१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ६ बुधबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ६ बुधबार १४:१५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोनाको तेस्रो लहरको तयारीका लागि सरकारलाई विज्ञले दिए १८बुँदे सुझाब

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ६ बुधबार १४:१५:oo

स्वास्थ्यविद्हरूले कोरोना महामारी व्यवस्थापन र तेस्रो लहरको तयारीका लागि सरकारलाई सुझाब दिएका छन्। नेपाल जनस्वास्थ्य प्रतिष्ठानले प्रधानमन्त्री शेरबहादुर देउवालाई १८बुँदे सुझाब दिएको हो। उनीहरूले योग्य, क्षमता, सत्यनिष्ठ र इमानदार छवि भएका व्यक्तिलाई तत्काल स्वास्थ्यमन्त्रीमा नियुक्त गर्न भनेका छन्। उनीहरूले मन्त्रिपरिषद् फेरबदल हुँदा पनि स्वास्थ्यमन्त्री नफेरिने गरी योग्य व्यक्तिलाई नियुक्ति गर्न आग्रह गरेका छन्।

कोरोना रोकथामका लागि लकडाउन र सचेतनाका उपाय मात्र पर्याप्त नभएको भन्दै उनीहरूले उपचारका लागि स्वास्थ्य प्रणालीको क्षमतालाई अधिकतम स्तरमा बढाउन आवश्यक भएको बताएका छन्।  १८ वर्षभन्दा माथिकालाई यथाशीघ्र खोप लगाउन आग्रह गर्दै खोप कार्यक्रममा निजी क्षेत्रलाई सरकारी सहयोगमा संलग्न गराउन भनेका छन्।

अस्पतालमा बेड, एचडियू, आइसियू र भेन्टिलेटरको संख्या बढाउन विज्ञहरूको सुझाब छ। सिमानामा रहेका जनतालाई आवागमनको अनुगमन गर्न आधारभूत सुविधासहितको होल्डिङ सेन्टर स्थापना गर्न उनीहरूको सुझाब छ। अक्सिजन उत्पादनमा वृद्धि गर्न र स्थानीय तहमा अक्सिजन बैंक स्थापना गर्न उनीहरूले भनेका छन्।

केही निजी र मेडिकल कलेजलाई केही समय अस्थायी कोभिड अस्पतालमा परिवर्तन गर्न, महामारीको समयमा मानसिक स्वास्थ्य तथा नसर्ने रोगका बिरामीको सेवा सुनिश्चित गर्न आग्रह गरिएको छ। अस्पताल जानुपर्ने बिरामीका लागि सरकारले नि:शुल्क यातायात र विपन्नहरूको लागि खाध्य सुरक्षा सुनिश्चित गरेर मात्र बन्दाबन्दीको दुष्प्रभाव घटाउन सकिने उनीहरूको भनाइ छ। 

प्रत्येक वडा र पालिकाहरूमा केन्द्रिय तथ्यांक सूचना प्रणालीसँग जोडिएको सूचना पार्टी राख्न र खाद्य सुरक्षामा समेत ध्यान दिन उनीहरूको आग्रह छ। खोप र औषधिको क्लिनिकल ट्रायलमा कुनै संकोच नमानी संलग्न हुन सरकारलाई उनीहरूको आग्रह छ। अन्य देशमा थप परावर्तन भइरहेको भारतको डेल्टा भेरियन्टको सन्दर्भमा यसको म्युटेसन क्षमतालाई गम्भीरतापूर्वक लिन भनिएको छ। नेपालमा पनि यस्तो म्युटेसन हुन सक्ने भन्दै यसप्रति नेपालका वैज्ञानिकहरू सतर्क रहनुपर्ने उनीहरूको भनाइ छ।

अनुदान वा खरिद गरेर भए पनि खोप उपलब्ध गराउन कूटनीतिक नियोगको दक्षता दोब्बर हुन आवश्यक रहेको र आफ्नो जनसंख्याभन्दा धेरै गुणा बढी खोप भण्डारण गरेका पश्चिमा देशहरूको संकीर्ण राष्ट्रवादविरुद्ध आवाज उठाउनसमेत उनीहरूको आग्रह छ। 
विज्ञप्ति जारी गर्नेहरूमा डा. महेश मास्के, डा. अरुणा उप्रेती, डा. शरद वन्त, डा. शिवकुमार राई, डा. बद्रीराज पाण्डेलगायत छन्।