१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार ३१ बिहीबार
  • Friday, 21 June, 2024
२o७८ असार ३१ बिहीबार o९:o१:oo
Read Time : > 6 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेस क्रियाशील सदस्यता विवाद : म्याद सकियो, छानबिन सकिएन

Read Time : > 6 मिनेट
नयाँ पत्रिका
२o७८ असार ३१ बिहीबार o९:o१:oo

धाँधली भएको भन्दै बाराका पूर्वसांसद लालबाबु सिंहसहितका नेता कार्यकर्ता चार दिनदेखि कांग्रेस केन्द्रीय कार्यालयमा धर्नामा

क्रियाशील सदस्यता वितरणमा धाँधली गरेको भन्दै बाराका चारवटै निर्वाचन क्षेत्रका नेता कार्यकर्ताहरूले चार दिनदेखि कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिइरहेका छन् । पूर्वसांसदद्वय लालबाबु सिंह र रामअयोध्याप्रसाद यादवसहित नेताहरूले क्षेत्रीय सभापतिहरूले किर्ते गरेर थप गरेका क्रियाशील सदस्य खारेज हुनुपर्ने माग गरेका छन् । 

‘विधान, नियमावली र केन्द्रीय परिपत्रविपरीत क्रियाशील सदस्यता वितरण गरिएको छ, वडा कार्यसमितिको निर्णयविना, पालिका, प्रदेश र क्षेत्रको बैठकसमेत नबसी किर्ते जालसाजी षड्यन्त्र गरी पार्टी कब्जा गर्ने नियतले नयाँ क्रियाशील सदस्यता वितरण भएको छ,’ नेविसंघका निवर्तमान सहमहामन्त्री राजेश रौनियारले भने, ‘त्यस्तो सदस्यता खारेज गरेर विधिअनुसार नयाँ क्रियाशील सदस्यता वितरण नभएसम्म हाम्रो धर्ना निरन्तर रहन्छ ।’

उनीहरूले धेरै नेता र कार्यकर्ताहरूको राजनीतिक हत्या गर्ने नियतले नवीकरणको फारम बुझाएर पैसा तिरे पनि पूर्वाग्रह राखेर नवीकरण रोकिदिएकाको नवीकरण हुनुपर्ने, १३औँ महाधिवेशनको छुटेको एक सय ६६ जनाको नामावली र सोबराबरको नयाँ क्रियाशील सदस्यता अविलम्ब खारेज गर्नुपर्ने, क्रियाशील छानबिन समितिमा दिइएको निवेदनउपर अविलम्ब कारबाही हुनुपर्ने, वडा कार्यसमितिको सिफारिसविनाको क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, केन्द्रीय मापदण्डअनुरूप वडा कार्यसमितिले सिफारिस गरेको, तर जालसाजी गरी रोकिएका व्यक्तिहरूलाई तत्काल नयाँ क्रियाशील सदस्यता प्रदान गर्नुपर्नेलगायत माग राखेका छन् । 

बारा–२ मा क्षेत्रीय सभापति रामप्रवेश यादवले क्रियाशील फारम नै नदिई जाली हस्ताक्षर गरेर वडाको निर्णय र सिफारिसविनै केन्द्रीय कार्यालयमा क्रियाशीलको विवरण सूचीकृत गराएको रौनियारले गुनासो गरे । क्षेत्रीय सभापति यादव संस्थापन समूहनिकट छन् । क्रियाशीलमा भएको धाँधलीमा पार्टीको संस्थापन पक्षको जालसाजी रहेको उनीहरूको आरोप छ ।

रौनियारका अनुसार क्षेत्रीय सभापति यादवले पचरौता नगरपालिकाका वडा नं. १, ६, ७, ८ र ९, महागढीमाई नगरपालिकाका वडा नं. १, २, ४, ६ र ७, सुवर्ण गाउँपालिका वडा नं. ४, करैयामाई गाउँपालिकाका वडा नं. २ र ५ गरी १३ वडामा क्रियाशील सदस्यताको फारम नै दिएका छैनन् । ती वडालाई क्रियाशील सदस्यताको फारम नै नपठाई यादवले आफूअनुकूलका व्यक्तिहरूको नाम भरेर पठाएका पाइएको रौनियारले बताए । 

