१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १८:४३:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार

विश्वासको मत माग्दै देउवाले भने– कोरोना नियन्त्रण पहिलो प्राथमिकता

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १८:४३:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन्। पुनर्स्थापित प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै देउवाले कोभिड– १९ को नियन्त्रण सरकारको पहिलो प्राथमिकता रहेको बताए। 
उनले कोरोना महामारी लोकतन्त्रको चुनौती रहेको बताए।

उनले सत्ता पक्ष र प्रतीपक्ष सहकार्यका आधारमा अघि बढ्नुपर्ने बताए। सबै मिलेर राम्रो काम गर्नुपर्ने उनको भनाइ थियो। राम्रा कामका लागि केपी शर्मा ओलीलाई धन्यवाद दिँदै उनले कमी–कमजोरी सच्याउँदै अघि बढ्नुपर्ने बताए।

प्रधानमन्त्री देउवाको मन्तव्यको पूर्णपाठ

 

माननीय सभामुख महोदय,

प्रतिनिधिसभा विघटनपश्चात् सम्मानीय सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा पुनर्स्थापित भएको छ । आज सभाको आठौँ अधिवेशन प्रारम्भ भइरहेको छ । म सबैभन्दा पहिले सबै माननीय सदस्यहरूलाई हार्दिक बधाई दिन चाहन्छु । नेपाली जनताको ठूलो त्याग, तपस्या र बलिदानले देशमा संघीय, लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । इतिहासको लामो कालखण्डमा लोकतन्त्रका लागि भएका राजनीतिक संघर्षमा बलिदान गर्ने सम्पूर्ण सहिदहरूलाई सम्मानपूर्वक स्मरण गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । लोकतन्त्रको स्थापना र संरक्षणका लागि योगदान गर्नुहुने सबै नेपाली नागरिकप्रति हार्दिक सम्मान व्यक्त गर्दछु । 

पटक–पटकको प्रतिनिधिसभा विघटनका कारण विगत केही समय देशमा राजनीतिक अन्याेल र अनिश्चितताको स्थिति रह्यो । नेपालको संविधानको धारा ७६ (३) बमोजिम नियुक्त हुनुभएका निवर्तमान प्रधानमन्त्री माननीय केपी शर्मा ओलीजीले धारा ७६ (४) बमोजिम प्रतिनिधिसभामा विश्वासको मत नलिई  धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि प्रक्रिया प्रारम्भ गर्न सम्माननीय राष्ट्रपतिलाई अनुरोध गर्नुभएपछि नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया प्रारम्भ भयो । केही समयको राजनीतिक र संवैधानिक अभ्यासपश्चात् म नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्त भएको छु । र, मेरो नेतृत्वमा मन्त्रिपरिषद् गठन भएको छ । मलाई प्रधानमन्त्रीमा नियुक्त हुन सहयोग र समर्थन गर्नुहुने राजनीतिक दलका नेताहरू, माननीय सदस्यहरूलगायत सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु । यो सरकारलाई भविष्यमा पनि निरन्तर सहयोग र समर्थन रहने विश्वास पनि लिएको छु । 

माननीय सभामुख महोदय,
    
अहिले मुलुक निकै जटिल अवस्थामा छ । विश्वव्यापी रूपले फैलिएको कोभिड–१९ को प्रकोपले हामी निकै प्रभावित भएका छौँ । दैनिक रूपले संक्रमण बढिरहेको छ । मानिसहरूको मृत्यु भइरहेको छ । म कोभिड– १९ का कारण मृत्यु भएका सबैको आत्माको चिरशान्तिको कामना गर्दछु । शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । अस्पतालमा उपचार गराइरहनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । कोभिड– १९ को नियन्त्रण र रोकथामका लागि अहोरात्र खटेर काम गर्नुहुने सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु । नेपाली नागरिकलाई कोभिड– १९ को प्रकोपबाट जोगाउने यो सरकारको पहिलो प्राथमिकता हुनेछ । सरकारले कोभिड– १९ को नियन्त्रण र रोकथामका लागि सबै उपायहरू अवलम्बन गर्नेछ भन्ने म प्रतिबद्धता व्यक्त गर्दछु । 

