मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २३ मंगलबार
  • Wednesday, 08 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २३ मंगलबार १३:o४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भूकम्पको क्षतिको विवरण बुझ्न सशस्त्रका दुई हजार जनशक्ति परिचालन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २३ मंगलबार १३:o४:oo

मंगलबार बिहानको भूकम्पबाट भएको क्षतिको विवरण बुझ्न सशस्त्र प्रहरीले दुइ हजार जनालाई परिचालन गरेको  छ । कोशी, मधेश र बागमती प्रदेशमा रहेका युनिटहरूबाट दुइ हजार  जना  परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डिआइजी कुमार न्यौपानेले बताए । उनका अनुसार  हालसम्म प्राप्त विवरणअनुसार भूकम्पबाट सामान्यबाहेक ठुलो क्षति नभएको पाइएको छ ।

भूकम्पको धक्काले आत्तिएर घरको छतबाट हाम फाल्दा काठमाडौंको स्युचाटारमा एकजना व्यक्ति घाइते भएका छन् । उनको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । यसैगरी, बाराको कलैया उपमहानगरपालिका– १ देवकोटास्थित त्रिचन्द्र माविका ११ जना विद्यार्थी बेहोस भएका छन् ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ४ स्थित प्रहरी चौकी भवन, रामेछापमा एउटा गोठ तथा ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा क्षति पुगेको प्रारम्भिक सूचना आएको छ । आज बिहान ६ बजेर ५० मिनेट जाँदा चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर  ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सशस्त्र प्रहरी बल नेपालमा हाल १०९ जना गोताखोर सहित २१०५ जना विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्ति कार्यरत रहेका छन्। सशस्त्रमा विपद् खोज तथा उद्धारको लागि बाहिनी, शिक्षालय तथा गणहरुमा प्लाटुन नफ्रीमा, गुल्महरुमा प्लस सेक्सन र अस्थायी कार्यालयहरुमा सेक्सन नफ्रिमा २४ सै घण्टा आवश्यक खोज तथा उद्धारका सामग्रीहरु सहित स्ट्याण्डवाई रहने व्यवस्था मिलाइएको छ।

भूकम्प लगायत विभिन्न विपद् जन्य घटनाहरुमा पीडितहरुलाई आपतकालिन राहत तथा पुर्नस्थापना गर्नको लागि १३ जिल्लामा रहेका १५ वटा सशस्त्र प्रहरी बल, नेपाल कार्यालयहरुमा प्रति कन्टेनर २० जना मानिसहरुको लागि पुग्ने ५ वटा टेन्ट र १०० जना मानिसहरुलाई पुग्ने गैह्र खाद्य सामग्री रहेका आपतकालिन विपद् राहात सामग्री सहितका २८ वटा कन्टेनरहरु मौज्दात रहेका छन्।