कांग्रेस नेता शेखर कोइरालाले क्रियाशील सदस्यताको विषयमा छिनोफानो हुन नसक्दा निर्धारित समयमै महाधिवेशन सम्पन्न हुने कुरामा संशय बढेको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेखेर कोइरालाले यही कारण पार्टीभित्र चिन्ता बढेको बताए ।
उनले लेखेका छन्, ‘नेपाली कांग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया जारी छ। तर, पूर्वनिर्धारित कार्यतालिकाको पालना भएको छैन। अहिलेसम्म क्रियाशील सदस्यको अन्तिम छिनोफानोसमेत हुन सकेको छैन। यसले समयसीमाभित्र महाधिवेशन सम्पन्न हुने कुरामा संशय बढेको छ। र, पार्टीको सम्पूर्ण साथीहरूमा गहिरो चिन्ता छाएको छ। संविधानतः आगामी भदौ २३ गते कांग्रेस पार्टीको वैधानिकता समाप्त हुँदै छ भन्ने हामीलाई हेक्का छ कि छैन भनेर प्रश्नसमेत गरेका छन् । ‘पार्टी विधानमै नभएको नयाँ अभ्यास जारी छ, अर्थात् पदाधिकारी र पूर्वपदाधिकारीहरूको निरन्तर बैठक बस्ने, तर महाधिवेशन प्रक्रिया अघि नबढ्ने यो कस्तो चाला हो ? यसको जवाफ कसले दिने ? पार्टीका सबै साथीहरूको चाहना छ, संवैधानिक सीमाभित्र हाम्रो महाधिवेशनका सम्पूर्ण प्रक्रिया अघि बढिसक्नुपर्छ, अन्यथा कांग्रेसले वैधानिकता गुमाउने निश्चित छ। यसबाट हामी उम्कने बाटो छैन। लोकतान्त्रिक अभ्यासको पाठशाला ठानिने हाम्रो पार्टीले आफ्नो महाधिवेशनसमेत समयभित्र सम्पन्न गर्न सकेन भने आउने पुस्ता, समाज र हाम्रा शुभेच्छुकहरूलाई के जवाफ दिने ? तसर्थ पार्टी महाधिवेशनको प्रक्रिया अविलम्ब सुचारु गरियोस् भन्ने आग्रह छ,’ उनले लेखेका छन् ।