मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ६ आइतबार
  • Monday, 16 December, 2024
विवेक पोख्रेल भरतपुर
२o७८ भदौ ६ आइतबार १५:३३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कालोपत्रे उप्किएपछि फेरि काम गर्न ठेकेदारलाई महानगरको निर्देशन

Read Time : > 1 मिनेट
विवेक पोख्रेल भरतपुर
नयाँ पत्रिका भरतपुर
२o७८ भदौ ६ आइतबार १५:३३:oo

चितवनको भरतपुर महानगरपालिकामा गुणस्तरहीन कालोपत्रे गरेको भन्दै स्थानीयले कालोपत्रे उप्काइदिएका छन्। काम भएको भोलिपल्टदेखि नै कार्पेट पल्टाएजसरी कालोपत्रे उप्किएपछि स्थानीयले गुणस्तरहीन कामको विरोधस्वरूप कालोपत्रे उप्काइदिएका हुन्।

शिव शक्ति इन्फ्रास्ट्रक्चर प्रा.लि हेटौँडा र गौतम निर्माण सेवा भरतपुरले महानगरसँग एक करोड ९४ लाख ७४ हजार आठ सय ८१ रुपैयाँमा ५, २१, २५ र १३ नम्बर वडाका गरी करिब तीन किलोमिटर सडक कालोपत्रेको सम्झौता गरेको थियो। तर, तीन सय मिटर कालोपत्रे भएपछि स्थानीयले गुणस्तरीय काम नभएको भन्दै निर्माण कार्य रोकेका छन्। अहिले निर्माण कम्पनीले समेत निर्माण उपकरणहरू फिर्ता लगिसकेको छ ।

‘पिच गरेको एक हप्ता भएको छैन। बच्चाहरूले समेत मान्द्रोजसरी पिच उप्काउन सक्छन्,’ स्थानीय शोभा नेपाली भन्छिन्, ‘पिच गर्नुअघि धुलो/हिलो राम्रोसँग बढारिएको थिएन । अलकत्रा पनि कम हालिएको थियो। हामीले ठेकेदार र कर्मचारीलाई भन्दा उल्टो हामीलाई हप्काउँथे ।’ राम्ररी रोलर नगरेको र कमसल सामान प्रयोग गरेकाले कालोपत्रे उप्किएको उनी बताउँछिन्। जंगलको छेउमा रहेको यो सडक कालोपत्रे हुने खबरले स्थानीय उत्साहित थिए। तर, काम पूरा नहुँदै कालोपत्रे उप्किएपछि उनीहरू निराश छन् ।

बर्खाको समयमा पनि गुणस्तरहीन सामग्री प्रयोग गरेकाले यस्तो अवस्था सिर्जना भएको स्थानीय नेत्रबहादुर गुरुङ बताउँछन्। कालोपत्रे गर्नुअघि ढुंगा, गिटी, माटो राखेर पेल्ने कामदेखि नै निर्माणमा कमजोरी भएको भरतपुर महानगरपालिका– १३ का वडाध्यक्ष प्रकाश दवाडी बताउँछन्। ‘बेस राखेर काम गर्दादेखि नै कमजोरी भएको देखिन्छ। अरू समयमा नभएन पनि पिच गर्ने समयमा हामीलाई जानकारी दिनुपर्थ्यो । तर, त्यो जानकारी पनि मिलेन,’ दवाडीले भने। यस विषयमा आफूले सुरुदेखि नै ध्यानाकर्षण गराए पनि ठेकेदारको नसुनेको उनी बताउँछन्।

ठेकेदारकै लापरबाहीले सडकमा समस्या भएको महानगरपालिकाका पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर रत्न लामिछाने बताउँछन्। ‘हिलो र पानीमाथि कालोपत्रे गरिएको छ। प्राइम पनि सेट नभइसकेको र रोलिङ गर्दा नमिलेको देखिन्छ,’ उनले भने। लामिछानेका अनुसार महानगरले ठेकेदार कम्पनीलाई फेरि कालोपत्रे गर्न निर्देशन दिएको छ।

निर्माणको जिम्मा लिएका ठेकेदारलाई सम्पर्कमा ल्याउन नसकिएपछि पेटी ठेकेदार हरि दाहालले गल्ती स्वीकार गरेका छन्। बर्खाको समयमा काम हुँदा यस्तो समस्या भएको भन्दै उनले आफूहरूको बचाउ गरे। ‘निर्माण अवधिको समय अझै बाँकी छ। भुक्तानी लिएको छैन। महानगरले भनेअनुसार नै काम गर्छौँ,’ दाहालले भने। कोभिडको कारण म्याद थप भएको योजना असोज अन्तिमसम्म सम्पन्न गर्नुपर्नेछ ।

०७४ सालमा पनि दाहालले सोही वडाको गंगानगर क्षेत्रमा गुणस्तरहीन कालोपत्रे गरेपछि पुनः मर्मत गर्नुपरेको थियो।