पछिल्लो दुई–तीन दिनदेखि कञ्चनपुरमा सामान्य वर्षा भइरहेको छ। अविरल रूपमा मुसलधारे वर्षा नभए पनि एक्कासी यहाँको पूर्वी क्षेत्रको दोदा नदीमा बाढी आएको छ।
चुरे भएर कञ्चनपुरका चार पालिका कृष्णपुर, लालझाडी, बेलौरी र पुनर्वास हुँदै भारतमा पुगेर महाकाली नदीमा मिसिने दोदा नदी गएरातिदेखि गाउँ पसेको छ । लालझाडी, बेलौरी र पुनर्वासका दर्जनौँ बस्तीका सयौँ घर डुबानमा परेका छन्। लालझाडी गाउँपालिकाका जाई, पर्सिया, ढुंगा, नन्दगाउँ, बल्मी, कसुवा, कञ्जलगायत गाउँका सयौँ घर डुबानमा परेका छन्।
लालझाडी गाउँपालिका अध्यक्ष मदनसेन बडायकका अनुसार गाउँपालिकाको १ देखि ६ नम्बर वडाका हजारौँ घर डुबानमा परेका छन्। केही स्थानीयका घरपालुवा जनावर र अन्य भौतिक सम्पत्तिसमेत बाढीले बगाएको छ। बेलौरी नगरपालिका–५ रामनगर क्षेत्रका घरहरूसमेत डुबानमा परेका छन्।
पुनर्वास नगरपालिकाको २ र ५ नम्बर वडाका झन्डै डेढ सय घर डुबानमा परेका छन् । नगरपालिका भएर धनगढी जोड्ने हुलाकी सडकसमेत अवरुद्ध भएको छ। ‘सिंगै नदी गाउँ पसेपछि पुनर्वास–धनगढी सडकसमेत अवरोध भएको छ,’ लालझाडीका स्थानीय युवा अमरसिंह रानाले भने, ‘एक्कासी नदीमा पानीको बहाव बढेसँगै वितण्डा मच्चिएको छ।’
पहाडमा भारी वर्षा भएका कारण वा अन्य नदीहरू दोदामा मिसिएका कारण बाढी आएको अनुमान गरिएको छ। नदी गाउँ पसे पनि अहिलेसम्म कुनै मानवीय क्षति भने भएको छैन। मानिसहरूको उद्धारका लागि स्थानीय प्रहरी, सशस्त्र प्रहरी र रेडक्रसकर्मी खटिएका छन् । डुबान क्षेत्रमा परेका नागरिकको उद्धार कार्य जारी रहेको कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले बताए ।