१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
टेकराज थामी काठमाडाैं
२०७८ श्रावण ८ शुक्रबार ०९:३०:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आलम आतंक : पीडितलाई न्याय नपाउने डर

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७८ श्रावण ८ शुक्रबार ०९:३०:००

आलमलाई छुटाउन रौतहट कांग्रेसको दौडधुप

रौतहट–२ का कांग्रेस सचिव लालबिहारी साहको नेतृत्वमा ६ जनाको टोलीले सोमबार गृहमन्त्री बालकृष्ण खाणसँग भेट गरेर आलमको रिहाइबारे चासो राखेका थिए ।

१२ वर्षदेखि न्यायको लडाइँ लडिरहेका रौतहट यमुना गाउँपालिकाका ८१ वर्षीय श्रीनारायण सिंहलाई ‘न्याय नपाउँदै’ मरिने हो कि भन्ने चिन्ता बढेको छ । सिंह राजपुर विस्फोटमा मारिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बुबा हुन् ।

बम विस्फोटको घटना न्यायिक प्रक्रियामा प्रवेश गरेको दुई वर्ष पुग्न लागेको छ । घटनाका मुख्य अभियुक्त तथा निलम्बित सांसद मोहम्मद अफ्ताब आलम पुर्पक्षका लागि जेलमा छन् । तर, पीडित परिवार न्याय पाउनेमा अझै विश्वस्त छैनन् । बरु, पछिल्लो बदलिँदो सत्तासमीकरणले पीडित परिवारलाई भयभीत बनाएको छ । 

१९ फागुनमा रौतहटको गढीमाई नगरपालिका– ६ सिगारमनमा विष्णु महायज्ञ उद्घाटनमा ‘आलमलाई जेलमुक्त गराउँछु’ भन्ने शेरबहादुर देउवा २९ असारमा प्रधानमन्त्री बने । देउवाको पाँच महिनाअगाडिको त्यही अभिव्यक्तिले पीडित अहिले भयभीत छन् ।

‘१२ वर्षसम्म केही भएन । धेरै संघर्षपछि आलम पक्राउ पर्‍यो । त्यसपछि अलिअलि भए पनि न्याय पाउने आशा पलाएको थियो । तर, अहिले मलाई फेरि अँध्यारो भएजस्तो लागेको छ,’ श्रीनारायणले भने, ‘आलमका मान्छेहरू अब ऊ जेलमुक्त हुन्छ भन्दै छन् । न्याय पाउने आस मर्दैै गएको छ । न्याय अब प्रधानमन्त्रीको खल्तीमा छ ।’

श्रीनारायणकै १२ वर्षको अनवरत लडाइँपछि राजपुर बम विस्फोट घटनाले न्यायिक प्रवेशमा औपचारिकता पाएको थियो । घटनाका मुख्य योजनाकार आलम पक्राउ परेका थिए । पुर्पक्षका लागि आलम जेल बसेको २२ महिना बितिसकेको छ । तर, श्रीनारायणलाई देउवा प्रधानमन्त्री बनेपछि मनमा शंका जागेको छ । 

देउवा प्रधानमन्त्री भएसँगै आलमका कार्यकर्ताबाट भएका गतिविधिले श्रीनारायण त्रसित छन् । ‘देउवा प्रधानमन्त्री बनेका दिन राजपुरमा अफ्ताबका मान्छेले खुसियाली पनि मनाए । एकजनाको टाउको पनि फुटाए,’ नयाँ पत्रिकासँग उनले गुनासो पोखे, ‘आलमका मान्छेले भनेजस्तै भयो भने के होला भनेर चिन्तित छौँ । न्याय नपाउँदै मरिएला भन्ने डर भयो ।’

जेलमुक्त भएकै दिनबाट पीडित मात्र होइन घटनाका साक्षीलाई समेत आलम र उनको कार्यकर्ताले बाँकी नराख्ने श्रीनारायणलाई डर छ । ‘आलमसँग मानवीय गुण छैन । ऊ राक्षसी प्रवृत्तिको मान्छे हो, राक्षसले त जहिले जे पनि गर्न सक्छ नि ! ’ उनले भने, ‘मलाई अहिले नै असुरक्षित महसुस भएको छ । ऊ छुट्यो भने मेरो के हुन्छ, यसै भन्न सक्दिनँ । साक्षीको पनि जीवन जोखिममा हुन्छ ।’

