मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ३ बिहीबार
  • Monday, 16 December, 2024
२o७८ भदौ ३ बिहीबार १२:३६:oo
Read Time : > 3 मिनेट
विश्व डिजिटल संस्करण

अफगानिस्तानमा अमेरिकाले केका लागि खर्च गर्‍यो २२ खर्ब डलर ? 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका प्याट्रीसिया साब्गा
२o७८ भदौ ३ बिहीबार १२:३६:oo

अमेरिकाले भाग लिएको सबैभन्दा लामो युद्धको मूल्यको हिसाबकिताब गर्नका लागि पर्याप्त आधारहरू छन्। ती युद्धमा अहिलेसम्म जति रगत बगे ती सबैभन्दा बहुमूल्य छन्। तीनका तुलनामा खर्च गरिएको पैसा गौण हुन आउँछ। तालिवानी शासनबाट बच्नका लागि अत्तालिँदै काबुल विमानस्थल पुगेका अफगानी नागरिकका दृश्यहरू आइरहेका छन्। यस युद्धका बारे समाचार लेख्नका लागि विश्वभरका सञ्चारमाध्यमले मसीको ठूलो हिस्सा प्रयोग गरेका छन्। अमेरिकाले पनि विशाल रकम यस युद्धमा खर्च गरेको छ। त्यसैले अफगानिस्तानलाई एउटा उदारवादी प्रजातान्त्रिक मुलुक बनाउने अमेरिकी प्रयासको सम्पूर्ण लेखाजोखा गर्नु वाञ्छनीय छ। अन्यथा, इतिहासले सिकाएको पाठ बिर्सन सकिन्छ र यस्ता वियोगान्त निम्त्याउने गल्तीहरू दोहोरिन सक्छन्।

सुरक्षा जुनसुकै राष्ट्र निर्माणको आधार हो। यदि जनताले सुरक्षित महसुस गर्दैनन् भने त्यहाँ अस्थिरता र भ्रष्टाचार बढ्न जान्छ र सरकारी अर्थतन्त्र टाट पल्टिन्छ। सन् २००१ मा अफगानिस्तानको अर्थतन्त्र दुई दशकदेखिको युद्धले ध्वस्त भएको थियो र यसले सोही वर्षको अक्टोबरमा अमेरिकाको नेतृत्वमा सैन्य आक्रमण निम्त्यायो।  

ब्राउन युनिभर्सिटीका अनुसार युद्ध परियोजनाअन्तर्गत सन् २००१ देखि संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा २२ खर्ब ६० अर्ब अमेरिकी डलर ( २.२६ ट्रिलियन डलर) खर्च गरेको छ। उक्त रकमको सबैभन्दा ठूलो हिस्सा (१ ट्रिलियन डलर) रक्षा मन्त्रालयअन्तर्गतको विदेशी आकस्मिकता सञ्चालन बजेटको नाममा खर्च गरिएको थियो। सो बजेटको दोस्रो ठूलो हिस्सा अर्थात् पाँच सय ३० बिलियन डलर अमेरिकी सरकारले युद्धका लागि भनेर लिएको ऋणको ब्याज मात्रै तिरेको छ। अमेरिकाले खर्बौँ खर्ब पैसा खर्च गर्नुका बाबजुद अफगानिस्तान विश्वको सबैभन्दा सानो अर्थतन्त्र भएको देशहरूमध्ये एक हो। पछिल्लो वर्ष अफगानी राष्ट्रपति असरफ घानीले करिब ९० प्रतिशत अफगानी जनता दिनको दुई डलरभन्दा पनि कमले जीवन बिताइरहेका छन् भनेर सार्वजनिक रूपमा बताएका थिए।

यसैबीच, अवैध अर्थतन्त्रमा उछाल आएको छ। सन् २००१ मा अमेरिकी सैन्य बलले तालिवानलाई सत्ताच्युत गरेपछि अफगानिस्तानले विश्व बजारमा अफिम र हिरोइनको ग्लोबल आपूर्तिकर्ताको रूपमा आफूलाई दर्ज गरायो। यसले तालिवानको पुनर्विजयको संकेत गरेको थियो। अहिले अफगान सेना र त्यसले सुरक्षा दिनुपर्ने सरकार ध्वस्त भइसकेको छ। राष्ट्रपति घानी देश छाडेर भागेका छन्। तालिवानहरूले उनको कार्यालयमा सेल्फी खिचिरहेका छन्। यो अमेरिकाले गरेको २० खर्ब लगानीको प्रतिफल हो। २० वर्ष लामो युद्धको एउटा अस्तव्यस्त र अपमानजनक अन्त्य हो। 


अफगानिस्तानमा सन् २००१ देखि सन् २०२१ सम्म अमेरिकाले २२ खर्ब ६० अर्ब खर्च गर्‍यो। अफगानिस्तान मिसन एउटा त्यस्तो लगानी साबित भयो जसको प्रतिफलमा अमेरिकाले अपमानजनक र अस्तव्यस्त अन्त्य व्यहोर्नुपर्‍यो। 

एउटा गम्भीर बहीखाता
सन् २००१ देखि अफगानिस्तानमा पुनर्निर्माणका नाममा अमेरिकाले एक सय ४४ बिलियन डलरभन्दा बढी रकम विनियोजन गरेको छ। तर, त्यो रकमको अधिकांश हिस्सा निजी ठेकेदार र गैरसरकारी संस्थाकोमा पुग्यो। अमेरिकाले खासमा त्यो रकम अफगानिस्तान सुरक्षा बलको निर्माण, शासनमा सुधार, आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर्‍याउन र लागुऔषधका विरुद्ध लड्नका लागि अफगानिस्तानलाई सुम्पिएको थियो।  त्यसैगरी, मार्च २००२ देखि मार्च २०२१ सम्म सञ्चालन भएको अफगानी सेनाको प्रशिक्षण र हतियार प्रदान गर्ने कार्यक्रम उक्त पुनर्निर्माण प्रयासको सबैभन्दा ठूलो असफलता र सबैभन्दा महँगो साबित भयो।