यस्तै, अन्य पाँचवटा वडामा पदाधिकारी र कार्यसमितिको सहमतिविनै सिफारिस गरिएको उनीहरूको आरोप छ । क्षेत्र नं. १ मा पनि क्षेत्रीय सभापतिले वडाबाट सिफारिस गरिएकोभन्दा धेरैजनाको नाम थप गरेर पठाएको पाइएको उनले बताए । ‘वडाबाट ३० जनाको पठाइएको छ, तर क्षेत्रीय सभापतिले त्यहाँ आफूअनुकूल हुने गरी थप गरेर पठाएछन्, जो विधानविपरीत छ,’ उनले भने । 

पूर्वसांसद लालबाबु सिंह, पूर्वजिविस सभापति राजेन्द्र यादव, निजगढ नगरपालिकाका मेयर सुरेश खनाल, शिक्षक संघका पूर्वजिल्ला अध्यक्ष रामविलास यादवसहित करिब तीन सयजना नेता कार्यकर्ताको सदस्यता नवीकरण फारम भरे पनि त्यसको विवरण केन्द्रमा नपठाएको पाइएको उनीहरूको आरोप छ । यस्तै, १३औँ महाधिवेशनको क्रियाशील सदस्यता छुटको नाममा निजगढ नगरपालिकामा एक सय ६६ जनाको किर्ते नामावली राखिएको उनीहरूको आरोप छ । 

वडा तहको अधिवेशन आउन अब १२ दिन मात्रै बाँकी 

क्रियाशील सदस्यतामा बाराकै जस्तै समस्या बोेकेर आएकाहरू यतिवेला कहिले केन्द्रीय कार्यालय, त कहिले छानबिन समितिले काम गरिरहेको स्थल धर्मशाला र कहिले नेताहरूको निवास धाइरहेका छन् । तर, समस्या समाधानको कुनै हल निस्किएको छैन । पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीले छानबिन समितिमा विवाद भएका क्रियाशील सदस्यता अर्को महाधिवेशनका लागि स्थगित गर्ने निर्णय गरिसकेको छ । छानबिन समिति त्यसैको आधारमा सहमति खोज्दै अघि बढेको छ । तैपनि महाधिवेशनको पूर्वघोषित तालिकाबमोजिम छानबिनको काम सकिएको छैन । 

कार्यतालिकाअनुसार छानबिन समितिको म्याद २० असारमै सकिएको छ । बुधबारसम्म सभापति शेरबहादुर देउवाबाट क्रियाशील सदस्यको नामावलीमा हस्ताक्षर भएपछि निर्वाचन समितिलाई हस्तान्तरण गरिसक्नुपर्ने हो । तर, अहिलेसम्म छानबिनको काम नै सकिएको छैन । जब कि वडा तहको अधिवेशन आउन अब १२ दिन मात्रै बाँकी छ ।

सबैको चासो : कसरी बलियो बन्ने
क्रियाशील सदस्य नै कांग्रेसको नेतृत्व चयनका मुख्य आधार हुन् । त्यहीकारण वडामा थपिने क्रियाशील सदस्य र संख्यामा शीर्ष नेताहरूकै चासो र स्वार्थ जोडिन्छ । देशभर आफ्नो गुटको वर्चस्व बनाउन सके वडाबाटै धेरै प्रतिनिधि चयन हुने भएकाले सबै नेताहरूले आफूअनुकूल सदस्य थपघट गर्ने कोसिस गरेका छन् । वडा तहबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले पालिका, प्रदेश र जिल्लाको नेतृत्व मात्रै होइन, केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत चयन गर्छन् । त्यसकारण क्रियाशीलको समस्या समाधान हुनु नै महाधिवेशनको ६० प्रतिशत काम सम्पन्न हुनुजस्तै भएको मुख्यसचिव कृष्णप्रसाद पौडेल दाबी गर्छन् । ‘क्रियाशीलको काम सकिएपछि अरू केही अवरोध नै छैन, महाधिवेशनका लागि बाटो खुला हुन्छ, त्यसैले क्रियाशील सकिनु भनेको ६० प्रतिशत महाधिवेशन भयो भन्ने बुझ्दा हुन्छ,’ उनले भने ।

