मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज ३० शनिबार
  • Saturday, 16 October, 2021
२०७८ श्रावण १७ आइतबार १०:३७:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भिजिट भिसामा दुबई पुगेका ६ युवा  चार लाख ऋण बोकेर रित्तो हात घर फर्किए

Read Time : > 3 मिनेट
२०७८ श्रावण १७ आइतबार १०:३७:००

प्यारामाउन्ट ह्युमेन रिसोर्स कम्पनीलाई प्रतिव्यक्ति एक लाख ८० हजार बुझाएर दुबई गएका रसुवा नौकुण्ड गाउँपालिकाका फिन्जो तामाङ, पासाङ घले, नेमाछिरिङ तामाङ, सार्किमान तामाङ, लामाकार्पाे तामाङ र मेन्दो लोप्चन म्यानपावरको ठगीविरुद्ध कानुनी प्रक्रियामा जाँदै

रसुवाको नौकुण्ड गाउँपालिका–२ यार्साका फिन्जो तामाङले एक वर्षअगाडि रोजगारीका लागि विदेश जाने योजना बनाए । घरमा काम नहुने र परिवारको आर्थिक अवस्था कमजोर भएपछि उनलाई विदेश गएर पैसा कमाउने हुटहुटी जाग्यो । उनका आफन्त पनि विदेशमा रहेको र राम्रो कमाइ हुने सुनेका उनले युएईमै रहेका आफन्तमार्फत प्रक्रिया अगाडि बढाए । आफन्तकै सल्लाहअनुसार उनी म्यानपावर कम्पनी पुगे । 

कोरोना महामारीका कारण नयाँ कामदारको माग आएको थिएन । यस्तो अवस्थामा कम्पनीले राम्रो काम र तलबको प्रलोभन त दियो, तर भिजिट भिसामा जानुपर्ने सर्त राखियो । घरमा आम्दानी नभएका तामाङलाई विदेश पुग्नु थियो । ‘सबै कागतपत्र दुबईमै बन्छ, यहाँबाट मात्र सो मुलुक पुग्नुपर्ने हो’ भनी म्यानपावरले भनेको पत्याएका उनले सोहीअनुसार गरे । 

नेपालमा म्यानपावर कम्पनीले उनीबाट एक लाख ८० हजार रुपैयाँ लिएको थियो । तामाङ मात्र होइन, यो प्रक्रियामा नौकुण्ड गाउँपालिका–३ का बेले पनि म्यानपावर कम्पनीलाई यसैगरी पैसा बुझाए । नेपालमा रहँदा मजदुरी गरेर जीविका चलाउँदै आएका उनी नियमित काम नपाएपछि विदेश गएर धेरै पैसा कमाउने सोच बनाए । म्यानपावर कम्पनीले पनि राम्रो कमाइ हुने प्रलोभन देखायो । कोरोना महामारीका कारण नेपालमा काम पाउने अवस्था नदेखिएकाले दिक्क भई विदेश जाने योजना बनाएर गएको घलेले बताए । 

तामाङ र घलेसहित नौकुण्ड गाउँपालिका का ६ जना युवा गत २४ डिसेम्बरमा वैदेशिक रोजगारीका सिलसिलामा दुबई प्रस्थान गरेका थिए । तर, उनीहरू चार महिना नबित्दै स्वदेश फर्किसकेका छन् । विदेश पुगेर पैसा कमाउने लक्ष्यसहित गएका उनीहरू पैसा कमाउनु त परै जाओस्, प्रतिव्यक्ति चार लाख रुपैयाँसम्म ऋण बोकेर घर फर्र्किएका छन् । 

दुबई पुगेपछि दुई दिन सडकमै अलपत्र
म्यानपावर कम्पनीले नै व्यवस्थापन गरी उनीहरूलाई विदेश लगेको हो । दुबईको आसमान न्यु सोनिया भन्ने स्थानमा पुगेपछि उनीहरूलाई म्यानपावरले भनेजस्तै गरी कोही मानिस लिन आउनुपर्ने थियो । तर, कोही आएन । त्यसदिन आफूहरूले सडकमै रात कटाएको घले बताउँछन् । भोलिपल्ट कम्पनीले भनेको एक नेपाली उनीहरूलाई लिन आए । 

नौकुण्ड गाउँपालिका–२ का मेन्दो लोप्चनका अनुसार नेपालबाट गएको करिब १५ दिन त कुनै पनि काम पाइएन । त्यसपछि चकलेट प्याकिङ गर्ने एक कम्पनीमा काम दिइयो । नेपालमा जस्तो कामका लागि भनेर म्यानपावरले पैसा लिएको थियो, त्यस्तो काम नपाएपछि उनीहरूले आठ दिनमै काम छाडे । काम छाडेपछि दुई दिन सडकमै बिताए । सडकमै अलपत्र परेका उनीहरूले दुबईमै कम्पनीको एजेन्ट रहेका नेपालीलाई लगातारको फोन सम्पर्कपछि आफूहरूलाई काममा लगाइदिन अनुरोध गरे । तर, ती एजेन्टले काम गर्ने भए यसमै गर, नत्र घर पठाइदिन्छु भनी धम्की दिएको लोप्चनले बताए । 

