मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार १८ शुक्रबार
  • Monday, 16 December, 2024
एजेन्सी
२o७८ असार १८ शुक्रबार o९:४६:oo
Read Time : > 5 मिनेट
खेलकुद प्रिन्ट संस्करण

युरोकप २०२० : आजबाट क्वार्टरफाइनल 

Read Time : > 5 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o७८ असार १८ शुक्रबार o९:४६:oo

स्पेन र स्विट्जरल्यान्डले अहिलेसम्म २२ खेलमा प्रतिस्पर्धा गरेका छन्, त्यसमा स्पेनले १६ खेलमा जित हात पारेको छ भने स्विट्जरल्यान्ड मात्रै एक खेलमा विजयी भएको छ 

स्पेनविरुद्धको खेलअघि अभ्यास गर्दै स्विट्जरल्यान्डका खेलाडीहरू । तस्बिर एजेन्सी

युरोकप २०२० अन्तर्गत क्वार्टरफाइनल चरणका खेलहरू शुक्रबारबाट सुरु हुँदै छ । खेलमा शुक्रबार राति ९ः४५ बजे युरोकपको सर्वाधिक सफल टोली स्पेनले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ । 

यस्तै, राति १२ः४५ बजे हुने दोस्रो खेलमा इटालीले बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ । यी खेलबाट दुई टोली उपाधिको एक पाइला नजिक पुग्नेछन् । पराजित दुई टोलीको यात्रा भने क्वार्टरफाइनल चरणमै रोकिनेछ ।

स्पेनविरुद्ध उत्साहित स्विट्जरल्यान्ड
स्पेन युरोकपको इतिहासकै सर्वाधिक सफल टोली हो । स्पेनले अहिलेसम्म युरोकपको तीन उपाधि जितेको छ । स्पेनबाहेक युरोकपको तीन उपाधि जित्ने टोली जर्मनी हो । तर, यसपटक जर्मनी प्रतियोगिताबाट बाहिरिसकेको छ । यसकारण युरोकपको सर्वाधिक उपाधि जित्ने टोली बन्न स्पेनसामु अवसर छ । त्यसका लागि स्पेनले शुक्रबार राति स्विट्जरल्यान्डलाई पराजित गर्नुपर्ने छ । उसलाई स्विट्जरल्यान्डको चुनौती भने सहज हुनेछैन । प्रिक्वार्टरफाइनल चरणको खेलमा विश्वकप विजेता फ्रान्सलाई टाइब्रेकरमा पराजित गरेको स्विट्जरल्यान्ड उत्साहित देखिएको छ ।

प्रतियोगिताको समूहगत चरणमा दुवै टोलीले उस्तै यात्रा तय गरे । दुवै टोलीले समूहगत चरणमा जितका लागि संघर्ष गरे । स्पेनले सुरुवाती दुई खेलमा लगातार वरावरी व्यहोर्‍यो । 

स्विट्जरल्यान्डले पनि पहिलो खेलमा बराबरी र दोस्रो खेलमा पराजय व्यहोरेको थियो । समूहगत चरणको आफ्नो अन्तिम खेलमा जित हात पारेर मात्रै यी दुई टोलीले प्रतियोगिताको अन्तिम १६ मा स्थान सुरक्षित गरेका हुन् । 

प्रतियोगिताअघि बढ्दै जाँदा यी दुई टोलीले आफ्नो खेलमा व्यापक सुधार ल्याएका छन् । स्पेनले आफ्नो पछिल्लो दुई खेलमा विपक्षी टोलीविरुद्ध लगातार पाँच–पाँच गोल गरेको छ । युरोकप इतिहासमा लगातार दुई खेलमा पाँच वा त्योभन्दा बढी गोल गर्ने स्पेन नै पहिलो टोली बनेको छ । त्यसैले पछिल्लो सफलताबाट उत्साहित यी दुई टोलीबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने निश्चित छ । 

यी दुई टोलीबीच यसअघि भएको प्रतिस्पर्धामा भने स्पेनले एकतर्फी सफलता हात पारेको छ । यी पुराना प्रतिद्वन्द्वीले सबै प्रतियोगितामा गरी एकअर्काविरुद्ध २२ पटक प्रतिस्पर्धा गर्दा स्पेनले १६ खेलमा जित हात पारेको छ । स्विट्जरल्यान्ड मात्रै एक खेलमा विजयी भएको छ । उनीहरूले पछिल्लोपटक सन् २०२० मै पनि दुईपटक प्रतिस्पर्धा गरेका छन् । नेसन्स लिगअन्तर्गत भएको दुईमध्ये पहिलो खेलमा स्पेनले जित हात पारेको छ भने दोस्रो खेल बराबरी भएको छ । युरोकपमा भने स्पेन र स्विट्जरल्यान्ड पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका हुन् ।