क्रियाशील सदस्यमाथि परेका उजुरी छानबिन गर्ने समितिमा दोस्रो पुस्ताका नेताहरू रमेश लेखक, आनन्दप्रसाद ढुंगाना, श्यामकुमार घिमिरे, जीवन परियार, प्रदीप पौडेल, कल्याण गुरुङ र योगेन्द्र चौधरी छन् । असार पहिलो सातादेखि नै छानबिन समितिले गौशालास्थित धर्मशालामा बसेर आवासीय रूपमा काम गरिरहेको छ । विवाद समाधान गरेर महाधिवेशनको तयारीलाई सहज बनाउन रातदिन कोसिस गरिरहेको उनीहरूको भनाइ छ । ‘बिहान उठेदेखि रातिसम्म फोन उठाउन भ्याइनभ्याइ छ, वेलामा न खान पाइएको छ, न सुत्न । हामी रातदिन नभनी काम गरिरहेका छौँ,’ एक सदस्यले भने, ‘क्रियाशीलकै कारण महाधिवेशन प्रभावित हुनुहँुदैन भन्ने मान्यता राखेर काम गरिरहेका छौँ ।’ 

छानबिन समितिका नेताहरूकै झैँ अवस्था छ, विवादको पोको बोकेर जिल्लाबाट काठमाडौं आएकाहरूको पनि । घरि एउटा नेताका घरमा पुगेर गुनासो गर्छन्, घरि अर्काे नेताकामा । क्रियाशील छानबिनको विवाद उत्कर्षमा पुगेका वेला विवाद सुल्झाउन जिल्ला–जिल्लाबाट आएका नेता–कार्यकर्ताले छानबिन समितिका नेता घेरिएपछि अहिले धर्मशालामा आधिकारिक व्यक्तिबाहेकलाई प्रवेशमै निषेध गरिएको छ । 

छानबिन समितिले मंगलबारसम्म एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ३३ वटा निर्वाचन क्षेत्रको क्रियाशील सदस्यताको टुंगो लगाएको छ । अब ३२ वटा निर्वाचन क्षेत्रको काम मात्रै बाँकी छ । समितिले क्रियाशील छानबिनका सबै निर्णयहरू सर्वसम्मतिबाट गर्ने, विवाद भएका सदस्यहरूको विषयलाई अर्को महाधिवेशनका लागि स्थगित गर्ने, नवीकरणको हकमा उदारता अपनाउने, वियजकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट समायोजन भएकाहरूको हकमा केन्द्रीय समितिमा पहिले पेस गरेको सूचीभन्दाबाहेकको नाम समावेश भएको भए हटाउने, अरू पार्टीबाट प्रवेश भएकाको हकमा गत १९ पुसको केन्द्रीय समितिको निर्णयबमोजिम तल्ला तहबाट सिफारिस भएर आएकाहरूको मात्रै नवीकरण गर्नेलगायत मापदण्ड अपनाएको छ ।

१३औँ महाधिवेशनमा कांग्रेस क्रियाशील सदस्यको संख्या चार लाख ७० हजार मात्रै थियो । यसपटक सबै काम पूरा हुँदा क्रियाशील सदस्यको संख्या नौ लाख पुग्ने समितिको अनुमान छ । अहिलेसम्म आठ लाख ५२ हजार १७६ सूचीकृत भइसकेका छन् । तीमध्ये ६ लाख ५२ हजार आठ सय ९९ जना पुरुष र एक लाख ९९ हजार ९८ जना महिला छन् । सबैभन्दा धेरै क्रियाशील सदस्य झापामा ३३ हजार ४१५ जना छन् भने मुस्ताङमा सबैभन्दा कम ७९८ जना छन् । यसपटक युवाको संख्या बढेको छ । छानबिन समितिका अनुसार १८ देखि २५ वर्ष उमेर समूहका ४.६६%, २६ देखि ४० उमेर समूहका २८.७३%, ४१ देखि ६० उमेर समूहका ३७.७५%, ६१ देखि ७५ उमेर समूहका ९.५% र सोभन्दा माथिका १.३५% क्रियाशील सदस्य छन् । कांग्रेसको १४औँ महाधिवेशन आगामी १६ भदौदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका छ । 

क्रियाशील सदस्यता छानबिनकै विवादले महाधिवेशन रोकिँदैन : प्रदीप पौडेल
प्रवक्ता, केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति

