१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १३ आइतबार
  • Thursday, 04 July, 2024
अनामनगरस्थित धोबीखोला करिडोरमा तार बिछ्याउन लागि फुटपाथ खनिँदै । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
शिवहरि घिमिरे काठमाडाैं
२o७८ भदौ १३ आइतबार o९:५२:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

बनिनसक्दै खन्न थालिँदै छ उपत्यकाको फुुटपाथ

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o७८ भदौ १३ आइतबार o९:५२:oo

बिजुलीको तार भूमिगत गर्नेबारे समन्वय नहुँदा फेरि भत्काउनुपर्ने झन्झट

खाल्टाखुल्टी र पुरानो फुटपाथ भत्काएर नयाँ अपांगमैत्री फुटपाथ निर्माणले उपत्यकाका सडक चम्काएको छ । तर, रंगीन र चिटिक्क बनेका फुटपाथ केही दिनमा फेरि खन्न सुरु हुँदै छ । केही ठाउँमा त खन्न सुरु नै भइसक्यो । सहरी विकासका योजनामा सरकारी निकायबीच समन्वय नहुँदा बिजुलीका तार भूमिगत गर्न सडकपेटी पुनः भत्काइने भएको हो । 

दुई वर्षमा तार भूमिगत कार्य सकिन्छ : कुलमान घिसिङ, कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण

अबको दुई वर्षमा उपत्यकाभित्र तार भूमिगत गरेर सकिन्छ । त्यसपछि सहरी कुरूपता अलि कम हुनेछ र बिजुली व्यवस्थापनमा पनि सहजता मिल्नेछ । तार बिछ्याउँदा धेरैजसो ठाउँमा सडकपेटी भत्काउनुपर्छ । त्यसका लागि सडक विभागसँग अनुमति लिन्छौँ । सडकपेटीमै गर्नुपर्ने काम एकैपटक गर्न पाए सहज हुन्थ्यो । 

नेपाल विद्युत् प्राधिकरणले आयोजना नै छुट्याएर पोलमा झुन्डिएको तारलाई भूमिगत गर्दै छ । कोटेश्वर, गौशाला, नयाँबानेश्वर, माइतीघर, त्रिपुरेश्वर, रत्नपार्क, गौशाला, चाबहिललगायत उपत्यकाका मुख्य ठाउँहरूमा दुई वर्षभित्र बिजुलीका तार भूमिगत गरिसक्ने लक्ष्य राखिएको छ । तार भूमिगत गर्दा सडक किनारमा भर्खर बनेका रंगीन फुटपाथ फेरि भत्कने भएका छन् । एउटै सडकपेटीमा काम गर्दा सरकारी निकायबीच समन्वय नभएपछि सडकपेटी फेरि भत्काउनुपर्ने अवस्था उत्पन्न भएको हो ।

उपत्यकामा चारवटा आयोजनाअन्तर्गत तार भूमिगत गर्ने कार्य सुरु भएको छ । महाराजगन्ज, रत्नपार्क, कीर्तिपुर र भक्तपुर–ललितपुरअन्तर्गत तार भूमिगतको काम अघि बढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनका अनुसार धापासी, बालाजु र धोबीखोला क्षेत्रमा पनि भूमिगतकै काम सुरु भइरहेको छ । उपत्यकाबाहिर भरतपुर र पोखरामा पनि तार भूमिगतको योजना तय भएको छ । यी क्षेत्रमा आगामी दुई वर्षभित्र तार भूमिगत गर्ने लक्ष्य राखिएको छ । उपत्यकाभित्र तार भूमिगत गर्न सामान पनि ल्याइसकिएको छ । तर, सडक विभागसँग आवश्यक समन्वय नगरी फुटपाथमा तार बिछ्याइँदै छ । 

हालसम्म लैनचौरदेखि बुढानीलकण्ठसम्म जम्मा एक सय ७० किमि तार (केबल) भूमिगतको काम सकिएको छ । बालुवाटारदेखि राष्ट्रपति भवनसम्म र कीर्तिपुर क्षेत्रमा भर्खर काम सुरु भएको छ । रत्नपार्क क्षेत्रमा २२ प्रतिशत भूमिगतको काम भइसकेको छ ।

बाँसबारीको केही ठाउँमा तार बिछ्याइए पनि एक महिनाअघि खानेपानीको पाइप गाड्दा तार नै चुँडिएको छ । एकअर्काबीच समन्वय नहुँदा यस्ता समस्या आउने गरेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । हालसम्म उपत्यकाभित्र तार भूमिगत कार्यमा एक अर्ब बजेट खर्च भएको प्राधिकरणले जनाएको छ । सबैतिरको तार भूमिगत गर्दा १५ अर्बभन्दा बढी बजेट खर्च हुने अनुमान गरिएको छ । 

काठमाडौंभित्र फुटपाथ बनाउने कार्य सडक डिभिजन काठमाडौंले गरेको छ । डिभिजनका प्रमुख कुवेर नेपालीले उपत्यकाभित्र हालसम्म आठ किमिभन्दा बढी फुुटपाथ नयाँ बनेको जानकारी दिए । उनले बिजुलीका तार बिछ्याउने विषयमा प्राधिकरणलाई खबर गरे पनि प्राधिकरणको काम ढिलो हुने देखिएपछि आफूहरूले काम अघि बढाएको बताए ।