क्वार्टरफाइनल चरणको पहिलो खेल
स्पेनविरुद्ध स्विट्जरल्यान्ड्स (राति ९ः४५ बजे, सेन्ट पिटर्सबर्ग, रुस)
स्विट्जरल्यान्डका प्रशिक्षक भ्लादिमिर पेटकोभिच भन्छन्, ‘फ्रान्सविरुद्धको खेल साँच्चिकै भावनात्मक देखियो । खेलाडीहरूले १२० प्रतिशत प्रदर्शन दिए । यो सम्भवत मेरो टोलीको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो । क्वार्टरफाइनलमा स्पेनविरुद्ध पनि हामीलाई यस्तै खेल आवश्यक छ ।’ स्विट्जरल्यान्डका कप्तान ग्रानित साका भन्छन्, 

‘स्विट्जरल्यान्डका कसैले पनि अहिले गर्व गर्न सक्छन् । हामीले फ्रान्सविरुद्ध इतिहास कायम गरेका छौँ । म यो टोलीको सदस्य हुन पाउँदा गर्व गर्छु । हामी सपना देख्न सक्छौँ । हामी अझै प्रतियोगितामा छौँ । हामीलाई स्पेनबारे थाहा छ । केही महिनाअघि हामीले उनीहरूविरुद्ध खेलेका थियौँ । यद्यपि, स्पेनविरुद्ध जितका लागि हामीले फ्रान्सविरुद्ध गरेको जस्तै प्रदर्शन गर्न आवश्यक छ ।’

स्पेनी प्रशिक्षक लुइस एन्रिक भन्छन्, ‘म खेलका लागि तयार छु । फेरि अर्काे यस्तै नतिजा निस्कनेमा निश्चित छु । तर, मेरो परिवार र समर्थकले मैलेजस्तै सोच्छन् कि सोच्दैन् भन्नेबारे भने म निश्चित छैन । हामी लामो बल खेल्ने छैनौँ । रक्षात्मक पनि खेल्दैनौँ । हामी बललाई आफूसँगै राख्ने प्रयास गर्नेछौँ र त्यसरी नै गोलका लागि प्रयास गर्ने छौँ ।’ स्पेनी टोलीका स्ट्राइकर फेर्रान टोरेस भन्छन्, ‘मान्छेहरूले भने कि स्पेनले गोल गर्न सक्दैन । तर, मलाई कहिल्यै त्यस्तो लागेन । मैले क्वार्टरफाइनलमा कोसँग खेल्दै छौँ भनेर त्यति धेरै ध्यान दिएको छैन । हामी जुनै पनि प्रतिस्पर्धामा आफैँमाथि विश्वास गरेर जाने हो । गर्व र उत्साह बोकेर अघि बढ्ने हो ।’

बेल्जियमको प्रभुत्वविरुद्ध अपराजित इटाली
जारी युरोकपको दोस्रो क्वार्टरफाइनल खेलमा फिफा विश्व वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम र पछिल्लो लामो समयदेखि अपराजित रहेको इटाली भिड्दै छन् । यी दुई टोली उपाधिको मुख्य दाबेदर पनि हुन् ।

जारी प्रतियोगितामा यी दुवै टोलीले सशक्त प्रदर्शन गरेका छन् । बेल्जियम जारी प्रतियोगितामा आफ्ना स्टार खेलाडीको व्यक्तिगत उत्कृष्टतामा क्वार्टरफाइनलसम्म आइपुगेको छ । इटाली अघिल्ला प्रतियोगिताको तुलनामा सुधारिएर आएको छ । त्यसैले यी दुई टोलीको खेल थप रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ । 

जारी प्रतियोगितामा यी दुवै टोली अपराजित छन् । इटाली समूह ए र बेल्जियम समूह बीका विजेता टोली हुन् । बेल्जियमले प्रिक्वार्टरफाइनल चरणमा साविक विजेता पोर्चुगललाई निर्धारित ९० मिनेटभित्रै १–० ले पराजित गरेको थियो । इटालीलाई भने प्रिक्वार्टरफाइनलमा अस्ट्रियालाई पराजित गर्न अतिरिक्त ३० मिनेट मिहिनेत गर्नुपरेको थियो । यद्यपि, इटाली आफ्नो पछिल्लो ३१ खेलदेखि अपराजित छ । 

