
केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपालले सत्तागठबन्धन र पार्टीभित्र दुवैतर्फ एकैपटक शक्ति बाँडफाँडमा बार्गेनिङ गरिरहेको भन्दै कटाक्ष गरेका छन् । दोस्रो तहका नेताका साथै सांसदहरूले दुवै शीर्ष नेतामाथि एकताका लागि लगातार दबाब बढाइरहेका वेला ओलीले नेपालका पछिल्ला गतिविधिमाथि कटाक्ष गरेका हुन् ।
वरिष्ठ नेता नेपाल शनिबार साँझ बालुवाटारमा आयोजित सत्तारुढ गठबन्धनको बैठकमा सामेल भएका थिए । पार्टीभित्र भने दोस्रो तहका नेताहरूले नेपाललाई सम्मानजनक भूमिकासहित एकतातिरै फर्काउने गरी गृहकार्य गरिरहेका छन् ।
‘हिजो पनि हामीले बालुवाटारमा हेर्यौँ, आफूलाई एमाले भन्दै गर्ने र विपक्षी मोर्चाको नेता हुँ भन्दै सामेल हुँदै गर्ने,’ अनेसंघको भर्चुअल अन्तक्र्रियामा आइतबार ओलीले भने, ‘हामीसँग यो चाहियो, त्यो चाहियो भन्दै गर्ने, अनि विपक्षी मोर्चाको नेता भएर कसरी एमालेलाई उठ्न नदिने भन्ने षड्यन्त्रका लागि बालुवाटार पुगेर गजक्क परेर बस्ने र बाहिर आएर मैले एमाले छोडेको छैन भन्न लाज पनि नहुने !’
ओलीले नेपालले शक्ति बाँडफाँडमा गरिरहेको दोहोरो ‘बार्गेनिङ लामो समय नचल्ने चेतावनी दिए । उनले त्यस्तो निर्लज्ज स्थितिबाट पार्टीलाई छिटो मुक्त गर्नुपर्नेमा जोड दिए । ‘यति निर्लज्ज स्थितिबाट पार्टी र आन्दोलनलाई मुक्त गर्नैपर्छ । लामो समय यसरी चल्नै सक्दैन,’ उनले भने ।