मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सिड्नी
२०७८ श्रावण ३१ आइतबार ०८:४८:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ओलम्पिकबाट फर्किएका अस्ट्रेलियन खेलाडीलाई २८ दिन क्वारेन्टिन

Read Time : > 2 मिनेट
सिड्नी
२०७८ श्रावण ३१ आइतबार ०८:४८:००

अन्य देशले पदक विजेता ओलम्पियनको सम्मान गरिरहेका छन्, तर हाम्रो सरकारले भने खेलाडीहरूलाई होटेलमा थुनेर राखेको छ, योभन्दा अन्याय के हुन सक्छ, यो खेलाडीमाथि गरिएको लापरवाही हो : एओसी

३२औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता अघिल्लो साता जापानको टोकियोमा सम्पन्न भयो । ओलम्पिकका पदक विजेता तथा सहभागी खेलाडीहरूले घर फर्कंदा पाएका न्यानो र भव्य स्वागतसम्बन्धी समाचार सञ्चारमाध्यमहरूले प्रसारण गरिरहेका छन् । कतिपय देशले त पदक जितेका खेलाडीलाई ठूलो धनराशिसहित भव्य सम्मान गरिरहेका छन् ।

तर, अस्ट्रेलियन ओलम्पिक खेलाडीहरूलाई भने घर फर्कंदा न त स्वागतका लागि कुनै कार्यक्रम भएको छ, न त कुनै सम्मान नै गरिएको छ । बरु टोकियोबाट अस्ट्रेलिया फर्केका खेलाडीहरूले सरकारले जारी गरेको कडा नियम पालना गरिरहेका छन् । अस्ट्रेलियन सरकारले ओलम्पिकबाट फर्केका खेलाडीलाई २८ दिन क्वारेन्टिनमा बस्नुपर्ने निर्देशन दिएको छ । सोहीअनुसार ओलम्पिकबाट फर्केका ५६ सदस्यीय टोली क्वारेन्टिनमा रहेको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् । 

अस्ट्रेलियन समाचार एजेन्सीहरूले सरकारको यो नियम कठोर र अमानवीय भएको आरोप लगाएका छन् । ‘ओलम्पिकमा सहभागी भएका खेलाडीहरूको सम्मान गर्नुपर्नेमा सरकारले उनीहरूलाई कठोर क्वारेन्टिनमा पठाएको छ,’ सिड्नीका अधिकांश मिडियाले उल्लेख गरेका छन्, ‘खेलाडीहरूले अनावश्यक रूपमा होटेलमा पीडा व्यहोरिरहेका छन् ।’ 

अस्ट्रेलियन सरकारले विदेशबाट आएका व्यक्तिलाई दुई साताभन्दा बढी क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएको छ । खेलाडीहरूले पनि टोकियोबाट फर्केकाले सरकारले जोखिम मोल्न नचाहेको जनाएका छन् । अस्ट्रेलियन ओलम्पिक कमिटी (एओसी)ले भने सरकारको निर्णयको विरोध गरेको छ । पदक विजेता खेलाडीको सम्मान गर्नुपर्नेमा होटेल क्वारेन्टिनमा पठाउनु मानवअधिकारविरुद्ध भएको एओसीको दाबी छ । ‘अन्य देशले पदक विजेता तथा सहभागी ओलम्पियनको सम्मान गरिरहेका छन्, तर हाम्रो सरकारले भने खेलाडीहरूलाई होटेलमा थुनेर राखेको छ, योभन्दा अन्याय के हुन सक्छ ?’ एओसीले भनेको छ, ‘यो खेलाडीहरूमाथि गरिएको लापरवाही हो ।’ 

अस्ट्रेलियाले टोकियो ओलम्पिकमा १७ स्वर्ण, सात रजत र २२ कांस्य पदक जितेको छ । कुल ४६ पदकका साथ अस्ट्रेलिया छैटौँ स्थानमा रह्यो । ‘ओलम्पिकमा सहभागी खेलाडीमाथि गर्व गर्नुपर्ने थियो, तर सरकारले दण्डित गरेको छ,’ एओसीले भनेको छ, ‘अहिले १६ जना ओलम्पियन एक साताको क्वारेन्टिनमा छन्, उनीहरू मानसिक रूपमा तनावमा छन् ।’ 