यो प्रतिस्पर्धा इटालीको रक्षापंक्तिविरुद्ध बेल्जियमको अग्रपंक्ति को हुने निश्चित जस्तै छ । इटालीको रक्षापंक्ति प्रतियोगिताकै सर्वाधिक बलियो देखिएको छ । उनीहरूले प्रतियोगिताको पछिल्लो चार खेलमा मात्रै एक गोल व्यहोरेका छन् । 

रोमेलु लुकाकुको नेतृत्वमा बेल्जियमको अग्रपंक्ति निकै बलियो देखिएको छ । यद्यपि, बेल्जियमलाई महत्वपूर्ण प्रतिस्पर्धाअघि आफ्नो महत्वपूर्ण खेलाडीको चोटले सताएको छ । पोर्चुगलविरुद्धको खेलमा कप्तान इडेन हाजार्ड र मिडफिल्डर केभिन डी ब्रुनी चोटग्रस्त बनेका थिए । इटालीविरुद्धको खेलमा उनीहरू पूर्ण फिट हुनेमा आशंका गरिएको छ ।

बेल्जियम र इटाली युरोकपमा एकअर्काविरुद्ध छैटौँपटक प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघिका पाँच भेटमा इटाली सफल छ । दुई खेलमा इटालीले जित हात पारेको छ भने बेल्जियम एक खेलमा विजयी भएको छ । दुई खेल बराबरीमा रोकिएको छ । पछिल्लोपटक गत संस्करणको समूहगत चरणमा भएको प्रतिस्पर्धामा इटाली २–० ले विजयी भएको थियो ।

क्वार्टरफाइनल चरणको दोस्रो खेल
इटालीविरुद्ध बेल्जियम (राति १२ः४५ बजे, म्युनिख, जर्मनी)

बेल्जियमका प्रशिक्षक रोबर्टाे मार्टिनेज भन्छन्, ‘इटाली सुरुवातबाटै आक्रामक रूपमा प्रस्तुत हुनेछ । उनीहरू सशक्त टोली छन् । उनीहरूका प्रत्येक खेलाडीले आफ्नो जिम्मेवारी बुझेका छन् । हामीले पोर्चुगलविरुद्ध गरेको जस्तै प्रदर्शन अझै आवश्यक छ । विशेषगरी कुनै पनि टोलीले नकआउट चरणमा त्यसरी खेल्दैनन् । तर, भाग्यवश हामीले उक्त खेलबाट रिकभर हुनका लागि केही दिनको आराम पाएका छौँ ।’

बेल्जियमका मिडफिल्डर थोर्गन हाजार्ड भन्छन्, ‘इटाली अहिलेसम्म हामीले प्रतिस्पर्धा गरेको मध्ये कठिन प्रतिद्वन्द्वी हुनेछ । उनीहरू पछिल्लो लामो समयदेखि नियमित जितको यात्रामा छन् । त्यसैले हामीलाई उनीहरूको यो जितको यात्रालाई रोक्ने राम्रो अवसर छ । उनीहरूको खेल्ने शैली हामीलाई सुहाउँछ जस्तो लाग्छ । उनीहरूविरुद्ध हामी सफल हुनेछौँ । यद्यपि, खेल सोचेजस्तो सहज भने पक्कै हुनैछैन ।’

इटालीका मिडफिल्डर जोर्जिन्हो भन्छन्, ‘हामीले धेरै मिहिनेत गरेका छौँ । त्यसकै प्रतिफलस्वरूप यहाँसम्म आइपुगेका छौँ । अहिलेसम्म हामीले टिम गेम खेलेका छौँ । हाम्रा लागि व्यक्तिगतभन्दा पनि टोलीको सफलता महत्वपूर्ण हो । अहिलेसम्म हामी सही बाटोमा छौँ । आगामी सफलताका लागि थप मिहिनेत गर्न आवश्यक छ । त्यसका लागि हामी तयार छौँ ।’

तथ्यमा युरोकप २०२०

युरोकप २०२० च्याम्पियनसिपको समूह चरण र प्रिक्वार्टरफाइनल हुने कुल ५१ मध्ये ४४ खेल पूरा भएका छन् । अब सात खेलबाट १६औँ संस्करणको युरोकपको विजेता छिनोफानो हुन्छ ।

