एक वर्षदेखि निरन्तर झरिरहेको पहिरोले कालिञ्चोक गाउँपालिकास्थित लापिलाङको सिंगो गाउँ जोखिममा परेको छ । पहिरोले रानीवनदेखि गुमुखोलासम्मको भूभाग दिनहुँ कटान गरिरहेको छ । एक वर्षदेखि लगातारको पहिरोका कारण लापिलाङका झन्डै दुई दर्जन परिवारको उठिबास लागेको छ ।
पहिरोका कारण गत वर्ष बन्देथली र आसपासका १० घर परिवारको उठिबास लाग्यो । अहिले पनि झन्डै १५ घरपरिवारको उठिबास हुने गरी पहिरोले कटान गरिरहेको छ । पहिरो अहिले सिस्नेबारी, मैदान, काँडाबारी, बन्देथली हुँदै सिलाथारेसम्मका बस्तीमा पुगिसकेको छ ।
वनक्षेत्रदेखि खोली किनारसम्मको भूगोलमा मात्रै झन्डै तीन किलोमिटर ठाडो जमिन कटान गरेकाले लापिलाङका आधा दर्जन बस्ती जोखिममा परेको वडाध्यक्ष कालिञ्चोक गाउँपालिका–५ का वडाध्यक्ष सुवास थामीले जानकारी दिए । सामान्य पानी पर्दा पनि माथिबाट बगेर आउने लेदोले असर गरिरहेको स्थानीय बताउँछन् ।