१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ असार २९ मंगलबार ०९:१८:००
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

युवतीको अर्धनग्न शव फेला, हत्याकाे आशंका

Read Time : > 1 मिनेट
२०७८ असार २९ मंगलबार ०९:१८:००

झापाको बिर्तामोडमा एक युवतीको अर्धनग्न शव फेला परेको छ । बिर्तामोड–५ स्थित सुगम पेट्रोलपम्पको उत्तरमा २५ वर्षीया सिर्जना बस्नेत मृत अवस्थामा फेला परेकी हुन् । बस्नेत बिर्तामोडस्थित एक सहकारीमा काम गर्दै आएकी थिइन् । उनको परिवार त्यहाँ लामो समयदेखि आफन्तकहाँ डेरा बस्दै आएको थियो । 

सोमबार बिहानै घरअगाडि उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ‘मर्निङ वाक’ जानेले बिहान साढे ५ बजे यवुतीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले युवतीको शरीर अर्धनग्न अवस्थामा रहेको जानकारी दिए । ‘शरीरका तल्लो भागको कपडा तल सरेको छ । टिसर्ट पनि माथि सरेको छ,’ उनले भने, ‘घटना संवेदनशील छ । हामीले सूक्ष्म रूपमा अनुसन्धान गरिरहेका छौँ ।’ युवतीको शरीरमा धस्रिएजस्तो देखिने चोटपटक पनि रहेको थापाले बताए । 

मृत अवस्थामा भेटिएकी बस्नेत राति परिवारसँगै खाना खाएर सुतेको डिएसपी थापाले बताए । ‘उहाँको परिवार तल्लो फ्ल्याटमा बस्छ । माथिल्लोमा उहाँको दिदीभेना बस्नु हुँदो रहेछ । तल्लो फ्ल्याटमा खाना खाएर सुत्न उहाँ दिदीभेना भएको फ्ल्याटमा गएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ,’ उनले भने, ‘माथिल्लो फ्ल्याटमा दिदीभेना एउटा कोठामा र उहाँ अर्को कोठामा सुतेको अवस्था हो । बिहान पनि मुनिको चेनगेट बाहिरबाट खोल्न नमिल्ने गरी भित्रैबाटै लगाएको देखिन्छ । तर, युवतीको शवचाहिँ बाहिर थियो । अरूले देखेर हल्लाखल्ला भएपछि मात्र परिवारले थाहा पाएको खुलेको छ ।’

बिहान शव भेटिएपछि उक्त स्थानलाई सुरक्षित राखेर प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । युवतीको शव दिउँसो ३ बजे मात्रै पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । प्रहरीले संघीय प्रहरी इकाई धरानबाट तालिम प्राप्त कुकुर ल्याएर घटनास्थलको अनुसन्धान गरिएको डिएसपी थापाले बताए । 

घटना संवेदनशील भएको भन्दै प्रहरीले बिपी स्वास्थ्य प्रतिष्ठानबाट फरेन्सिक विभागका तीनजना विषेशज्ञको टोली घटनास्थलमा ल्याइएको थापाले बताए । ‘घटनास्थलबाट उठाउनुपूर्व पूरा गर्नुपर्ने अनुसन्धानका प्रक्रियाका क्रममा शरीरमा आन्तरिक डिकम्पोजिसन हुन सक्छ भनेर धरानबाट एक पुरुष विशेषज्ञ र दुई महिला विशेषज्ञको टोली घटनास्थलमै ल्याएर निरीक्षण पनि गरायौँ,’ उनले भने, ‘अनुसन्धानका क्रममा कुनै गुनासो नआओस् भनेर सूक्ष्म रूपमा अनुसन्धान प्रक्रियाअघि बढाएका छौँ ।’ डिएसपी थापाले अर्धनग्न अवस्थामा मृत भेटिएकी ती युवतीको हत्या भएको वा बलात्कारपछि हत्या भएको हो हैन भन्नेबारे फरेन्सिक रिपोर्ट र पोस्टमार्टम रिपोर्ट आएपछि मात्र यकिन गर्न सकिने बताए ।