१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ श्रावण १३ बुधबार १९:४५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनपसल लुटपाटको प्रयास गर्ने गिरोह पक्राउ, तर शक्तिशाली एसएमजी हतियारको रहस्य खुलेन

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ श्रावण १३ बुधबार १९:४५:००

मोरङको सुन्दरहरैँचा नगरपालिका– १० त्रिवेणी चोकमा रहेको सुनपसलमा डकैतीको प्रयास गर्ने गिरोहका ६ जना पक्राउ परेका छन् । तर, उनीहरूले प्रयोग गरेको शक्तिशाली हतियार एसएमजीको रहस्य भने खुलेको छैन । 

१ साउन दिउँसो १ बजेततिर त्रिवेणी चोकमा रहेको खगेन्द्र थापाको सुनचाँदी पसलमा एसएमजी हतियारसहित डकैती गर्ने असफल प्रयास गर्ने गिरोहलाई प्रहरीले १२ दिनपछि पक्राउ गरेको हो । एसएमजी उनीहरूले कहाँबाट ल्याएर प्रयोग गरे भन्ने प्रहरीले खुलाएको छैन । 

१ साउन दिउँसो ३ वटा मोटरसाइकलमा पेस्तोल र एसएमजी बोकेर आएको ६ जनाको समूहले सुनपसलमा लुटपाट गर्ने प्रयास गरेको थियो । तर, ग्राहक र पसलेहरूले होहल्ला गरेपछि डकैती गर्ने योजना असफल भएपछि भागेका ६ जनालाई मोरङ प्रहरीले प्रदेश १ प्रहरी ब्युरोको सहयोगमा लुकाएर राखेको हतियारसहित १२ दिनपछि पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा संखुवासभा सभापोखरी गाउँपालिका– ४ घर भई हाल इटहरी उपमहानगरपालिका– २० तरहरा बस्ने ३९ वर्षीय प्रकाश भन्ने चन्द्रबहादुर राई, सुनसरी गढी गाउँपालिका– १ का ४५ वर्षीय डाइमन्ड भन्ने प्रमोद चौधरी, संखुवासभा बारबिसे गाउँपालिका– ६ घर भई हाल इटहरी– २० तरहरा बस्ने ३० वर्षीय चिरञ्जीवी राई, मोरङको सुन्दरहरैँचा नगरपालिका– ५ का २२ वर्षीय मिसन राई, भोजपुर पौवादुम्मा गाउँपालिका– ३ घर भई हाल इटहरी तरहरा बस्ने ३० वर्षीय नगेन्द्र राई र मोरङ सुन्दरहरैँचा नगरपालिका– ७ का ३१ वर्षीय सन्तोष राई छन । प्रहरीले उनीहरूले लुटपाटका क्रममा प्रयोग गरेको एसएमजी र कटुवा पेस्तोल जंगलमा रूखको टोड्कामा लुकाएर राखेको अवस्थामा बरामद गरेको जनाएको छ ।

पक्राउ परेका सबैलाई डकैती, हातहतियार तथा खरखजनालगायत विभिन्न फैजदारी कसुरमा कारबाही चलाइने मोरङका एसपी ज्ञानेन्द्र जिसीले बताए । 

कहाँबाट प्राप्त भयो एसएमजी ?
प्रहरीले एसएमजी हतियार कहाँबाट उनीहरूले प्राप्त गरे भन्ने खुलाउन चाहेको छैन । एसपी जिसीका अनुसार उनीहरूले शक्तिशाली हतियार एसएमजी जंगलमा फेला परेको प्रारम्भिक बयान दिएका छन् । तर, प्रहरी यसमा सन्तुष्ट छैन । पक्राउ परेकामध्ये चन्द्रबहाखुर राई पूर्वसैनिक हुन् भने प्रमोद चौधरी पूर्वमाओवादी लडाकु हुन । उनीहरूमध्ये कसैले एसएमजी हतियार लुकाएर राखेको र लुटपाटमा प्रयोग गरेको हुन सक्ने प्रहरीको आशंका छन । एसपी जिसीले भने, ‘हामी अनुसन्धान गर्दै छौँ, एसएमजी कहाँबाट आयो त्यो रहस्य खुलाएरै छोड्छौँ ।’