मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ७ सोमबार ०७:०७:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अफगानी विकेट–किपर साहजाद चितवन टाइगर्समा आबद्ध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ७ सोमबार ०७:०७:००

अफगानिस्तानका आक्रामक ब्याट्सम्यान मोहम्मद साहजादले चितवन टाइगर्ससँगको सम्झौता नवीकरण गरेका छन् । चौथो एभरेस्ट प्रिमियर लिग (इपिएल)मा अफगानी ब्याट्सम्यान साहजादले चितवनबाट प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि चितवनले पाकिस्तानका दानिज अजिजलाई पनि अनुबन्ध गरेको थियो । चितवनले सन् २०१९ मा स्थगित भएको इपिएलमा साहजादलाई अनुबन्ध गरेको थियो । तर, कोरोना महामारीका कारण इपिएल स्थगित भयो । जसका कारण साहजादले नेपाल आएर खेल्न पाएनन् । 

इपिएलमा आबद्ध साहजादसँग बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग, अबुधाबी टी–१० लिग, अफगानिस्तान प्रिमियर लिगमा खेलेको अनुभव छ । क्रिकेटको छोटो फम्र्याट टी–२० मा साहजाद विशेष गरी छक्का प्रहार गर्न खप्पीस छन् । अफगानिस्तानले एकदिवसीय विश्वकप तथा टी–२० विश्वकपमा स्थान बनाउँदा साहजाद प्रमुख खेलाडी थिए । फरक शैलीमा प्रतिस्पर्धा रुचाउने विकेट–किपर ब्याट्सम्यान साहजाद अफगानिस्तानलाई क्रिकेटको एउटा शक्ति बनाउँदाका प्रमुख खेलाडी हुन् । 

माथिल्लो क्रमका दाहिनेहाते ब्याट्सम्यान साहजादले अफगानिस्तानलाई सन् २०१० देखि चारपटक टी–२० विश्वकपमा पु¥याउँदा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । उनको दक्षता सीमित ओभरको क्रिकेटमा मात्र छैन । क्यानडाविरुद्ध सन् २०१० को अन्तरमहादेशीय कपमा उनले चौथो इनिङ्समा नटआउट २१४ रन बनाएपछि अफगानिस्तानले ४९४ रनको लक्ष्य पूरा गरेको थियो । 

साहजादले सन् २०१६ आइसिसी एसोसिएट एन्ड एफिलिएट क्रिकेट वर्षको उपाधि जितेका थिए । यो उपाधि जित्ने उनी अफगानिस्तानका पहिलो खेलाडी हुन् । 
चितवनसँग अनुबन्ध भएसँगै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा छक्का वर्षा गर्न आतुर रहेको जनाएका छन् । ‘काठमाडौंमा छक्का वर्षा गर्र्न आतुर छु,’ साहजादले भने, ‘नेपालका प्रशंसकहरू विश्वकै धैर्यवान् प्रशंसक हुन्, चितवनबाट खेलेर सबैलाई मनोरञ्जन प्रदान गर्न तयार छु ।’ सन् २०१७ मा उनले टी–२० क्रिकेटमा दुर्लभ रेकर्ड बनाएका थिए । उनले एकै दिन टी–२० मा अर्धशतकीय इनिङ्स खेलेका थिए । दुबईमा डिजर्ट टी–२० च्यालेन्जमा उनले दिउँसो ओमान र साँझ आयरल्यान्डविरुद्ध अर्धशतकीय इनिङ्स खेलेका थिए । उनकै अर्धशतकीय योगदानमा अफगानिस्तानले सहजै दुवै खेलमा जित निकालेको थियो ।
टेस्ट मान्यता पाएपछि अफगानिस्तानले सन् २०१८ मा भारतविरुद्ध पहिलो खेल खेलेको थियो । भारतविरुद्ध पहिलो टेस्ट खेल्दा अफगानिस्तानका उनी मुख्य सदस्य थिए । 

अफगानिस्तान टोलीबाट पहिलो शतकीय इनिङ्स खेल्ने साहजाद पहिलो खेलाडी हुन् । सन् २००९ मा नेदरल्यान्ड्सविरुद्ध उनले एमस्टलभिनमा बनाएको एक सय १० अफगानिस्तानका खेलाडीको एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक थियो । सन् २०१८ को एसियाकपमा भारतसँग बनाएको शतक उनको विशेष इनिङ्समा पर्छ । 

सो खेलमा साहजाद क्रिजमा जाँदा अफगानिस्तानले स्कोर बोर्डमा एक सय ३१ रन मात्र जोडेको थियो । उनको एक सय २४ रनको योगदानमा अफगानिस्तानले २५२ रन बनाएको थियो । रमाइलो पक्ष के थियो भने यो खेल टाई भयो । साहजादले अफगानिस्तान टोलीबाट ८४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै ६ शतक र १४ अर्धशतकसहित दुई हजार सात सय २७ रन बनाए । एकदिवसीय खेलमा उनको औसत ३३ माथि रहेको छ । 

चितवनका अप्रेसन डाइरेक्टर विनिता चौधरी भट्टराईले साहजादसँगको सम्झौता नवीकरण गर्न पाउँदा खुसी लागेको बताएकी छिन् । ‘गत वर्ष जहाँ टुंगिएको थियो, त्यहीँबाट साहजादलाई निरन्तरता दिन पाउँदा हामी निकै उत्साहित छौँ,’ उनी भन्छिन्, ‘उनको अनुभवले चितवनको युवा ब्याटिङ लाइनअपलाई उत्साह र अनुभव प्रदान गर्नेछ ।’