अमेरिकाले अफगान सेनालाई तालिवान, अल–कायदा तथा आइएसआइएलजस्ता सशस्त्र समूहहरुविरुद्ध लड्ने जिम्मेवारी दिएको थियो। ती समूहहरूबाट अमेरिका समर्थित अफगानी सरकारलाई अस्तित्वको खतरा थियो। तर, तालिवानको रफ्तारसामु तीन लाखको संख्यामा रहेको अफगानिस्तानको सेनाले निकै चाँडो आत्मसमर्पण गर्‍यो। यसले अफगानिस्तान सेनाले जसको सेवा गरेको थियो अथवा जुन सरकारको रक्षा गर्ने कसम खाएको थियो त्यस संस्थाप्रति उनीहरूको कत्रो अविश्वास थियो भन्ने विषयलाई छर्लंग पारेको छ। निश्चय नै अफगानिस्तानको फरक ऐतिहासिक र सांस्कृतिक पक्ष यो परिणामको कारण हो। तर, यस्तो परिणाम आउनुमा अमेरिकाले गरेको आफ्नो कामको खराब निगरानी र मूल्यांकन पनि उत्तिकै जिम्मेवार छ। 

त्यसैका लागि अमेरिकी कंग्रेसले सिगार (SIGAR – the Special Inspector General for Afghanistan Reconstruction)को स्थापना गरेको थियो। सन् २००८ देखि यसले वासिंगटनको अफगानिस्तान पुनर्निर्माण कार्यक्रमको लेखापरीक्षण तथा मूल्यांकन गर्दै आइरहेको छ। जब–जब अनियमितताको प्रसंग उठ्छ यसले निकाल्ने प्रतिवेदनहरू निकै दमदार र दूरदर्शी हुन्छन्। उदाहरणको लागि, अफगानिस्तान सेनालाई प्रशिक्षण दिने अमेरिकी प्रयासबारे सन् २०१७ मा तयार परिएको एउटा प्रतिवेदनले अमेरिकाले अफगानिस्तानका विद्रोहीहरूको क्षमतालाई चाहिनेभन्दा बढी कमजोर ठानेको र अफगानिस्तानको सुरक्षा बलको क्षमतालाई अनावश्यक रूपमा विश्वास गरेको पाएको छ। ‘सिगार’का अनुसार अमेरिकाले अर्को पनि गल्ती गरेको छ। यसले पश्चिमा अत्याधुनिक हतियार र व्यवस्थापन प्रणालीलाई हतियारबारे ज्ञान नभएका ठाउँमा लगेर प्रयोग गर्‍यो। उसले अफगान सैन्य बललाई सक्षम बनाउनुको साटो अमेरिकामाथि निर्भर रहनुपर्ने बनायो। ‘सिगार’ले अमेरिकाले अफगानिस्तानमा दिने सैन्य प्रशिक्षणको अनुगमन र मूल्यांकनका उपकरणहरूमा भ्रष्टाचार, सेनाहरूको आत्मविश्वासजस्ता अमूर्त विषयहरूलाई प्राथमिकतामा नराखेको पनि पत्ता लगाएको छ।  गत जुलाईमा ‘सिगार’ले अफगानिस्तानमा ‘सिकिएका पाठहरू’ भन्नेबारे आफ्नो १०औँ प्रतिवेदन सार्वजनिक गर्‍यो। इनिस्पेक्टर जनरल जोन एफ सप्कोले सो प्रतिवेदनको कार्यकारी सारांशमा लेखेका छन्, ‘अफगानिस्तानको जस्तो अप्रत्याशित र भद्रगोलको वातावरणमा खराब अनुगमन र नीतिनियमको अनुचित कार्यान्वयनले स्थानीय समुदायसँगको सम्बन्ध, अमेरिका र अफगान सरकारका कर्मचारी र नागरिकहरूको जीवन खतरामा पार्नुको साथै रणनीतिक लक्ष्यहरूलाई कमजोर बनाउन सक्छ।’ 

तीन सय २४ पृष्ठ लामो सो प्रतिवेदन निकै महत्वपूर्ण छ। धिमा गतिमा डुबेको अफगानिस्तान युद्धको रेलको अग्रभागमा अमेरिका थियो। उक्त प्रतिवेदनमा ‘सिगार’जस्ता संस्थाहरूको अनुभव कहाँ प्रयोगमा आउन सक्छ भन्नेबारेमा सप्कोले विशेष महत्वका साथ बोलेका छन्। ‘अमेरिका समयसमयमा यस्ता ठूलाठूला पुनर्निर्माणका परियोजनाहरूमा सहभागी हुन्छ भन्ने स्वयंसिद्ध नै छ,’ उनी लेख्छन्, ‘अबउप्रान्त पनि अमेरिका यस्ता अरू परियोजनाहरूमा कैयौँ वर्ष र शताब्दीसम्म नै सहभागी हुने हो भने उक्त प्रतिवेदनले निकालेका निष्कर्ष, सिकाएका सबक र सुझाएका उपायहरू फेरि पनि प्रयोगमा आउन सक्छन्।’ 

अफगानिस्तानको मामलामा त्यस्ता सबकहरू धेरै ढिला पत्ता लागे पनि वाास्तवमै भावी दिनहरूमा ती उपयोगी हुन सक्छन्। 
(अलजजिरामा प्रकाशित प्याट्रिसिया साब्गाको लेखको भावानुवाद हिमाल पौडेलले गरेका हुन्।)