मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ ३ बिहीबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ भदौ ३ बिहीबार o७:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनताबाट अनुमोदित पार्टीबाट कोही बाहिरिँदैमा  एमालेलाई समाप्त पार्ने योजना सफल हुँदैन : ईश्वर पोखरेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ भदौ ३ बिहीबार o७:२९:oo

नेकपा एमाले महासचिव ईश्वर पोखरेलले नेपाली जनताबाट पटकपटक अनुमोदित भएको राजनीतिक पार्टीबाट कोही बाहिरिँदैमा एमालेलाई समाप्त पार्ने योजना सफल नहुने बताएका छन् । उनले फुटको विगत हामी सबैले देखेको र भोगेको हुनाले  कुण्ठा तथा बदलाको भावना बोकेका केही मान्छे  बाहिरिँदैमा धैर्यता नगुमाउन नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत पोखरेलले एमाले पार्टी र आन्दोलनलाई अगाडि बढाउने अभियानमा साथ दिन पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकलाई आग्रह गरेका छन् । 

उनले केही व्यक्तिहरूबाट एमालेको आन्तरिक जीवनमा मात्र नभई नेपालको कम्युनिस्ट आन्दोलन तथा मुलुकको लोकतान्त्रिक राजनीतिक आन्दोलनमा कालो धब्वा लगाउने घृणित र निन्दनीय काम भएको बताए ।

उनले लेखेका छन्, ‘दुःखका साथ भन्नुपर्दै छ– यो काम पार्टीमा लामो समय पार्टी प्रमुख भएर बस्नुभएका नेता माधव नेपालको अगुवाइमा भएको छ !!  पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन यसबीच पार्टी अध्यक्षलगायत विभिन्न साथीहरूले गर्नुभएको अनगिन्ती प्रयासका बाबजुद आज एमालेको एकताबद्ध अवस्थामा प्रश्न उठाउने अपराधपूर्ण काम भएको छ। यसबीच पार्टीभित्रको एकतालाई कायम राख्न पटकपटक अपिल गरिएको छ । माधव नेपाललगायत केही साथीहरूसँग  यसबीच  म आफैँले पनि पटक–पटक कुराकानी गरेको छु, छलफल गरेको छु । तर, ती सबै निरर्थक बने ! नेकपा (एमाले) का नेता, कार्यकर्ता, शुभेच्छुकहरूको चाहनाअनुसार पार्टीलाई एक ढिक्का बनाउन यसबीच बनाइएका समझदारी र प्रस्तुत गरिएको लचकतालाई समेत कुल्चेर अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्ने काम गरिएको छ  ।’

एमाले  मुलुकमा आर्थिक विकास र समृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, समाजमा अराकताको अन्त्य आदि उद्देश्य बोकेर अघि बढिरहेको पार्टी भएको उनको दाबी छ ।