मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज ३ आइतबार
  • Sunday, 19 September, 2021
पुरञ्जन आचार्य
२०७८ श्रावण १७ आइतबार १०:२६:००
Read Time : > 6 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

प्रधानमन्त्री देउवामा ‘दम’ छ ? 

अग्रलेख

Read Time : > 6 मिनेट
पुरञ्जन आचार्य
२०७८ श्रावण १७ आइतबार १०:२६:००

आफ्नै साथीलाई पैसाले पेल्न प्रधानमन्त्री भएका होइनन् भनी प्रमाणित गर्ने हो भने देउवा पुनः सभापतिमा उठ्न हुँदैन

सुशील कोइराला कांग्रेस सभापतिमा फेरि उठ्ने योजना बनाउँदै थिए । देशभरि कांग्रेसको गाउँ, वडा र जिल्ला अधिवेशन सुरु भएको थियो । मलाई उहाँले फोन गरेर आफ्नो निवासमा बोलाउनुभयो र भन्नुभयो– अब मैले कांग्रेस सभापतिमा उठ्ने निर्णय सार्वजनिक गर्नुपर्छ । पत्रकार सम्मेलन गरौँ ।

मलाई सुशीलदाको कांग्रेस सभापतिमा फेरि उम्मेदवारी दिने सोच उचित लागेको थिएन । तर, उहाँले शेरबहादुर देउवालाई पार्टी सुम्पिन सकिन्न । मबाहेक शेरबहादुरलाई अरूले जित्न सम्भव छैन भनी अनेक कुतर्क दिएपछि मलाई बहस गर्नु निरर्थक लाग्यो । सुशीलदाले भन्नुभयो– मैले दिलेन्द्र बडूजीलाई पनि यस सम्बन्धमा केही भनेको छु, उहाँसँग समन्वय गरी पत्रकार सम्मेलन गर्ने कुरा गरौँ । मैले दिलेन्द्र बडूजीलाई सम्पर्क गरेँ । उहाँले दार्चुलामा छु भन्नुभयो । म विराटनगर जान विमानस्थलतर्फ हिँडेँ ।

विराटनगरमा बेलुकी अतुल कोइरालाको फोन आयो । उहाँले भन्नुभयो– सुशीलदा अब रहनुभएन । म अवाक् भएँ । सुशीलदाले अब पार्टी सभापति भएपछि ‘यसो गर्छु र उसो गर्छु’ भनी बनाएका योजना म रातभरि सम्झेर बसेँ । पछि दिलेन्द्र बडू र मैले बिचरा सुशीलदा भनी उहाँका कार्ययोजनाबारे संक्षिप्त टिप्पणी गर्‍यौँ ।

सुशीलदालाई सम्झिँदा वर्तमान संविधान नसमाती अधुरै हुन्छ । जबसम्म यो संविधान छ, तबसम्म तपाईं चिरस्थायी हुनुभयो भनी मैले उहाँलाई सभापतिमा नउठ्नुस् भनेका कुराको अहिले कुनै अर्थ छैन । जीवनको उत्तरार्धमा सुशीलदाले संविधान निर्माणजस्तो महान् कार्य गरेर पनि खुद्रा मसिना र केही स्वार्थी समूहको आकांक्षा पूरा गर्न अक्षम्य भुल गर्नुभयो । कांग्रेस नेताहरूले जीवनको उत्तरार्धमा महान् कार्य गरेर इतिहास बनाएका छन् । जीवनको उत्तरार्धमा बिपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर अगाडि आउनुभयो । जेलजीवनको आठ वर्ष र प्रवासको अत्यन्त कष्ठदायक पीडाबाट गुज्रिएपछि बिपीबाट मेलामिलाप नीति अगाडि आयो । मेलमिलाप नीतिको प्रवर्धन गर्दा बिपीले कांग्रेस सभापति पदबाट मुक्त हुन रुचाउनुभयो । र, कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति बनाउनुभयो । 

बिपीको मेलमिलाप नीतिले नेपालको राजनीतिक वातावरणमा लोकतान्त्रिक हावा चल्यो । समाज खुकुलो भयो । दुईवटा सशस्त्र क्रान्तिको असफलता मेलमिलापको पृष्ठभूमिमा थियो । आज बिपीलाई स्मरण गरिन्छ भने ००७ सालको क्रान्तिनायक र जीवनको उत्तरार्धमा लिएको मेलमिलापवादी नेता भनेर नै बढ्ता चिनिन्छ । बिपी कांग्रेस सभापति भएर गरेका काम के थियो, कुनै नेपाली नागरिक र इतिहासकारले स्मरण गर्दैनन् । किनकि, यी दुवै जिम्मेवारी पूरा गर्दा बिपी कांग्रेस सभापति हुनुहुन्थेन । 