पीडितका पक्षबाट बहसमा उत्रिएका अधिवक्ता पुष्प पौडेलले पीडितमा त्रास बढेको बताए । ‘बदलिँदो पछिल्लो समीकरणपछि रौतहटको राजपुरमा आलमका समर्थकको चलखेल बढेको छ । उनीहरूले केही दिनअघि दीपावली गरे, पटाकादेखि बन्दुकसम्म पड्काए । आलम समर्थकका क्रियाकलापले पीडितमा त्रास पैदा गरेको छ,’ उनले भने, ‘विशेषगरी मृतक त्रिलोकका पिता श्रीनारायण र मुद्दाका साक्षी त्रसित बनेको मैले पाएको छु ।’ 

२६ असोज ०७६ मा आलम पक्राउ परेका थिए । जिल्ला अदालत रौतहटको आदेशपछि आलम पुर्पक्षका लागि नक्खु कारागारमा छन् । तर, उनको आतंक अझै जारी छ । मृतक ओसी अख्तरकी श्रीमती अमना खातुनले भने आलमविरुद्धको बयान फेरेकी छिन् । 

त्यसैबीच, आलमलाई छुटाउन रौतहटका कांग्रेस कार्यकर्ताले पनि दौडधुप थालेका छन् । सोमबार रौतहट– २ का कांग्रेस कार्यकर्ताले गृहमन्त्री बालकृष्ण खाणसँग भेट गरेका छन् । निलम्बित सांसद आलमले सोही निर्वाचन क्षेत्रबाट ०७४ मा चुनाव जितेका थिए । रौतहट–२ का कांग्रेस सचिव लालबिहारी साहको नेतृत्वमा ६ जनाको टोलीले गृहमन्त्रीसँग भेट गरेर आलमको रिहाइको विषयमा चासो राखेको थियो ।

मान्छेहरू भन्छन्– अब आलम छुट्छ : श्रीनारायण सिंह, आलमले जिउँदै भट्टामा पोलेर हत्या गरेका त्रिलोकप्रताप सिंहका बुबा

घटना भएको १२ वर्षसम्म ग्रहण लागेकोजस्तो भयो, कतैबाट न्याय पाइएन । जुन दिन प्रहरीले अफ्ताब आलमलाई पक्राउ गर्‍यो, त्यस दिन ग्रहण टुटेजस्तो भएको थियो । तर, आलम पक्राउ परेपछि मेरै गाउँका मानिस पनि डराएर साक्षी बस्न मानेनन् ।

बरु आलमकै गाउँका इमानदार मान्छेहरू मेरो साक्षी बस्नुभयो । र, अदालतमा इमानदारीपूर्वक घटनाबारे बयान दिनुभयो । अहिले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि आलमका मान्छे धेरै खुसी भएका छन् ।

उहाँ प्रधानमन्त्री भएकै दिन पनि आलमको गाउँमा दीपावली गरेर खुसियाली मनाइएको थियो । अब आलम छुट्छ भन्ने उनका समर्थक, आफन्त र हितैषीलाई लागेको छ । केही समयअघि देउवा धर्मपुर भन्ने गाउँमा महायज्ञमा भाग लिन आउनुभएको थियो ।

त्यसवेला उहाँले आलमलाई छुटाउन कुनै कसर बाँकी राख्दिनँ, कांग्रेसको सरकार आयो भने आलमलाई छुटाउँछु भन्नुभएको थियो । त्यसैले पनि उहाँ प्रधानमन्त्री भएपछि अब आलम छुट्छन् भन्ने धेरैलाई लागेको हो । 

मान्छेहरू भन्छन्, अब आलम निश्चित छुट्छ । मलाई पनि त्यस्तै लाग्दैछ । घटना भएको १२ वर्षसम्म हामी न्यायका लागि भौँतारियौँ । न्याय पाइन्छ भन्ने वेला कांग्रेस आलमको संरक्षणमा लागेको छ । उसकै कारण मुद्दाअगाडि बढ्न सकेन । कानुन, अदालत प्रधानमन्त्रीको खल्तीमा छ कि जस्तो लाग्छ । त्यसैले न्याय पाइँदैन कि भन्ने डर लाग्न थालेको छ । आलम छुट्यो भने के हुन्छ थाहा छैन ।

आलमले मलाई के गर्ला भन्ने पनि थाहा छैन । तर, आलमसँग मान्छेमा हुने गुण छैन । मानवीय प्रवृत्ति छैन । राक्षसी प्रवृत्ति भएको मान्छेले जे पनि गर्न सक्छ । त्यसैले ऊ छुट्यो भने जे पनि हुन सक्छ भन्ने लाग्छ ।