले राज्यसत्ताको निर्देशन निःसर्त रूपमा पालना गरिरहेका हुन्छन् । तर, राज्यसत्ताले अधिकांश नागरिकको हितभन्दा सीमित शक्तिशाली व्यक्तिको हितमा बढी ध्यान दिन्छ । त्यसबारे कसैले आवाज उठाइहाले भने पनि उनीहरूलाई सत्ताविरोधीको उपमा दिएर किनारा लगाउने प्रयत्न गरिन्छ । यस्तै दबिएर रहेका तमाम आवाजको विस्फोटले वेलावेलामा ठुल्ठूला राजनीतिक परिवर्तन अर्थात् व्यवस्था र शासक परिवर्तन हुन्छन्, तर बहुसंख्यक जनताको आवाज त्यसपछि पनि सुनिँदैन । नागरिकले निःस्वार्थ रूपमा राज्यलाई कर तिरिरहेका हुन्छन् ।
तर, हाम्रो जस्तो राज्यले जनहितकारी कुनै पनि काम गर्न सक्दैन या चाहँदैन । यस्तो मुलुकको सत्तामा हस्तक्षेप भइरहन्छ । कुनै पनि शक्तिले प्रत्यक्ष रूपमा शासन नगरे पनि आफ्नो नियन्त्रणमा राखिरहेको हुन्छ । अदृश्य रूपमा परनिर्भरता र पराधीनताले हाम्रो जस्तो मुलुक सताइएको हुन्छ । सरकारले आफ्ना सबै नागरिकलाई आफ्नै माटोमा काम दिन सक्दैन । यस्तो राज्यसत्ताले जनशक्ति निर्यातमा बढ्ता विश्वास गर्छ । विदेशी शक्ति पनि हामीलाई कमजोर र पिछडिएकै अवस्थामा राखेर हाम्रो सस्तो श्रम उपयोग गरिरहन चाहन्छ ।
हाम्रो देशका युवालाई विदेशमा काममा पठाउने र त्यसबाट आएको पैसाले उनीहरू फर्केपछि घर बनाउने, गाडी किन्नेजस्ता काममा प्रोत्साहन गरिन्छ । किनकि, उनीहरूले कुनै उद्योगधन्दा सञ्चालन गरिहाले भने त्यो टाउको दुखाइको विषय हुन्छ । यसरी हाम्रो देशका नागरिकको श्रम चरम रूपमा शोषण गरिँदै आएको छ । यसैमा हाम्रा राजनेता मक्ख परेको र युवालाई वैदेशिक रोजगारीमा प्रोत्साहन गरिरहेको देख्दा निकै दुःख लाग्छ ।
अब भोलिका दिनमा यस्ता कुराबाट समस्त युवा जमातलाई सचेत गराइनुपर्छ । नेपाललाई जसरी भए पनि परनिर्भर हुनबाट रोक्ने उपाय तमाम छन् । यसका निम्ति सर्वप्रथम राज्यले उचित नीति अवलम्बन गर्न तयार हुनुपर्छ । हामीले नेपाली युवालाई विदेश जान निरुत्साहन गराउने योजना ल्याई उनीहरूलाई स्वदेशमै स्वरोजगार बनाउने र उनीहरूमाथि राज्यको लगानी हुने व्यवस्था गरिनुपर्छ । विदेश जानेलाई भन्दा स्वदेशमा कुनै उद्यम गरी बस्नेलाई सरकारको सहयोग हुने भएमा कोही पनि अर्काको मुलुकमा जान चाहन्न । त्यसैले सरकारले कोरोनाले बेरोजगार बनाएका र विदेश जाने मानसिकता लिएका सबै नेपाली नागरिकका निम्ति विशेष लगानीको प्रबन्ध गर्ने अठोटसाथ कार्यक्रम बनाउनुपर्छ र सबै नेपालीले सरकारलाई साथ दिएर नेपाललाई आत्मनिर्भर मुलुक बनाउन ऐक्यबद्धतासाथ लागि पर्नुपर्छ ।
यी विषयमा जति चर्चा–परिचर्चा भए पनि राज्यसत्तामा पुगेको नेतृत्व वर्गको प्रवृत्तिमा परिवर्तन नआई कुनै सुधार हुनेवाला छैन । किनकि, हाम्रो सत्ताको प्रवृत्ति हिजो पनि त्यही थियो र आज पनि त्यही नै छ । यहाँ राणाशासन गयो, प्रजातन्त्र आयो । प्रजातन्त्र गयो, पञ्चायत आयो । पञ्चायत गयो, प्रजातन्त्र आयो । राजतन्त्र गयो, गणतन्त्र आयो । खालि तन्त्रको नाम फेरियो । पात्रहरू फेरिए । तर, शासकहरूको प्रवृत्ति भने उही रह्यो । बोतल फेरियो, तर रक्सी पुरानै रह्यो । शासकहरूको प्रवृत्ति नफेरिने हो भने सत्तामा बस्ने पात्र फेरिनुको कुनै अर्थ छैन ।