बिपीको अनुपस्थितिमा गणेशमान सिंहले कांग्रेसलाई ‘यु’टर्न दिँदा नेपालमा लोकतन्त्र आयो, निरंकुशतन्त्र ढल्यो । यो तब मात्र सम्भव भयो, जब कांग्रेस र कम्युनिस्ट एक ठाउँमा आए । एक दशक अगाडिसम्म कांग्रेस र कम्युनिस्ट मिल्नु असम्भवझैँ लाग्थ्यो, तर जीवनको उत्तरार्धमा गणेशमान सिंहले यो गरेर देखाए । गणेशमान राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय नायक बने ।

जीवनको उत्तरार्धमै भएका कारण गणेशमानले आन्दोलनबाट प्राप्त सत्ता अर्थात् प्रधानमन्त्री पद कृष्णप्रसाद भट्टराईलाई सुम्पे । उनलाई लाग्यो, प्रधानमन्त्री पद ‘फुल टाइम’ हो । तसर्थ, फुल टाइम प्रधानमन्त्री देशलाई चाहिन्छ । गणेशमानको आफ्नै तन्दुरुस्तीबारेको मूल्यांकन अतुलनीय थियो र उनीपछि आउनेका लागि प्रेरणादायक पनि । तर, कसैले पछि गणेशमानबाट प्रेरणा लिन चाहेनन् । 

गिरिजाप्रसाद पनि जीवनको उत्तरार्धमा माओवादीलाई शान्ति–प्रक्रियामा ल्याएर देश र आफ्नो नयाँ इतिहास रच्न सफल भए । जब उनले राष्ट्रिय एजेन्डा ‘शान्ति–प्रक्रिया’लाई समाते, पार्टी उनका लागि गौण भयो । पार्टी नेतृत्व पनि उनले अरूलाई नै जिम्मा लगाए । आज गिरिजाप्रसादलाई सम्झिँदा शान्ति–प्रक्रियालाई सम्झिनुपर्ने हुन्छ । भविष्यको पुस्ताले सम्झिँदा लोकतन्त्रवादी नेताले कम्युनिस्टसँग मिलेर देशमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता स्थापित गरेको भनी सम्झिनेछन् । 

अहिले केही क्षेत्रबाट शान्ति–प्रक्रियालगायत गणतन्त्रको आलोचना हुन सक्छ । यो स्वाभाविक पनि हो । कैयौँ शताब्दी बितिसक्दा पनि अझै पेरिसका केही सम्भ्रान्तहरू फ्रान्समा राजतन्त्र उदयको सपना पालेर बसेका छन् । त्यही नारामा चुनावमा भोट पनि माग्छन् । नेपाल गणतन्त्र भएको भर्खरै हो । परिवर्तनलाई स्विकार्न सहजै सबै तयार हुन सक्दैनन् । यो समाज विज्ञान हो । 

माथि कांग्रेस नेताहरूको जीवनको उत्तरार्धको पृष्ठभूमिमा देउवा कस्तो प्रधानमन्त्री हुने र कसका लागि हुने भनी प्रश्न उठाउने समय यही हो । उनी फेरि पनि सभापति कसका लागि र किन हुने भन्ने प्रश्न उठाउने समय पनि यही हो । मलाई सम्झना छ, गिरिजाप्रसाद र सुशील कोइराला जब पार्टीसत्ता र राज्यसत्ताको चाहना राख्थे, तब यी दुवैका अगाडि केका लागि भनी प्रश्न गर्नेहरूको कमी थिएन । कांग्रेस संस्कृतिमा नेतासँग केका लागि र किन भनेर प्रश्न गर्ने क्षमता छ । त्यसैले, देउवासामु पनि त्यस्ता प्रश्न उठाउनुपर्छ ।

प्रधानमन्त्री देउवासामु केही प्रश्न छन् । देउवासामु मात्र होइन, उनलाई सघाउने र उनको हित प्रवर्धन र संवर्धन गर्ने उनको टिमसामु पनि इतिहासले केही प्रश्न उठाइरहेको छ । पहिलो देउवा किन र कसका लागि फेरि कांग्रेस सभापतिमा उठ्ने ? दोस्रो, के उनले पार्टी सभापतिमा उठेर प्रधानमन्त्रीको जिम्मेवारीप्रति न्याय गर्न सक्लान् ? किन यी दुई प्रश्न उठाएका हुन् भने प्रधानमन्त्री पद तन्दुरुस्त मानिसका लागि पनि ‘फुलटाइम जब’ हो । जसरी तीन दशकअगाडि गणेशमानले प्रधानमन्त्री पदको गहनता र जिम्मेवारी बुझेर कृष्णप्रसादलाई त्यो पद सुम्पिए । अहिले देउवाले गणेशमानबाट प्रेरणा लिएर कम्तीमा पनि पार्टी सभापति पद अरू कसैलाई सुम्पेर आफू मुक्त हुन सक्छन्, यो जिम्मेवारीबाट । 

