१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ११ सोमबार
  • Sunday, 06 July, 2025
२o७८ श्रावण ११ सोमबार १३:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सेनाको प्राविधिक टोलीद्वारा क्षतिग्रस्त मनाङ सडकको अनुगमन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण ११ सोमबार १३:२o:oo

हिमाली जिल्ला मनाङमा बाढीपहिरोले क्षतिग्रस्त सडकको नेपाली सेनाको प्राविधिक टोलीले अनुगमन गरेको छ। मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बाढीले सडक र पुलमा पुर्‍याएको क्षतिबारे नेपाली सेनाको प्राविधिक टोलीले अनुगमन गरेको बताए। 

सेनाको हेलिकाेप्टरमार्फत मनाङ पुगेको सेनाको प्राविधिक टोलीले भ्राताङभिर, चामेको पुल र मनाङको तल्लो क्षेत्रमा बाढीपहिरोले क्षति पुर्‍याएको पुल र सडकको अनुगमन गरेको हो । नेपाली सेनाका महासेनानी इन्दिबर गुरुङको नेतृत्वमा चारजनाको प्राविधिक टोलीले बाढीपहिरोले पुर्‍याएको क्षतिबारे अध्ययन तथा अनुगमन गरेको हो। 

टोलीले शनिबार माथिल्लो मनाङको भ्राताङसहित चामे क्षेत्रको सडक अध्ययन–अवलोकन गरेको छ भने आइतबार चामेदेखि तल्लो क्षेत्रको अध्ययन अवलोकन गरेको प्रजिअ लामिछानेले बताए । उनका अनुसार सेनाले अनुगमनपश्चात् सडकको क्षतिबारे सरकारलाई अध्ययन प्रतिवेदन बुझाउनेछ। 

निरन्तरको वर्षासँगै विभिन्न खोलामा आएको बाढीले बेंसीसहर–चामे सडकको ठाउँठाउँमा सडक भत्किएको छ भने केही ठाउँमा बाढीले सडक बगाएको छ। असार १ को बाढीले बेंसीसहर–चामे सडक अवरुद्ध भएकाले खाद्यान्नलगायतका अत्यावश्यक सामानसमेत हेलिकाेप्टरको भर पर्नुपर्ने मनाङवासीको बाध्यता छ। 

मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले बाढीले मनाङमा सडक सम्पर्क टुटेकाले हवाईबाहेक अरू विकल्प नभएको बताए। जिल्लाको चारवटा स्थानीय तहमध्ये नार्पाभूमिबाहेक चामे, नासो र मनाङ ङिस्याङ गाउँपालिकामा असार १ को बाढीले क्षति पुर्‍याएको सशस्त्र प्रहरी बल मनाङका प्रमुख डिएसपी होमनाथ पन्थीले बताए। 

उनका अनुसार बाढी र पहिरोले सडक, गोरेटो र बस्ती बगाएको छ । ६५ किलोमिटरको बेंसीसहर–चामे सडकमा लमजुङखण्ड बेंसीसहर–म्यार्दी खोलासम्मको ३५ किलोमिटर सञ्चालनमा छ। म्यार्दीखोलादेखि चामेसम्मको ३० किलोमिटर सडकमध्ये तिमाङदेखि कातोसम्मको साढे सात किलोमिटर सडक पहिरो पन्छाएर सञ्चालनमा ल्याइए पनि बाकीँ २३ किलोमिटर सडक पूर्ण रूपमा बन्द छ। यस्तै चामेदेखि भ्राताङसम्मको तीन किलोमिटरको सडक पनि बाढीले बगाएपछि अवरुद्ध छ।