केपी ओलीको दाबी– कांग्रेस प्रचण्डपथमा हिँड्यो, माधव नेपाल शेरबहादुरको कार्यकर्ता, प्रचण्डको पुच्छर (भिडियोसहित)

सोमबार, १४ असार, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले कांग्रेस प्रचण्डपथमा हिँडेको टिप्पणी गरेका छन् । जननेता स्व. मदन भण्डारीको ७०औँ जन्मजयन्तीको अवसरमा सोमबार काठमाडौंमा आयोजत कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेस प्रचण्डपथमा हिँडेको आरोप लगाएका हुन् । 

उनले कांग्रेसका नेताहरू नाथुराम गोड्से खोजी गर्ने र फेला नपरे नाथुराम गोड्से आफैँ हुने तहमा पुगेको दाबी गरे । कांग्रेस प्रचण्डपथमा हिँडेपछि प्रचण्डपथको छाया न्यायालयमा पनि परेको ओलीले जिकिर गरे । 

उनले भने, ‘कांग्रेस प्रचण्डपथमा हिँडेपछि कांग्रेसका नेताहरू नाथुराम गोड्से खोजी गर्ने, खोजी गर्दा भेटिएन भने नाथुराम गोड्से आफैँ हुने तहमा पुगेको भनेको प्रचण्डपथ नै अँगालेको हो । उसै त अराजनीतिक अस्थिरताको खेती । देश कता जान्छ भन्ने मतलब छैन । त्यो कुरामा पुग्नु भनेको स्वाभाविक रूपमा प्रचण्डपथ नै अँगालेको हो । प्रचण्डपथ यति व्याप्त भइसक्यो । नेपाली कांग्रेसले अँगालेपछि, त्यसलाई आफ्नो मार्गदर्शक सिद्धान्त कांग्रेसले बनाएपछि अहिले प्रचण्डपथ सुप्रिप कोर्टमा पनि चर्चा हुन्छ । फ्रान्स र बेलायतका राजाहरू किन काटिन्थे भन्दा अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले गरेजस्तै गर्दा रहेछन् र पो काटिँदा रहेछन् । अथवा अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काट्नुपर्छ । यो कुरा त प्रचण्डका एकजना कार्यकर्ताले त सर्वोच्च अदालतमा नै भने । कांग्रेसका कार्यकर्ताले नाथुराम गोड्से मै बन्छु भने ।’

ओलीले सर्वोच्च अदालतभित्रै हिंसालाई दुरुत्साहन गर्ने काम भइरहँदा पनि मौन बसेको भनी सर्वोच्च अदालतका न्यायाधीशको भूमिकाप्रति असन्तुष्टि जनाए । उनले भने, ‘आश्चर्य लाग्छ– सर्वोच्च अदालतले हिंसालाई यस्तो दुरुत्साहन गर्ने वक्तव्य दिँदा रोक्ने काम गरेको पाइएन । यस्तो हिंसालाई दुरुत्साहन गर्ने काम अदालतमा गर्नुहुन्न अथवा विद्वान् अभिवक्ताज्यूहरू तपाईंहरूले आफ्नो वक्तव्य सम्हालेर राख्नुहोस् भनेर के न्यायमूर्तिहरूले सुझाब पनि राख्न सक्नुुहुँदैन ?’

माधव नेपाल शेरबहादुरको कार्यकर्ता, प्रचण्डको पुच्छर
ओलीले एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकर्ता र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुच्छर भएको टिप्पणी गरे । नेपालले आफूले प्रधानमन्त्रीको प्रस्ताव गरेको भनी जनतामाझ झुटको राजनीति गरेको ओलीको जिकिर छ । 

ओलीले भने, ‘प्रधानमन्त्रीको प्रस्ताव मैले माधव नेपाल भन्ने व्यक्तिलाई राखेँ अरे । माधव नेपालले आफैँ भन्दै हिँडेका छन्, मलाई प्रधानमन्त्रीको प्रस्ताव राखे, तर म मान्दिनँ । म शेरबहादुर देउवाप्रति यति समर्पित छु । म देशलाई, पार्टीलाई, जनतालाई धोका दिन्छु । पार्टीलाई ध्वस्त पार्ने मैले कसम खाएको छु । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको छु । उनी शेरबहादुर देउवाको पार्टी नै ज्वइन गर्न पनि सक्छन् । कार्यकर्ता भएर हिँडेका छन् । प्रचण्डको पार्टी त उनलाई ज्वइन गर्नु नै छ । त्यो त उनको गन्तव्य नै हो । मैले धेरै अगाडि भनेको थिएँ । माधव नेपाल भनेको प्रचण्डको एउटा मामुली कार्यकर्ता हुन् । तर, धाक के लगाएर हिँडेका छन् भने प्रधानमन्त्री केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राखेका छन् । मलाई बौलाहा कुकुरले टोकेको छ र ? कोही काम नपाएर, कोही मान्छे नभेटाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला ?’