क्रियाशील छानबिन समितिले के गरिरहेको छ ? 
यसपटक हामीले जिल्लाले केन्द्रीय कार्यालयको सफ्टवेयरमा पुराना सदस्यहरूलाई नवीकरण गर्नुपर्ने र त्यसपछि नयाँ सदस्यहरूलाई प्रतिनिधिसभा क्षेत्रीय समितिले त्यसलाई इन्ट्री गर्नुपर्ने व्यवस्था गरेका थियौँ । त्यो व्यवस्थाअनुसार जिल्ला र क्षेत्रबाट इन्ट्री हुन समय लाग्यो । त्यो इन्ट्री भइसकेपछि बल्ल सार्वजनिक गर्ने र सार्वजनिक भएका नामावलीमाथि उजुरी पर्ने । अनि त्यसपछि मात्रै हामीले सदस्यताको छानबिन गर्ने हो । हामीले २० असारसम्म पनि इन्ट्री गरिरहेका थियौँ । त्यसैले उजुर गर्ने प्रक्रियासम्म आइपुग्दा समय लाग्यो । उजुरी नै नपरीकन त हामीले छानबिन गर्ने कुरा नै भएन । त्यसैले उजुरी गर्ने प्रक्रियाका कारण छानबिनको काममा पनि स्वतः ढिला भएको हो । 

ढिलै भए पनि हामीले रफ्तारमा काम गरेका छौँ । अहिलेसम्म एक सय ३३ वटा निर्वाचन क्षेत्रको सदस्यताको टुंगो लागिसकेको छ । अब ३२ वटा निर्वाचन क्षेत्रको काम मात्रै बाँकी छ । करिब करिब यो महिनाभरिमा बाँकी रहेका सबै निर्वाचन क्षेत्रको उजुरी पनि हामीले हेरेर सक्छौँ । केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारीहरूले बनाएर दिएको मापदण्डको आधारमा क्रियाशील सदस्यताको छानबिन गरिरहेका छौँ । ६७४३ वटा वडामध्ये करिब पाँच सय वडामा विवाद थियो । त्यसमध्ये पनि साढे दुई सय वडाको विवाद हेरिसकेका छौँ । सबै काम पूरा भएपछि सभापतिलाई बुझाउँछौँ । 

विवादको जड के हो ?

हामीले पुराना क्रियाशील सदस्य संख्यालाई वृद्धि गरेर दोब्बर बनाउने भनेका थियौँ । तर, जिल्लामा गइसकेपछि कोही वडामा धेरै गएछ, कोही वडामा थोरै । त्यसैले धेरै भएका शतप्रतिशतभन्दा बढी हुन आएका क्रियाशील सदस्यलाई हामीले स्थगित गरेका छौँ । 

वडा, पालिका र प्रदेश निर्वाचन क्षेत्रीय समितिको सिफारिस भएपछि प्रतिनिधिसभा क्षेत्रीय समितिले नयाँ क्रियाशील सदस्यतालाई टुंग्याउने विधान छ । हाम्रो मापदण्डले चारवटै तहले सिफारिस गरेका क्रियाशील सदस्य मात्रै स्वीकृत गर्ने व्यवस्था गरेका थियौँ । त्यहीअनुसार कुनै तहबाट स्वीकृत हुन बाँकी रहेको भए त्यसलाई चारवटै तहबाट स्वीकृत गराएर इन्ट्री गराएका छौँ । 

अन्य राजनीतिक दलबाट समायोजन भएर आउने साथीहरूको हकमा चाहिँ तल्ला तहबाटै स्वीकार गरिएको हुनुपर्ने जुन हाम्रो व्यवस्था थियो, त्यो व्यवस्था पूरा गरेर आएको÷नआएको हेरेर त्यसलाई अन्तिम रूप दिएका छौँ । तत्कालीन फोरम लोकतान्त्रिक र राप्रपालगायत विभिन्न पार्टीबाट आउनुभएका नेता कार्यकर्ताहरूको विवरण त्यसअनुसार आएको छ कि छैन ? हेरेर हामीले विवादलाई टुंगोमा पुर्‍याउने काम गरेका छौँ । 

बाराका पूर्वसांसदसहित नेता कार्यकर्ताले केन्द्रीय कार्यालयमा धर्ना दिइरहेका छन् नि ?

उहाँहरूको माग, उजुरी जति परेको छ, ती सबैलाई मापदण्डको आधारमा, हाम्रो विधान, निर्देशिका र पार्टीको केन्द्रीय समितिको बैठकका निर्णयहरूका आधारमा अथवा आपसी छलफल, सहमति र समझदारीका आधारमा मिलाउन प्रयत्न गरिरहेका छौँ । 

क्रियाशील सदस्यताको छानबिनमा भएको ढिलाइकै कारण महाधिवेशन प्रभावित त हुँदैन ? 

