मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २० बुधबार
  • Monday, 16 December, 2024
२o७८ श्रावण २० बुधबार १८:o९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विमला वली भोलि सार्वजनिक हुने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण २० बुधबार १८:o९:oo

गएको शुक्रबारदेखि सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री (वली) ले बिहीबार (भोलि) पत्रकार सम्मेलन गरी सार्वजनिक हुने बताएकी छिन्। उनीनिकट स्रोतका अनुसार वली माओवादी केन्द्रमै रहेको र भोलि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी रहेको छ। 

दाङ क्षेत्र नं. ३ को ‘ख’बाट निर्वाचित वली गएको साउन १५ गते तुलसीपुरबाट सम्पर्कविहीन भएकी थिइन्। सम्पर्कभन्दा बाहिर रहेपछि उनलाई पार्टीले खोजी कार्य जारी राखेको थियो।  एमालेका लुम्बिनी प्रदेश सभाका सचेतक भूमेश्वर ढकाल र नेता मानबहादुर रावतले तुलसीपुरबाट लगेका थिए। ढकालको गाडीमा उनलाई नेपालगन्ज लैजान भनी यहाँबाट हिँडाएको भए पनि सीधै मुख्यमन्त्री कार्यालयमा लगिएको भनि आफूहरूसँग भनेको माओवादी केन्द्रका एक प्रदेश सांसदले बताए। ‘उहाँ माओवादी केन्द्रको संसदीय दलमा आज बिहान सम्पर्कमा आउनु भयो,’ ती सांसदले भने, ‘नेपालगन्ज जाने भनी लगेको  सीधै मुख्यमन्त्री कार्यालय लगिएको भनि हामीसँग भन्नुभयो ।’ 

वलीको मोबाइलको लोकेसन पनि १५ गतेदेखि नै मुख्यमन्त्री कार्यालयवरिपरि देखाएको भन्दै अपहरणको शैलीमा उनलाई लगिएको प्रदेश सांसद दामाकुमारी शर्माले बताइन्। ‘उहाँ पार्टीको सम्पर्कमा नआएपछि मोबाइलको लोकेसन हेरेका थियौँ,’ उनले भनिन्, ‘१५ गतेदेखि नै मुख्यमन्त्री कार्यालयमा रहेको लोकेसन देखाएको थियो।’  वलीलाई अपहरणको शैलीमा लगिएको उनको भनाइ छ। 

उनको नाममा सोमबार मात्रै विज्ञप्ति जारी गरी  एमालेमा प्रवेश गरेको खबर बाहिर ल्याइएको थियो। २०७६ मंसिरमा भएको उपनिर्वाचनमा उनले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट जितेकी थिइन्। 

त्यसपछि अदालतले दुई पार्टी एकताभन्दा पहिलेकै अवस्थामा पुगेको भनी फैसला गरेपछि उनले गएको वैशाख १९ गते बुटवलमा पत्रकार सम्मेलन गरी माओवादी केन्द्र रोजेकी थिइन्। उनका श्रीमान् उत्तरकुमार ओलीको सवारी दुर्घटनामा निधन पछि सोही स्थानमा विमलालाई उम्मेदवार बनाइएको हो।  लुम्बिनीमा नयाँ प्रदेश प्रमुख आएपछि सरकार परिवर्तनको चर्चा चलिरहेको छ। मंगलबार मात्रै विपक्ष गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ।