१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ असार २४ बिहीबार १७:००:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

खत्याडमा एक वर्षसम्म सामाजिक सुरक्षा भत्ता वितरण भएन

Read Time : > 1 मिनेट
२०७८ असार २४ बिहीबार १७:००:००

मुगुको खत्याड गाउँपालिकाका नागरिकले एक वर्ष बित्दा पनि सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । चार–चार महिनामा वितरण गरिनुपर्ने सामाजिक सुरक्षा भत्ता विभिन्न कारण देखाउँदै एक वर्षसम्म वितरण नहुँदा ज्येष्ठ नागरिक, बालबालिका, एकल महिला र फरक क्षमताका भएका नागरिक समस्यामा परेका छन् । 

गत साउनयता सुरक्षा भत्ता वितरण भएको छैन । कोरोना महामारी, इन्टरनेटमा समस्या, बैंक खाता खोल्न समस्यालगायतका कारण देखाएर भत्ता वितरणमा ढिलाइ गरेको स्थानीयले गुनासो गरेका छन् । 

नेपाल सरकारले केही वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई बालपोषण भत्ता प्रत्येक महिनामा चार सयका दरले दिँदै आएको छ । कर्णालीको हकमा ६० वर्ष पुगेका वृद्धवृद्धालाई ज्येष्ठ नागरिक भक्ता प्रतिव्यक्ति दुई हजार र ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई प्रतिव्यक्ति तीन हजार, आंशिक अपांगता भएकालाई १६ सय, पूर्ण अपांगता भएकालाई तीन हजार, एकल महिलालाई दुई हजारका दरले प्रत्येक महिना सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरेको छ । 

‘गाउँपालिकाले भत्ता बैंकमार्फत आउँछ भनेर खाता खोल्न लगायो, खाता खोल्याँै, चार–चार महिनामा आउने भत्ता वर्ष दिन बित्यो आएन,’ खत्याड गाउँपालिका— ९ का सुनाम डागरले दुःखेसो पोखे, ‘पहिले कर्मचारी घरमै आएर समयमै भत्ता बाँड्थे, अहिले त बैंक खाता खोल्न भने, खोल्यौँ, तर पैसा त वर्ष दिनसम्म पनि पाएनौँ ।’ 

खत्याड गाउँपालिकाअन्तर्गत सामाजिक सुरक्षा भत्ता पाउनेमा पाँच वर्षमुनिका बालबालिका दुई हजार तीन सय ५४, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक आठ सय २१, ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक आठ सय ६४, अपांगता भएका ६२, एकल महिला एक सय ३३ जना छन् । 

‘कर्मचारी आए, बैंक खाता खोल्नुपर्छ, खातामै पैसा आउँछ भने, खाता खोल्यौँ, वेलावेला खाता हेर्न जाँदा खातामा पैसा आएको छैन । बैंकबाट रित्तो हात पर्किनुप¥यो’ खत्याड गाउँपालिका— १ की ७५ वर्षीया धनसरी बुढाले भनिन् । 

खत्याड गाउँपालिका— ९ का ६९ वर्षीय सपुर भण्डारीको पीडा पनि उस्तै छ । उनले पनि गत साउनयता भत्ता नपाएको गुनासो गरे । उनले भने, ‘गत मंसिरमा ९० वर्षको उमेर आमाको मृत्यु भयो, आमाको भत्तासमेत अझै पाएको छैन ।’

खत्याड गाउँपालिकाले भने बैंकिङ प्रणालीबाट रकम भुक्तानी गर्नुपर्ने भएकाले खाता खोल्न समय लाग्ने, नाम, उमेर धेरैको फरक पर्ने हुँदा सच्याउन समय लाग्ने, लागत कट्टा गर्नुपर्ने, इन्टरनेटको समस्या, कोरोना भाइरस, जनशक्ति अभावलगायतका कारण समयमा भत्ता वितरण गर्न नसकेको बताए । 

भत्ता वितरणका लागि सम्पूर्ण प्रक्रिया लगभग पूरा भइसकेको र अबको केही दिनभित्रै सामाजिक सुरक्षा भत्ता वितरण कार्य धमाधम सुरु गरिने पञ्जीकरण शाखाका एमआइएस अप्रेटर दानबहादुर डागरले बताए । खाता खोल्न ढिलाइ र बैंक सिस्टमले समयमा काम नगर्दा केही ढिलाइ भए पनि तीनवटै किस्ताको रकम निकासा भई बैंक खातामा जम्मा भइसकेको उनको भनाइ छ ।

सरकारले ०७६ देखि सामाजिक सुरक्षा भत्ता वितरण बैंक खातामार्फत वितरण गर्ने नियम बनाए पनि खत्याड गाउँपालिकामा रहेको माछापुच्छ«े बैंकले अहिलेसम्म चेकसमेत वितरण गर्न नसकेको स्थानीयको गुनासो छ । 

कोष तथा लेखा नियन्त्रण कार्यालय मुगुका कोष नियन्त्रक लक्ष्मीचन्द्र हमालका अनुसार खत्याड गाउँपालिकाको पहिलो, दोस्रो र तेस्रो किस्ताको सामाजिक सुरक्षा भत्ताको रकम निकासा भइसकेको छ । गाउँपालिकामा रहेको माछापुच्छ«े बैंकको खातामा सबै रकम गइसकेको उनले बताए ।