छानबिन समितिमा टुंगो लगाउन नसकेका विषय पदाधिकारी र पूर्वपदाधिकारीमाझ पुर्‍याउँछौँ । त्यहाँ पनि टुंगो नलागेमा त्यस्तो सदस्यता आगामी महाधिवेशनका लागि स्थगित गर्ने भन्ने स्पष्ट निर्णय भइसकेकै छ । तर, अहिलेसम्मको अवस्था हेर्दा त्यस्तो स्थगित गर्नैपर्ने संख्या धेरै छैन । देशभरिको अवस्था हेर्दा बढीमा एक सयवटा वडाको स्थगित हुन सक्छ । त्यो भनेको त्यही ३०–४० हजार हो । त्यसकारण क्रियाशील सदस्यताको छानबिन नभएका कारण महाधिवेशन नहुनुपर्ने कुनै सम्भावना छैन । 

कांग्रेसले हरेकचोटि महाधिवेशनको मुखमा मात्रै क्रियाशील सदस्यता थपघट किन गर्छ ?

हामीले महाधिवेशन हुने वर्षबाहेक अरू वर्ष क्रियाशील सदस्यता थप गर्ने भन्दै आएका छौँ । तर, जुन वर्ष महाधिवेशन गर्छौँ, त्यही वर्ष मात्रै क्रियाशील सदस्यता नवीकरण गर्ने र थपघट हुने गरेको छ । त्यसलाई सच्याउनुपर्नेछ । हामीले १४औँ महाधिवेशनपछाडि क्रियाशील सदस्यता व्यवस्थापन विभाग बनाउनुपर्छ । त्यसलाई क्रियाशील सदस्यताको काम गर्ने अधिकार दिनुपर्छ ।

त्यसलाई नेतृत्व गर्ने राजनीतिक नेतृत्व हुन सक्ला । तर, त्यहाँका कर्मचारीहरूले दैनिक रूपमै कुन वडामा कतिजना क्रियाशील सदस्यता थपिएका छन् ? भन्ने विवरण अद्यावधिक गर्ने काम गर्नुपर्दछ । कञ्चनपुरको कोही मान्छेले ताप्लेजुङमा क्रियाशील सदस्यता भर्न चाहन्छ भने उसले पनि पाउनुपर्छ । ताप्लेजुङमा उसले भरेको क्रियाशील सदस्यताको नामावली कञ्चनपुरको वडामा पुर्‍याउने व्यवस्था गर्नुपर्छ । क्रियाशील सदस्यतालाई खुला राख्नुपर्छ । 

क्रियाशील सदस्य त महाधिवेशनको मुखमा नेतृत्वको स्वार्थबमोजिम नेतृत्व हत्याउन मात्रै थपघट गर्ने गरेकोजस्तो देखिन्छ नि ? 

हामीले यसपटक चार लाख ५१ हजार नयाँ क्रियाशील सदस्य थप गरेका छौँ । यो पहिलेको संख्याभन्दा धेरै हो । १३औँ महाधिवेशनसम्म थप भएकामध्ये चार लाख २० हजारले मात्रै नवीकरण गर्नुभएको छ । यसरी योपटक हाम्रो सदस्यता करिब नौ लाख पुग्छ । त्यसैले नौ लाख सदस्यहरू सबै नेतृत्वमा बसेका मान्छेहरूलाई आफूलाई फाइदा पुग्ने गरी मात्रै बनाएको भन्न त मिल्दैन ।

कसैले गोजीबाट झिकेर कसैलाई नेता बनाउन यति धेरै बनाउन सक्दैन नि । त्यसैले अधिकांश क्रियाशील सदस्यहरू कांग्रेसप्रति आकर्षण भएर नै सदस्य बन्नुभएको छ । कांग्रेसमा आकर्षण पनि बढेको छ । युवाको आकर्षण छ । महिला, आदिवासी जनजाति, मधेसी, दलितलगायत सबै जाति वर्ग क्षेत्रको आकर्षण छ । अहिले १८ देखि ४० वर्षसम्मका युवाहरूको संख्या मात्रै झन्डै ४० प्रतिशतभन्दा बढी छ । यो अघिल्लो महाधिवेशनमा थिएन । त्यसैले यो कुनै नेताले आफूले जित्नका लागि मात्रै भोटर बनाएको हो भन्ने गलत हो । 

ad
ad
ad
ad