माननीय सभामुख महोदय

हामी यहाँ उपस्थित सबै राजनीतिक दलहरूको प्रयत्नबाट नेपालको संविधान निर्माण भएको हो । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । यसको संरक्षण र सुदृढीकरण पनि हामी सबैको प्रयासबाट मात्र सम्भव छ । बहुदलीय व्यवस्थामा फरक–फरक राजनीतिक विचार हुने, तिनका बीचमा प्रतिस्पर्धा हुने, स्वस्थ आलोचना–प्रत्यालोचना हुने विषयहरू स्वाभाविक र राम्रा हुन् । ती आवश्यक पनि छन् । तथापि हाम्रा केही साझा चुनौती, उद्देश्य र गन्तव्य छन् । जसका लागि हामीले सहकार्य र सहयात्रा गर्नुपर्छ । कोभिड–१९ हाम्रो तत्कालको चुनौती हो । गरिबी, बेरोजगारी, अशिक्षाजस्ता तमाम साझा समस्या छन् । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान हाम्रा साझा विषय हुन् । नेपालको संविधानको संरक्षण र यसको असल कार्यान्वयन हाम्रो साझा गन्तव्य हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नु हामी सबैको साझा उद्देश्य हो । यसका लागि हाम्राबीचमा सहकार्य र सहयात्राको आवश्यकता छ । 
 

सभामुख महोदय,
हामी सबैसंँ आ–आफ्ना अनुभवहरू छन् । माननीय के.पी. शर्मा ओलीले विगत साढे तीन वर्ष सरकारको नेतृत्व गर्नुभएको छ । उहाँले गर्नुभएका असल कामका लागि म धन्यवाद दिन चाहन्छु । उहाँको अनुभव हाम्रा लागि उपयोगी हुनेछ । विगतमा भएका राम्रा कामलाई निरन्तरता दिँदै कमी–कमजोरी सुधार गर्दै लानुपर्नेछ । महत्वपूर्ण नयाँ कामहरू पनि गर्नु छ । देशमा सुशासन कायम गर्नु छ । यसका लागि सरकार, प्रमुख प्रतिपक्ष र सबै राजनीतिक दलहरूबीच निरन्तर संवाद, सहकार्य र सामूहिक प्रयत्न आवश्यक छ भन्ने मेरो मान्यता छ र यसका लागि म सदैव प्रयत्नशील रहनेछु । हामी राजनीतिक दलहरू एक–अर्काका शत्रु होइनौँ, बरु हाम्रा साझा उद्देश्य प्राप्तिका लागि सहयात्री हौँ भन्ने भावनाका साथ काम गर्नुपर्दछ । 

 

सभामुख महोदय,
संसदीय लोकतन्त्रको स्थापनाका लागि देशमा लामो त्याग तपस्या र बलिदानपूर्ण संघर्ष भएको हो । संसदलाई अधिकारसम्पन्न, जीवन्त र क्रियाशील बनाउनुपर्दछ । सरकार संसदप्रति उत्तरदायी रहनुपर्दछ भने संसद्ले सरकारका सबै गतिविधिप्रति ध्यान दिई अनुगमन गर्नुपर्दछ । यसले लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउँछ । निरन्तरको राजनीतिक अन्याेल, अनिश्चितता र अस्थिरताले लोकतन्त्रलाई नै कमजोर गर्दछ । तसर्थ अब हामी राजनीतिक स्थिरताको बाटोमा हिँड्न जरुरी छ । 

सभामुख महोदय,

म नेपालको संविधानको धारा ७६ (५) बमोजिम नियुक्त प्रधानमन्त्री भएको हुँदा नेपालको संविधानको धारा ७६ को उपधारा (६) बमोजिम विश्वासको मत प्राप्त गर्न सम्मानित प्रतिनिधिसभामा प्रस्तुत भएको छु । सबै माननीय सदस्यहरूले मलाई विश्वासको मत दिनुहुनेछ भन्ने विश्वास गरेको छु । 

धन्यवाद !
 


 

ad
ad