कहिले अध्यक्ष त कहिले प्रधानमन्त्रीको प्रस्ताव आएको छ भनी आफैँ आफ्नो महत्व बढाएर नेता नेपालले झुटको राजनीति गरेको ओलीले बताए । नेता नेपालले कम्युनिस्ट विचारधारा, सिद्धान्त र निष्ठा छोडेर प्रचण्डको पुच्छर भएको ओलीले आरोप लगाए । 

उनले भने, ‘यिनी एकढंगले भन्ने हो भने प्रचण्डको पुच्छर हुन् । जन्तु पूर्वतिर फर्कियो भने पुच्छर पश्चिमतिर हुन्छ, पश्चिमतिर फर्कियो भने त्यो (पुच्छर) पूर्वतिर हुन्छ । फर्किन्छ । पछाडि–पछाडि सँगै हुन्छ क्या त्यो । उनी यता जाउँ भने पछिपछि त्यतै लाग्छ । कांग्रेसतिर जाउँ भने त्यतै पछिपछि लाग्छ ।’

उनले पछिल्लो समय नेपाली राजनीतिमा नेता नेपालको चर्चा नाथुराम गोड्सेको रूपमा हुने गरेको टिप्पणी गरे । उनले भने, ‘माधव नेपाल भन्ने एकजना कांग्रेसका पछाडि कुद्ने मान्छे छन् । अहिले नेपालको राजनीतिमा सबैजसोले नै चिन्छन् प्रायः । किनभने असाध्यै चर्चा भइरहेको छ कि यतिसम्म पनि मान्छे पतन हुन सक्दोरहेछ । आफ्नो पार्टीको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षीको नेतृत्वमा सरकार बनाउने । कम्युनिस्ट आन्दोलन सिध्याउने अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भनेर हिँड्ने । यस्तो लाजसरम पचेको मान्छेको चर्चा सकारात्मक हिसाबले मात्रै होइन नकारात्मक हिसाबले हुन्छ नि । गान्धीको मात्रै चर्चा हुँदैन नाथुराम गोड्सेको पनि चर्चा हुन्छ ।’

प्रचण्ड छेपारोजस्तो
ओलीले प्रचण्डलाई सिद्धान्तको राजनीतिभन्दा अवसरवादी स्वार्थको राजनीतिमा लागेको टिप्पणी गरे । उनले लोकतान्त्रिक शासन प्रणालीविरुद्ध नै सशस्त्र युद्ध गरेर ठूलो मानवीय क्षति पु¥याएका प्रचण्डले कहिले गणतन्त्र आफूले ल्याएको त कहिले गणतन्त्रभन्दा राजाले नै राम्रो भन्दै हिँडेको बताए । 

प्रचण्डले छेपारोले जस्तो गरी स्वार्थ र परिवेशअनुसार धारणा बदल्दै हिँडेको ओलीले टिप्पणी छ । उनले भने, ‘प्रचण्डले अस्ति राष्ट्रपतिभन्दा त राजै राम्रो के–के भने क्यार.. मान्छेले छक्क माने । किन छक्क मान्ने छेपारोले रंग एक–एकछिनमा फेर्छ त । खैरो मुढामा गयो भने खैरो–खैरो खालको रंग बनाउँछ । अर्को हरियोमा गयो भने हरियो–हरियो रंग बनाउँछ । अलि कालो बोक्रो भएको ठाउँमा पुग्यो भने कालो–कालो बनाउँछ । छेपारोले रंग फेर्छ त । कहिले कम्फर्टेबल सरकार बनाइदिन्छु भन्छ, कहिले यस्तो हुँदा पनि हाम्रा लोकतान्त्रिक छिमेकीहरू के हेरेर बसेका छन् ? किन हस्तक्षेप गर्दैनन् भन्छ । कहिले गणतन्त्र ल्याउने मै हुँ भन्छ । कहिले गणतन्त्रभन्दा त राजतन्त्रै राम्रो भन्न पुग्छ । कहिले विदेशबाट हतियार ल्याएर नेपाली जनताको नरसंहार गर्छ ।’

जनमोर्चाको स्वार्थनीति 
ओलीले राष्ट्रिय जनमोर्चाको भूमिकामाथि पनि तिखो टिप्पणी गरे । जनमोर्चाले राजनीति र सिद्धान्तलाई नभई स्वार्थनीतिलाई केन्द्रभागमा राखेर काम गरेको ओलीको आरोप छ । ओलीले आफ्ना एकजना प्रतिनिधिलाई जसरी भए पनि मन्त्री बनाउने प्रयासमा कांग्रेसलाई समर्थन गरेको दाबी गरे । ओलीले पछिल्लो समय राजनीतिक दल र तिनका नेताले स्वार्थकेन्द्रित राजनीति गरेका कारण राजनीतिक सिद्धान्त, वर्गीय राजनीतिक, गन्तव्य र उद्देश्यका सवालहरू ओझेल पर्दै गएको उल्लेख गरे । 

भण्डारीको योगदानको चर्चा
विचारलाई व्यवहारमा कार्यान्वयन गर्ने संगठित प्रयास स्व. मदन भण्डारीले गरेको भन्दै ओलीले भण्डारीको राजनीतिक सोच, विचार, व्यवहार तथा समग्र योगदानको चर्चा गरे । भण्डारी शताब्दी नायक रहेको पनि उनले बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिमा नेता भण्डारीले पारेको प्रभावको ओलीले चर्चा गरेका थिए ।
 

सुझावित समाचार