देउवाले प्रधानमन्त्री र पार्टी सभापतिको दोहोरो जिम्मेवारी किमार्थ निभाउन सक्दैनन् । फेरि पनि पार्टी सभापतिमा उठ्ने चाहनाले उनी प्रधानमन्त्री पदमा अनेक कुरूप र भद्दा सम्झौता गर्न बाध्य हुनेछन् ।

सम्भव भए पार्टी सभापति पद अहिले कुनै जिम्मेवारीमा नभएका आफ्नै घनिष्ठ मित्र रामचन्द्र पौडेललाई नै हस्तान्तरण गर्न पनि सक्छन् देउवाले । देउवालाई अहिले प्राप्त हुन आएको प्रम पद रामचन्द्रको क्रियाशीलता र मिहिनेतको पनि फल हो भन्न सकिन्छ । देउवाबाट पौडेलमा सभापति पद जाँदा कांग्रेसले आफ्नो पार्टी संस्कारको निरन्तरता पनि भेट्छ । र, शान्तिपूर्ण पार्टी नेतृत्वको हस्तान्तरण प्रक्रिया पनि उदाहरणीय बन्न सक्छ । वरिष्ठ नेता रामचन्द्रमाथि त्यसपछि स्वतन्त्र र निष्पक्ष कांग्रेसको १४औँ महाधिवेशन गराउने जिम्मेवारी आउँछ । यसरी पार्टीभित्र एउटा नयाँ र स्वस्थ वातावरण बनाउन सम्भव हुन्छ ।  

वर्तमान प्रधानमन्त्री देउवा किमार्थ दोहोरो जिम्मेवारी निभाउन सक्दैनन् । फेरि पार्टी सभापतिमा उठ्ने देउवाको चाहनाले उनी प्रधानमन्त्री पदमा अनेक कुरूप र भद्दा सम्झौता गर्न बाध्य हुनेछन् । पूर्वप्रधानमन्त्री ओलीजस्ता वाक्पटुले त भ्रष्टाचार छोप्न सकेनन् भने देउवा उदांगिन केही समय लाग्दैन । 

राजनीतिकर्मीको गतिविधिलाई सामाजिक सञ्जालबाट ‘माइक्रोस्कोप’ लगाएर हेर्न थालिएको छ अहिले । र, खुसीको कुरा के छ भने यसमा युवा सक्रियताले नवीन चेतना प्रवाह गर्दै छ, राजनीतिमा । पूर्वप्रधानमन्त्री ओलीलाई अहिलेका प्रधानमन्त्री देउवाले सत्ताको दुरुपयोग गरे भनेर भनेका हुन् र ? होइन । देउवा तिनै सञ्जालमा छाएका युवा र नागरिक समाजको बोली पछ्याउन बाध्य भएका मात्र हुन् । 

नेपालमा सत्तामा पुग्न आकांक्षा नराख्ने युवा जमात र नागरिक समाज निर्माण भएको छ अहिले, यो नेपालको लोकतन्त्रका लागि सबैभन्दा महान् उपलब्धि हो । बेलायतको संसदीय इतिहास सत्तामा पुग्न नचाहने तीन सय किसानको इतिहास हो । यिनै तीन सय किसानले त्यहाँको लोकतन्त्रलाई प्रारम्भिक दिनमा पारदर्शी र उत्तरदायी बनाएका हुन् । यिनैलाई ‘ब्रिटिस जेन्टलम्यान’ भनी पछि इतिहासमा नामकरण पनि गरियो । नेपालको लोकतन्त्रमा पनि आधुनिक जेन्टलम्यानको कमी छैन । 

वर्तमान नेपालमा असत्य, अक्षम र अयोग्य नेतृत्वलाई निरन्तरता दिने पक्षमा पार्टीबाहिरका युवा तयार छैनन् । पार्टीभित्रका युवाका अनेक बाध्यता र निर्भरता हुन सक्छ । इतिहासको त्यो कालखण्डमा नेपालमा क्रान्तिको नयाँ बिगुल बज्नेछ, जब पार्टीबाहिरका युवा, जो सामाजिक सञ्जालबाट संगठित हुँदै छन् र पार्टीभित्रका युवा जो अनेक कारणले अहिले पार्टीभित्र ‘दब्बु’ छन्, बीच समागम हुनेछ । त्यो दिन पार्टी राजनीति मात्र होइन, नेपालकै समग्र राजनीतिले नयाँ इतिहास रच्नेछ । 