निकै प्रयासपछि ६ मध्ये तीनजनालाई दुई दिनपछि काम दिइयो । बाँकी तीनजनाले ६ दिनपछि इलेक्ट्रोनिक सामान प्याकिङ गर्ने कामका लागि नयाँ कम्पनीमा काम पाए । त्यहाँ उनीहरूले तीन महिना काम गरे । तर, काम गरेको पैसा पाएनन् । दैनिक १२ घन्टा काम गर्नुपर्ने हुन्थ्यो । म्यानपावरको मान्छेले दुबई पुगेर कामदार भिसा लगाइदिन्छु भनेकोमा त्यो पनि गर्न सकेन । उनीहरू भ्रमण भिसामा गएका थिए । भ्रमण भिसाको अवधि छोटो हुन्छ । कामदार भिसा नपाएपछि उनीहरू त्यहाँ अवैध बनिसकेका थिए । दुबई आएको धेरै दिन बित्दासमेत भनेजस्तो काम नपाएपछि जरिवाना लाग्न सुरु भइसकेको पत्ता पाएको लोप्चनले बताए । कामदार भिसा नलाएसम्म जरिवाना एजेन्टले नै तिरिदिने भनेको थियो । तर, त्यसो हुन नसकेपछि आफूहरूको काँधमा जरिवाना थपिएको उनको भनाइ छ ।

नौकुण्ड गाउँपालिका–२ का नेमाछिरिङ तामाङका अनुसार भिसा म्याद गुज्रेको जरिवाना, नेपालबाट दुबई पुग्दा लागेको खर्च र दुबईबाट नेपाल फर्कदासमेत लागेको पैसा जोड्दा चार लाखसम्म प्रतिव्यक्ति ऋण लागेको छ । भिजिट भिसामा गएर जति लामो समय अवैध बस्यो, उति कडा कानुन लाग्ने भएकाले घरबाटै पैसा पठाउन लगाएर आफूहरू नेपाल फर्किएको उनले जानकारी दिए । 

१५ अप्रिलमा उनीहरू काठमाडौं झरेका थिए । भिजिट भिसाको अवधि तीन महिनाको मात्र थियो । त्यो अवधि सकिएपछि त्यहाँको सरकारले उनीहरूमाथि जरिवाना लगाउन थालेको हो । एकातर्फ जरिवाना र अर्कोतर्फ बेरोजगार बस्नुपर्ने भएपछि नेपाल फर्कनुको विकल्प नभएको छिरिङले बताए । मासिक १८ सय युएई दिराम तलब भनेर गए पनि काम नपाएपछि निरीह बनेर फर्कनुपरेको उनी बताउँछन् । ‘नेपालबाट जाने वेलामा महिनाको १८ सय युएई दिराम तलब भनियो । त्यो भनेको नेपाली ५० देखि ६० हजार रुपैयाँ हुने थयो, तर त्यहाँ हामीले तीन महिना १५ दिन काम गर्‍यौँ, दैनिक १२ घन्टा काम गनुपथ्र्यो, काम गरेको तीन सय सय मात्र दियो, अरू दिएन,’ नेमाछरिङ तामाङले भने । 

भिजिट भिसाको जोखिम थाहा नहुँदा ठगीमा
भिजिट भिसामा काम गर्न जान नपाइने नियमबारे थाहा नहुँदा आफूहरू ठगिएको उनीहरू बताउँछन् । दुबईमा पुगेपछि कामदार भिसा लगाइदिन्छ भन्दै म्यानपावरले प्रतिव्यक्ति एक लाख ८० हजार रुपैयाँ लिएको थियो । यो रकम तीन महिना काम गर्दा तिरिसक्ने र त्यसपछिको कमाई आफ्नो हुने आश्वासन कम्पनीले दिएको थियो । नेपालबाट जाने क्रममा समेत घुम्न जाने भनेरै उनीहरू उता पुगेका थिए ।

त्यसका लागि चाहिने कागजात कम्पनीले मिलाइदिएको थियो । यो समूहमा नौकुण्ड–२ कै सार्किमान तामाङ र लामाकार्पाे तामाङसमेत थिए । यीसँगै अन्य दुई गरी चार युवा यसअघि पनि विदेशमा काम गरेर फर्किएका थिए । तर, उनीहरूलाई समेत भिजिट भिसाको जोखिमबारे भने थाहा थिएन । विदेशमा चार महिनाको सास्ती र टाउकोमा चार–चार लाख ऋण बोकेका यी ६ युवा अनिश्चित भविष्यबारे चिन्तित छन् ।

स्वदेश फर्किएको दिन नै ६ युवाहरूले म्यानपावर कम्पनीमा सम्पर्क गरेका थिए । त्यतिवेला अहिले कोरोना महामारी रहेको, आफूहरू घरमै बसेको र पछि कुरा गरौँला भन्दै म्यानपावर कम्पनी पन्छिएको पीडित युवाहरूको गुनासो छ । उनीहरू नेपाल फर्किएको पनि साढे दुई महिना बितिसकेको छ । आफूहरूको पैसा फिर्ता गर्न कम्पनीलाई अनुरोध गर्दा अन्य देश वा कुवेत जाने भए निःशुल्क पठाइदिने भनी प्रलोभन दिन थालेको फिन्जो तामाङले बताए ।

‘हामीले नेपाल आइपुग्नासाथ कम्पनीलाई हाम्रो पैसा फिर्ता गर्नु भन्दा कोरोना छ, घरमा छौँ, पछि कुरा गरौँला केही हुँदैन भनेको थियो,’ उनले भने, ‘अहिले पैसा माग्दा अरू देश जाने भए पठाउँछौँ, अब राम्रो हुन्छ भन्छ, हामी नजाने, पैसा फिर्ता दिनु भनेको कहिले के भन्छ कहिले के भन्छ ।’ आफूहरूको लागेको रकम फिर्ता नगरे कानुनी प्रक्रियामा जानेसमेत उनीहरूले बताएका छन् ।