१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
दोलखाको कालिञ्चोक–५ स्थित लापिलाङको रानीवन पहिरो ।
२०७८ श्रावण २२ शुक्रबार ०७:४८:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सधैँ त्रासमा लापिलाङका पहिरोपीडित

Read Time : > 1 मिनेट
२०७८ श्रावण २२ शुक्रबार ०७:४८:००

बर्सेनि गाउँलेको उठिवास, सरकारी निकाय आश्वासन दिन्छ, काम गर्दैन

एक वर्षदेखि लगातार खसेको पहिरोका कारण लापिलाङका झन्डै दुई दर्जन परिवारको उठिवास लागेको छ । पहिरोले स्थानीयको सयौँ रोपनी खेतीयोग्य जमिन नष्ट गरिसकेको छ । गत वर्षको असारदेखि झरेको पहिरो क्रमशः फैलिँदै गएपछि लापिलाङका विभिन्न मानवबस्ती जोखिममा परेका छन् । 

पहिरोका कारण गत वर्ष बन्देथली र आसपासका १० घर परिवारको उठिवास लाग्यो । अहिले पनि झन्डै १५ घरपरिवारको उठिवास लाग्ने गरी पहिरोले कटान गरिरहेको कालिञ्चोक गाउँपालिका–५ का वडाध्यक्ष सुवास थामीले जानकारी दिए । उनका अनुसार रानीवनबाट झरेको पहिरो अहिले सिस्नेबारी, मैदान, काँडाबारी, बन्देथली हुँदै सिलाथारेसम्मका बस्तीमा पुगिसकेको छ । पहिरोका कारण त्यस क्षेत्रका स्थानीय जेठ अन्तिमदेखि नै घर छाडेर अन्यत्र विस्थापित भएका छन् ।

पहिरोले रानीवनदेखि गुमुखोलासम्मको भूभाग दिनहुँ कटान गरिरहेको छ । वन क्षेत्रदेखि खोली किनारसम्मको भूगोलमा मात्रै झन्डै तीन किलोमिटर ठाडो जमिन कटान गरेकाले लापिलाङका आधा दर्जन बस्तीमा जोखिम सिर्जना भएको वडाध्यक्ष थामीले बताए ।

सामान्य वर्षा हुँदा पनि माथिबाट बगेर आउने लेदोले झनै असर गरिरहेको स्थानीयको गुनासो छ । पहिरोले तल्लो भागबाट दिनहुँ कटान गर्दै लगेको वडाध्यक्ष थामीले बताए । ‘पहिरोले तल्लो भागबाट व्यापक कटौती गर्दै लगेको छ, यही रफ्तारमा तान्दै जाने हो भने केही दिनभित्रै सुनखानी–सांबा सडकसमेत अवरुद्ध हुनेछ,’ उनले भने । 

एक सय ५० घर जोखिममा 
पहिरोका कारण रानीवनदेखि गुमुखोलासम्मका झन्डै एक सय ५० घरपरिवार उच्च जोखिममा रहेको वडा कार्यालयले जनाएको छ । वडाध्यक्ष थामीले बन्देथली, दारेमथली, कात्तिके, मिजारटोल, देवीथान र घट्टेखोला आसपासका अधिकांश घर जोखिममा परेको बताए । तिनीहरूको व्यवस्थापन कसरी गर्ने भन्ने अहिलेसम्म टुंगिन नसकेको उनको भनाइ छ ।

अहिले बस्तीका मानिस रातको समयमा अन्यत्रै गएर सुत्ने गरेको पहिरोपीडित रुकमाला पोर्तेलले जानकारी दिइन् । उनको परिवार दुई महिनादेखि घर छाडेर नजिकैको सामुदायिक भवनमा बस्दै आएको छ । पहिरोले रुकमालाको घरको तल्लो भाग तानिसकेको र क्रमशः ढल्ने अवस्थामा पुगेको छ ।