Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण ४ सोमबार १३:५३:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

२० वर्षअघि र २० वर्षपछिका यश कुमार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण ४ सोमबार १३:५३:००

‘तिम्रो मन बदलिएछ...’ गीत हालसालै युट्युबमार्फत सार्वजनिक भयो । गीतमा गायक यश कुमार र मिलन नेवारले स्वर दिएका छन् । तर, यो गीत नयाँ भने होइन यसले २० वर्षअघि नै ‘रिजन’ एल्बममा समेटेका थिए ।  आजभन्दा २० वर्षअघि गायक यश २० वर्षकै थिए । उमेर थियो, जोश थियो र ऊर्जा थियो । गीतार बोक्थे, गीत लेख्थे । संगीत भर्थे, आफैँ गाउँथे पनि । आफैँले लेख्नु, आफैँले संगीत भर्नु र आफैँले गाउनु, सजिलो थिएन । तर, उनले जोखिम उठाए ।

२०५८ सालमा ‘रिजन’ एल्बम बजारमा आयो । उक्त एल्बममा एक गीत थियो, ‘तिम्रो मन बदलिएछ...’ । यशकै शब्द, संगीत र यशकै स्वर । यो गीत सायदै लेख्ने थिए यशले, यदि उनको प्रेम सम्बन्ध नसकिएको भए । सानो ‘मिस अन्डरस्ट्यान्डिङ’ भएको थियो, जसले सम्बन्धको घरमा आगो लगाइदियो । त्यही आगोमा परेर यशको प्रेम सम्बन्ध खरानी भयो ।

 घटना ठूलो थिएन, बरु सानो गलत बुझाइ थियो । तर, अरूको कुरा सुनेर हिँड्दा सम्बन्ध सकियो । त्यो सम्बन्ध ‘सम्बन्ध’ मात्रै थिएन, सपना थियो । त्यो सम्बन्ध जिन्दगी थियो । त्यो सम्बन्ध वर्तमान थियो र भविष्य थियो, बाँच्नका लागि ऊर्जा थियो । ‘त्यो सम्बन्ध सकिएपछि म एक हिसाबले विचलित भएँ । सम्बन्ध मात्रै सकिएको थिएन, धेरै थोक सकिएको थियो,’ २० वर्षअघिको अधुरो सम्बन्ध सम्झिँदै यश भन्छन्, ‘यसपछि आफूलाई सामान्य बनाउन बहाना खोज्न थालेँ । त्यही बहानाको खोजीमा शब्द, संगीत जन्मियो । गीतमा त्यो प्रिय सम्बन्धलाई राखिदिएपछि अलि शान्त भएँ ।’

मायामा छुट्नुको एकै कारण हुन्छ । यशको अनुभवले भन्छ– प्रेम सम्बन्धमा जब जातको कुरा आउँछ, अनि प्रेम बीचबाटोमै अलपत्र पर्छ । जब वर्गको कुरा आउँछ, प्रेम यसैउसै सकिन्छ । बुझाइको कुरा आउँछ, प्रेम त्यहीँ अलमलमा पर्छ । ‘छुट्टिने वेला न कसैले कसैको कुरा गर्छन्, न सुन्ने सुनाउने मौका नै पाउँछन्,’ यश भन्छन्, ‘मात्रै अरूको कुरा सुनिन्छ र निर्णय लिइन्छ । अन्तिममा यसले दिने भनेको पछुतो मात्रै हो ।’ 

त्यसवेला यशलाई शब्द लेख्न खासै समय लागेन । शब्द तयार भएपछि संगीत भर्न पनि समय लागेन । त्यो संगीत र शब्द यशको बिछोडको पीडा थियो । यशको मनमा लागेको घाउ नै आलो थियो त्यसवेला । त्यो घाउ आलो भएकाले नै गीत तयार गर्न समय नलागेको बताउँछन् यश । तर, २० वर्षपछि पुनः रेकर्ड गर्दा भने अलि समय लाग्यो उनलाई । यशले जब पुनः गीत रेकर्ड गराउनेबारे सोचे, आफैँ झस्किए । भन्छन्, ‘यो गीत फेरि रेकर्ड गर्ने भन्ने सोच्नासाथ म विगतका ती दिनहरूमा पुगेँ । जति नै खराब भए पनि विगत भनेको विगत नै हो, त्यो मीठो नै हुन्छ ।’

अहिले पुराना गीतहरूको ‘रिमेक’ लगातार बजारमा आइरहेका छन् । पुराना गीतलाई स्रोता÷दर्शकले रुचाइरहेका पनि छन् । तर, नयाँ गीत नल्याएर पुरानै किन ल्याउने ? यशको जवाफ छ, ‘यो आवश्यक भएरै ल्याएको हुँ । अहिले भाइरल हुने जमाना छ । तर, हामीले संगीत क्षेत्रलाई समृद्ध बनाउन भाइरल गीत होइन, खास गीत नै ल्याउन आवश्यक छ । त्यसकारणले यो गीत ल्याएको हुँ मैले ।’ 

गीत सार्वजनिक भएको तीन दिनमै १० लाखभन्दा ज्यादाले हेरिसकेका छन् । गीतमा सागर लम्साल ‘बले’, प्रिस्मा र प्रिन्सी खतिवडाले मोडलिङ गरेका छन् । यस गीत ल्याउनुको कारण अझै खोल्छन् यश, ‘भाइरल हुन खोज्नु भनेको रोग हो । भाइरल हुनुलाई प्रचार–प्रसारको माध्यम बनाउनुहुन्न । यसकारण पनि यो गीत पुनः दर्शक स्रोतामाझ ल्याएको हुँ ।’