न्यु साउथवेल्सको राजधानी सिड्नीमा अवतरण भएका सबैजसो अस्ट्रेलियन खेलाडी क्वारेन्टिनमा बसेका छन् । अस्ट्रेलियाली सरकारले तेस्रो लहरको कोरोना भाइरसका साथै डेल्टा भेरियन्टमाथि नियन्त्रण लिन सिड्नीलगायतका सहरमा कडा लकडाउन गरेको छ । अस्ट्रेलियामा अहिलेसम्म ३७ हजार सात सय १२ जना संक्रमित भएका छन् । जसमध्ये ३० हजार सात सय ५४ जना संक्रमणमुक्त भइसकेका छन् । यस्तै, यहाँ कोरोना संक्रमणबाट तीन सय ४५ जनाले ज्यान गुमाएका छन् । 

झन्डै एक महिना क्वारेन्टिनमा बस्दा खेलाडीलाई नोक्सान
२८ दिन क्वारेन्टिनमा बस्दा खेलाडी मानसिक तथा शारीरिक रूपमै कमजोर हुने अस्ट्रेलियन ओलम्पिक कमिटीको दाबी छ । कमिटी भन्छ, ‘लगभग एक महिना एकै कोठाभित्र बस्दा खेलाडी मानसिक रूपमा मात्र नभएर शारीरिक रूपमै कमजोर बन्न सक्छन्, यसको असर लामो समयसम्म रहन्छ ।’ यसैगरी, अस्ट्रेलियन खेलकुद संस्थाका अध्यक्ष डेभिड हुघेसले पनि होटेल क्वारेन्टिनमा रहेका खेलाडीलाई फ्रेस बनाउनुपर्ने जनाएका छन् ।

न्यु साउथ वेल्समा डेल्टा भेरियन्ट फैलिएको घोषणा

सरकारले न्यु साउथ वेल्स प्रान्तमा डेल्टा भेरियन्ट फैलिरहेको जनाएका छन् । डेल्टा भेरियन्टको अवस्था कसैले नबुझेका कारण यसको रोकथामका निमित्त सबैमा क्वारेन्टिन लागू गरेको न्यु साउथ वेल्स सरकारले जनाएको छ । ‘हामीले स्वदेशी तथा विदेशी नागरिकलाई अनिवार्य क्वारेन्टिन व्यवस्था गर्नुको पछाडि सिड्नीमा डेल्टा भेरियन्ट नफैलियोस् भन्ने हो,’ न्यु साउथ वेल्स सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

टोकियो ओलम्पिकमा सहभागी ओलम्पियन तथा अफिसियललाई क्वारेन्टिन व्यवस्था नगर्न अस्ट्रेलियन ओलम्पिक कमिटीले सरकारसमक्ष आग्रह गरे पनि आग्रह अस्वीकृत भएको छ । ‘अस्ट्रेलियाका विभिन्न सहरमा कोभिड–१९ तथा डेल्टा भेरियन्टको उच्च जोखिम छ, यसकारण एओसीको प्रस्ताव स्वीकार गर्न सकिँदैन,’ न्यु साउथ वेल्स सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘ओलम्पियनलाई पनि सुरक्षित राख्नुपर्ने हाम्रो दायित्व छ ।’ खेलाडीहरूले टोकियो ओलम्पिकमा सहभागी हुनुअघि नै कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका थिए । 

ओलम्पिक आयोजकले खेलाडी तथा अफिसियलहरूलाई उच्च सुरक्षाबीच एथलेटिक्स भिलेजमा राखेको थियो । ओलम्पिक भिलेजबाहेक अन्य कहीँ पनि जान दिएको थिएन । टोकियोमा उच्च निगरानीमा बसेका अस्ट्रेलियन खेलाडीलाई कुनै क्वारेन्टिनमा बस्नुनपर्ने दाबी एओसीका कार्यकारी अधिकृत म्याट कारोलले गरेका छन् । उनी भन्छन्, ‘दुवै डोज खोप लगाएका हाम्रा खेलाडी टोकियोमा सुरक्षित रूपमा बसेका थिए, हामीलाई विश्वास छ, सबै खेलाडी सुरक्षित नै छन् ।’

ओलम्पिकमा सहभागी हुने प्रत्येक सदस्यको प्रत्येक साता कोरोना परीक्षण गरेको उनले बताए । ‘टोकियो जानुअघि पनि कैयौँपटक कोरोना परीक्षण भएको थियो, सबैको रिपोर्ट नेगेटिभ नै थियो, अहिले पनि परीक्षण गरेको अवस्थामा उनीहरूको रिपोर्ट नेगेटिभ नै आउँछ,’ म्याटले भने, ‘यति हुँदाहुँदै खेलाडीले किन कठोर क्वारेन्टिनमा बस्नुपरेको भन्ने बुझिनँ ।’