प्रधानमन्त्री देउवाले आफ्ना प्रत्येक निर्णय पार्टीबाहिरबाट योग्यताको कसीमा हेरिनेछन् भनी स्वास्थ्यमन्त्रीको नियुक्तिलाई लिएर उठेको सुनामीबाटै बुझिसकेकै होलान् ।  

एमाले पार्टीका एकजना मेरा मित्रले केही अगाडि मलाई बडो खिन्न भएर भन्दै थिए– ओलीले टन्न पैसा कमाएका छन् । प्रधानमन्त्री पनि छन् । अब हामीलाई पेल्छन् भनेर । यस्तै भनाइ वर्तमान प्रम देउवालाई लिएर पनि छ कांग्रेसभित्र । कांग्रेसजन नै भन्छन्– देउवासँग टन्नै पैसा छ । पार्टी महाधिवेशनमा पेल्छ । देउवा जीवनको उत्तरार्धमा आफ्नै साथीलाई पैसाले पेल्न प्रधानमन्त्री भएका होइनन् भनी कसरी प्रमाणित गर्ने ? यहाँ उनले त्याग देखाउन सक्नुपर्छ । र, यो त्याग भनेको पार्टी सभापतिमा नउठ्नु नै हो । 

प्रधानमन्त्री भएका शेरबहादुर देउवाको इतिहास कस्तो बन्ला आजको १८ महिनापछि ? के उनी फेरिएलान् ? के उनको नेतृत्वमा कांग्रेस फेरिएला ? अहिले जति समयका लागि देउवा प्रधानमन्त्री छन्, आजभन्दा ६ दशकपहिले बिपी कोइराला यतिकै समयका लागि मात्र एकपटक देशका प्रधामन्त्री भएका हुन् । तैपनि, आजपर्यन्त बिपीको माला जपेरै कांग्रेस र कांग्रेसजन बाँचेका छन् । प्रधानमन्त्री देउवाको नाम कसले जुराएको हो, थाहा भएन । तर, विगतको प्रधानमन्त्री कालमा उनी न ‘शेर’ देखिए न उनको ‘बहादुरी’ नै कतै देखियो । यसपटक नामअनुसारको काम यिनले गर्लान् कि भनी कांग्रेसीले मात्र भए पनि अपेक्षा गरेका छन् । 

देउवासँग ब्रह्मास्त्र छ अहिले । उनी कुनै पनि समय संविधानमा टेकेर ताजा जनादेशमा जान सक्छन् । नेपालको संविधानको धारा ७६ (५) ले यो छुट उनलाई दिएको छ । तर, यसको प्रयोग गर्दा विवेक र संयम उनले राख्न सक्नुपर्छ । गठबन्धनसँग कुनै कुरूप र भद्दा सम्झौता नगर्नका लागि मात्र यो ब्रह्मास्त्र उनलाई संविधानले प्रदान गरेको हो । 

पार्टीको इमेज कसरी तल झर्छ भनी देउवाले आफूले नियुक्त गरेका स्वास्थ्यमन्त्रीविरुद्धको लहर सामाजिक सञ्जालमा छाएपछि बुझे होलान् । स्वास्थ्यमन्त्रीको नियुक्ति ‘मेरिटकै’ आधारमा भएको भए पनि सन्देश देउवाले पार्टी महाधिवेशनमा पैसाको जोहो गर्न उमेश श्रेष्ठलाई स्वास्थ्यमन्त्री ‘अवार्ड’ गरे भन्ने नै गयो । सन्देश यतिमै मात्र सीमित छैन । 

जीवनको उत्तरार्धमा देउवाको ‘दम’ परीक्षणमा छ । उनी फेरि सभापति वा प्रधानमन्त्री हुन्छन् कि हुँदैनन् भनेर उनको मापन हुँदैन । उनी कस्तो कांग्रेस छाडेर जान्छन् ? उनको मापन यहाँबाट हुनेछ । उनी प्रधानमन्त्री भएर १८ महिनामा के गर्छन् र उनलाई नेपाली जनताले के कार्यका लागि सम्झिन्छन्, यसबाट उनको मापन हुन्छ । कांग्रेसका यसअघिका सभापतिहरूले जीवनको उत्तरार्धमा ऐतिहासिक काम गरेर गएका छन्, अपवाद हुने कि इतिहास निर्माण गर्ने ? देउवालाई छनोटको छुट छ ।