हालसम्म भएका ४४ खेलमा १२३ गोल भएका छन् । यसपटकको युरोकपमा प्रति ३२ मिनेटमा एक गोल भएको छ । प्रतिखेल गोल औसत २.८० रहेको छ । प्रिक्वार्टरफाइनल खेलको नतिजापछि खेलको ४६–९० मिनेटमा ७० गोल भएको छ । 

प्रिक्वार्टरफाइनलमा फ्रान्स र स्विट्जरल्यान्डबीचको नतिजा ट्राइब्रेकरबाट भएको थियो । तथ्यांकअनुसार तीनपटकको युरोकप विजेता स्पेनले यसपटक विपक्षी पोस्टमा ११ गोल गरिसकेको छ । त्यसपछि इटाली र डेनमार्कले समान ९ गोल गरेका छन् । नेदरल्यान्ड्स र बेल्जियमले आठ गोल गरेका छन् । पोर्चुगल, फ्रान्स, क्रोएसिया र स्विट्जटरल्यान्डले विपक्षी पोस्टमा ७–७ गोल गरेका छन् ।

प्रिक्वार्टरफाइनलसम्म पनि स्पेन बल पोसेसनमा निकै अघि छ । चालू युरोकपमा बल पोसेसन सबैभन्दा धेरै राख्ने टोली स्पेन नै हो । अहिलेसम्मको चार खेलमा समग्रमा स्पेनले ६७.५ प्रतिशत बल पोसेसन बनाएको छ । इंग्ल्यान्डसँग २–० ले पराजित हुँदै प्रिक्वार्टरफाइनलबाट बाहिरिएको जर्मनी दोस्रो स्थानमा छ । जर्मनीले ५९.३ प्रतिशत र डेनमार्कले ५६ प्रतिशत बल पोसेसन बनाएका छन् । 

समूह चरणमा जस्तै प्रिक्वार्टरफाइलनमा पनि जर्मन खेलाडीले एक आपसमा दिने पास उत्कृष्ट रह्यो । जम्मा चार खेलमा जर्मनीको पासिङ एक्युरिसी ८९.३ प्रतिशत रहेको छ । साविक उपविजेता फ्रान्स र स्पेनका पासिङ क्युरिसी ८९ प्रतिशत छ । साविक विजेता पोर्चुगल प्रिक्वार्टरफाइनलबाट बाहिरियो, उसको पासिङ एक्युरिसी पनि ८८ र बेल्जियमको ८७.८ प्रतिशत रहेको तथ्य छ । 

यसपटक इटालीको खेलमा दर्शकहरूले निकै परिवर्तन देखेका छन् । केही वर्षअगाडिको इटाली टोली एट्याकिङभन्दा डिफेन्स रणनीति हुन्थ्यो । तर, चालू युरोकपमा भने इटालीले पूरै आक्रामक शैलीमा प्रतिस्पर्धा गरिरहेको छ । प्रिक्वार्टरफाइनल चरण पार गर्दासम्म इटाली सहभागीमध्ये नै धेरैपटक गोल प्रयास गरेको टोली बनेको छ । 

इटालीले चार खेलमा ८७ पटक गोल प्रयास गरेको छ । जसमध्ये डिबक्सभित्रबाट २३ पटक गोल प्रयास गरेको छ । त्यसपछि डेनमार्क उत्कृष्ट लयमा छ । मिडफिल्ड र फिनिसिङ पक्ष बलियो बनाएको डेनमार्कले ७७ पटक गोल प्रयास गरेको छ । मैदानमा बढी बल पोसेसन बनाएको स्पेनले तेस्रो स्थानमा रहँदै ६८ पटक गोल प्रयास गर्‍यो । प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको हंगेरीले भने जम्मा १८ पटक मात्रै गोलका लागि प्रयास गरेको छ ।

व्यक्तिगत गोलतर्फ पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो अगाडि छन् । उनी पाँच गोलका साथ शीर्ष स्थानमा छन् । रोनाल्डोलाई स्विट्जरल्यान्डका प्याट्रिक सिकले पछ्याइरहेका छन् । प्याट्रिकले चार खेलमा चारै गोल गरेका छन् । आउँदा खेलमा थप गोल गर्दा प्याट्रिकको गोल्डेन बुट जित्ने सम्भावना धेरै छ । फ्रान्सका करिम बेन्जिमा र स्विडेनका फोसवर्गले पनि समान चार गोल गरेका छन् । फ्रान्स र स्विडेन भने प्रतियोगिताबाट बाहिरिसकेका छन् ।