बझाङको केदारस्युँ गाउँपालिकामा प्रसूतिका लागि अस्पताल लैजाने क्रममा बाटोमै बच्चा जन्माएकी एक महिला र नवजात शिशुको मृत्यु भएको छ। केदारस्युँ गाउँपालिका– १ डुडिलकी २१ वर्षीया खिना (सविता) बोहराको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको हो।
आइतबार रातिबाट सुत्केरी बेथाले च्यापेपछि खिनालाई आफन्तले सोमबार बिहान स्थानीय रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरा लैजान खोजेका थिए। अस्पताल नपुर्याउँदै उनले भट्टे भन्ने ठाउँमा बाटोमै बच्चा जन्माएकी थिइन्।
अत्यधिक रक्तस्राव भएर सविताले बाटोमै ज्यान गुमाएको रायल प्राथमिक स्वास्थ्य चौकीका अहेव कमलकुमार मल्लले बताए। ‘वडा सदस्यले मलाई एक महिलाले बाटोमै बच्चा जन्माएको खबर गरेलगत्तै एम्बुलेन्स लिएर गएका थियौँ,’ मल्लले भने, ‘तर, अत्यधिक रक्तस्राव भएको रहेछ, बचाउन सकेनौँ।’ बिहानको कठ्यांग्रिने चिसोमा सुत्केरी र नवजात शिशुले न्यानो नपाएको उनले बताए।
सुत्केरी बेथाले च्यापेपछि आफन्तले उनलाई बिहानै अस्पताल लगेका थिए। उनले बिहान करिब ५ बजेतिर बच्चालाई जन्म दिएकी थिइन्। बच्चा जन्मिएपछि खिनाका नन्द र फुपू हँसिया माग्न स्थानीय पदमप्रसाद भट्टको घर पुगेका थिए। ‘हँसिया माग्न आएपछि मैले बाटोमै बच्चा जन्मिएको थाहा पाएँ,’ वडा सदस्यसमेत रहेका भट्टले भने, ‘त्यसपछि स्वास्थ्यचौकी फोन गरेर एम्बुलेन्स बोलाएको थिएँ, तर ढिलो भइसकेको रहेछ।’ शिशु घरबाहिर लैजाँदा सँगै हँसिया बोक्ने चलन रहेको उनले बताए।
भट्टका अनुसार खिना घरदेखि बच्चा जन्माएको ठाउँमा आफैँ हिँडेर गएकी थिइन्। खिनासँग उनकी सासू, ससुरा, नन्द र छिमेकी महिला थिए। अरूको सहारामा करिब २० मिनेट हिँडेपछि उनी थप हिँड्न नसक्ने भएर बाटोमै बसेकी थिइन्। ‘अगाडि हिँड्न सक्दिनँ भनेर बाटोमै बसिछिन्। केहीबेरमा बच्चा जन्मियो,’ भट्टले भने, ‘बच्चा जन्माएपछि उनी बेहोस भइन्, मैले लोटामा पानी लगेर खुवाएपछि अरूको सहारामा उठिन्, कम्मर बेस्सरी दुख्यो भन्दै थिइन्।’
अहेव मल्लका अनुसार खिनाले नियमित गर्भचाँज गराउने गरेकी थिइन्। पहिलाेपटक सुत्केरी भएकी उनलाई चिकित्सकले माघ २६ गतेलाई प्रसूति गराउने मिति दिएका थिए। महिलाको घरबाट स्वास्थ्य चौकी करिब सात किलोमिटरको दूरीमा रहेको मल्लले बताए।
सविताका श्रीमान् उमेश रोजगारीका लागि भारतमा छन्। घरमा सासू–ससुरा र दुईजना नन्द छन्। ‘आइतबार दिउँसोबाटै सविताको पेट दुखेको रहेछ। उनको घर नजिकसम्म एम्बुलेन्स जान्थ्यो,’ अहेब मल्लले भने, ‘समयमै खबर गरेको भए महिलाको ज्यान जोगाउन सकिन्थ्यो।’