एकैपटक काम गरौँ भन्ने हो भने छिटो सकिँदैन : कुवेर नेपाली, प्रमुख,  सडक डिभिजन काठमाडौं

हामीले आफ्नो–आफ्नो काम गर्ने हो, एकैपटक काम गरौँ भन्ने हो भने छिटो सकिँदैन । फुटपाथ बनाउँदा पनि प्राधिकरणलाई खबर गरेका थियौँ, तर उहाँहरूको काम ढिलो हुने देखियो ।

‘हामीले आफ्नो–आफ्नो काम गर्ने हो, एकैपटक काम गरौँ भन्ने हो भने छिटो सकिँदैन,’ उनले भने, ‘फुटपाथ बनाउँदा पनि प्राधिकरणलाई खबर गरेका थियौँ, तर उहाँहरूको काम ढिलो हुने देखियो ।’ काठमाडौंको पेप्सीकोला, महाराजगन्ज, गौशालासँगै भक्तपुर र ललितपुर क्षेत्रमा पनि फुटपाथको काम भइरहेको छ । उनले हाल बनेको फुटपाथ बनाउन भत्काए पनि बनाउन सहज हुने बताए । पिँधमा बालुवा राखिएका कारण उप्काएर पनि सहजै टाल्न सकिने प्रमुख नेपाली भनाइ छ । 

पटक–पटक फुटपाथमा प्रहार
यसअघि मेलम्ची खानेपानी उपत्यकामा ल्याउन आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले पनि फुटपाथ भत्काएको थियो । सो फुटपाथ निर्देशनालयले नै बनाइदिनुपर्ने भए पनि लामो समय लथालिंग अवस्थामा छाड्यो । पछिल्लो समय सडकपेटी सहज बने पनि त्यसैगरी पुनः भत्कने भएका छन् । काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख अभिषेक अधिकारीले समन्वयको अभावले गर्दा सडकपेटी र पटक–पटक सडक भत्काउनुपर्ने अवस्था आएको बताए । उनले भने, ‘समन्वय नहुँदा सडकपेटी र सडक पटक–पटक भत्काउनुपरेको छ, अहिले फुटपाथ बने, तर केही समयपछि तार भूमिगत गर्दा खोतल्नुपर्ने हुन्छ ।’

समन्वय नहुँदा काममा ढिलाइ
एक वर्ष भयो महाराजगन्ज क्षेत्रमा तार भूमिगत कार्य सुरु भएको । यस क्षेत्रमा जम्माजम्मी ६ सय ५० किमि तार बिछ्याउनुपर्छ । तर, हालसम्म जम्मा एक सय ७० किमि तार मात्रै बिछ्याइएको छ । त्यस्तै, रत्नपार्क क्षेत्रमा एक सय किमि तार बिछ्याइएको छ । यही गतिमा भूमिगतको काम भइरहे आगामी पाँच वर्षभित्र पनि आयोजना नसकिने देखिन्छ । आवश्यक सल्लाह र सहकार्य नहुँदा काम गर्न कठिन भइरहेको छ । सुदृढीकरण आयोजना प्रमुख अधिकारीले बिजुलीको तार, खानेपानी र फुटपाथ निर्माण एकै समयमा गर्न सकिने भए पनि समन्वयको अभावले ढिलो भइरहेको जानकारी दिए । ‘सबै निकायहरूले आ–आफ्नै तालमा काम गरेका छन्,’ उनले भने, ‘त्यसो गर्दा एकैपटक गर्ने काम पनि पटक–पटक गर्नुपरेको छ ।’ 

किन हुन्छ ढिलाइ ?
उपत्यकाभित्र सडक क्षेत्रमा कुनै काम गर्नुपरे सडक विभागसँग अनुमति लिनुपर्छ । विद्युत् प्राधिकरणले पनि सडक विभागसँग अनुमति लिएर मात्रै सडकमा बिजुलीको केबल (तार) राख्न पाउँछ । तर, प्राधिकरणले विभागसँग अनुमति मागे पनि अधिकांश ठाउँमा विभागले अनुमति दिएको छैन । अनुमति नदिँदा काम गर्न कठिन भइरहेको सुदृढीकरण आयोजना प्रमुख अधिकारीले बताए । ‘हामीले सडक प्रयोग गर्दा वा खन्दा विभागसँग अनुमति लिनुपर्ने हुन्छ, तर विभागले सहजै अनुमति दिँदैन,’ उनले भने ।

एकैपटक काम गरौँ भनेर खबर गरेको हो, मान्नुभएन  : शिवप्रसाद नेपाल, उपमहानिर्देशक, सडक विभाग 
बिजुलीको काम कहिले सकिएला भनेर हामीले कति कुर्ने ? एकैपटक काम गरौँ भनेर पनि विद्युत् प्राधिकरणलाई खबर गरेको हो । तर, उहाँहरूले आफ्नो काम समयमा गर्नुभएन । फुटपाथ लथालिंग भएपछि हामीलाई गाली गर्न थालियो । त्यसैले छिटोछिटो काम गर्न डिभिजन सडक कार्यालयलाई निर्देशन दिएका हौँ ।

 

ad
ad
ad
ad