मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी लन्डन
२०७८ असार ६ आइतबार ०८:५५:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

विम्बली रंगशालामा युरोकप २०२० को  फाइनल खेल नहुने सम्भावना

Read Time : > 2 मिनेट
एजेन्सी लन्डन
२०७८ असार ६ आइतबार ०८:५५:००

युरोकप २०२० को आयोजक युइएफएले फाइनल खेल हुने भनिएको पूर्वनिर्धारित रंगशाला परिवर्तन गर्ने मनसाय बनाएको छ । युइएफएले लन्डनस्थित विम्बली रंंगशालामा युरोकप फाइनल तथा सेमिफाइनल खेलाउने यसअघि निर्णय गरेको थियो । फाइनलमा आउने विशिष्ट पाहुना, अफिसियल तथा २५ सय भिभिआइपीका लागि क्वारेन्टाइन बन्दोबस्त बेलायतले गर्नुपर्ने प्रस्ताव युइएफले राखेको छ । आवश्यक परे बेलायतले समर्थकहरूलाई पनि क्वारेन्टाइनको व्यवस्था मिलाउनुपर्ने युइएफएको भनाइ छ । तर, बेलायत सरकारले सन्तोषजनक निर्णय गर्न नसकेका कारण दोस्रो विकल्पबारे विचार भइरहेको युइएफएले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

युइएफए र बेलायत सरकारबीच शुक्रबार यस सम्बन्धमा वार्तालाप भएको छ । यद्यपि, बेलायतको हालको क्वारेन्टाइन प्रतिबन्धलाई नजरमा राखेर त्यसका विकल्पबारे छलफल गरेको युइएफएले जनाएको छ । पछिल्लो समय कोरोना भाइरस संक्रमित बढेका कारण लकडाउन तत्कालका लागि नहटाउने पक्षमा बेलायत छ । लन्डनमा संक्रमित संख्या घटाउनेदेखि युरोकपको व्यवस्थापनसम्म मिलाउन बेलायत सरकारलाई गाह्रो परेको देखिन्छ । यी समस्याबीच युरोकपको फाइनल खेल परिवर्तन गर्न त्यति सहज नहुने युइएफएको भनाइ छ ।

‘आयोजक सहर नै कोभिडको चपेटामा छ भने त्यहाँ आउने समर्थक तथा भिआइपी पनि जोखिममा रहन सक्छन्, यसकारण हामीले सबैलाई सुरक्षित राख्न नै सुरक्षित स्थानमा फाइनल खेल खेलाउने तयारीमा लागेका हौँ,’ युइएफएको विज्ञप्तिमा भनिएको छ । बुढापेस्टस्थित पुस्कार एरिना रंगशालामा फाइनल खेलका लागि हंगेरीले तयारी अवस्थामा रहेको जानकारी दिएको छ । 

द टाइम्सका अनुसार बेलायत सरकारका मन्त्रीहरू भने युइएफए र फिफाका अफिसियल, राजनीतिज्ञ, प्रायोजक तथा ब्रोडकास्टका अधिकारीहरूलाई सेफ आइसोलेसनमा राख्ने पक्षमा छ । थप २५ सयजनाका लागि आइसोलेसन प्रबन्ध मिलाउन नसकिने उनीहरूले निष्कर्ष निकालेका छन् । 

युइएफए, फिफा तथा विश्व स्वास्थ्य संगठनले खेलाडीबाहेक विशेष म्याच हेर्न जाने र आउने व्यक्तिहरूलाई कम्तीमा दश दिनको आइसोलेसन बस्नुपर्ने नियम बनाएको छ । युरोकपकै आयोजकमध्ये एक टर्की कोरोनाको रातो घेरामा छ । टर्की रातो जोनमा रहेका कारण यहाँ विशिष्ट पाहुनाहरू त्यति जान मानिरहेका छैनन् ।

लन्डनले नकआउट चरणसम्म आउने विशिष्ट पाहुनालगायत अन्य व्यक्तिहरूका लागि ५० प्रतिशत आइसोलेसनको व्यवस्था मिलाउन सक्ने जनाएको छ । विम्बली रंगशालामा २०२०–०२१     को युइएफए च्याम्पियन्स लिगको फाइनल भएको थियो । विम्बलीले च्याम्पियन्स लिगको सफलतापूर्वक आयोजना गरेका कारण पनि युरोकपको उपाधि छिनोफानो यहीँ नै हुनुपर्ने बेलायती पक्षले जोड गरिरहेको छ । 

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले विम्बलीमा युरोकप फाइनल खेलाउन पाउँदा सन् २०३० को विश्वकप दाबेदारी दिन सहज हुने प्रतिक्रया दिएका छन् । बेलायतले सन् १९६६ पछि विश्वकप आयोजना गरेको छैन । 

आयोजकद्वारा सहभागी टोलीलाई चेतावनी
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो तथा फ्रान्सका मिडफिल्डर पाउल पोग्बाले युरोकपका प्रायोजकले राखेको बोतल हटाएको समाचार सनसनी बनिरहेका छन् । रोनाल्डोले हंगेरीविरुद्धको खेलअघिको पत्रकार सम्मेलनमा कोकाकोलाको बोतल हटाएर मिनरल वाटर पिउनुपर्ने सुझाब दिए । रोनाल्डोको यो कार्यले भोलिपल्ट नै विश्वप्रसिद्ध कोकाकोलाको ब्रान्ड भ्यालु तथा सेयर मार्केटमा एक्कासि घट्यो । 

कोकाकोलाले एकै दिन सेयर बजारमा चार अर्ब डलर नोक्सानी सहनुपर्‍यो । कोकाकोला युरोकपकै मुख्य प्रायोजक हो । त्यसै दिन पोग्बाले सहआयोजक बियर कम्पनी हेनेकेनको बोतल साइडमा राखे । यद्यपि, यो बियर कम्पनीले कुनै नोक्सानी व्यहोर्नुपरेन । अर्को दिन इटालीका मानुएल लोकाटेलीले पनि कोकाकोलाको स्थानमा पानीको बोतल नै प्रयोग गरेका थिए । तर, यी तीनवटा घटनाले युइएफएले ठूलो समस्याको सामना गरिरहेको एजेन्सीहरूले जनाएका छन् । 

प्रतियोगिताकै मुख्य प्रायोजक कम्पनीले प्रवद्र्धन गर्न राखिएको बोतल हटाउँदा मार्केटमा यसको प्रभाव नराम्रो परेको युइएफएले जनाएको छ । प्रायोजकहरूलाई हतोत्साहित गर्ने काम भइरहेको युइएफएको भनाइ छ । यसैकारण आउँदा दिनमा कुनै पनि खेलाडीले यस्ता कार्य गरेका खण्डमा सहभागी टोलीलाई नै कारबाही गर्ने चेतावनी युइएफएले दिएको छ । 

‘युइएफए सहभागी टोलीहरूलाई यो सम्झाउन चाहन्छ कि प्रतियोगिताका पार्टनरहरूको प्रवद्र्धन गर्नुपर्छ, उनीहरूलाई निरुत्साहित गर्नुहुँदैन, यस किसिमको प्रायोजकहरूकै कारण फुटबलको विकास तथा युरोकपजस्तो ठूलो प्रतियोगिता आयोजना गर्न सकिन्छ,’ युइएफएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यी विश्वप्रसिद्ध कम्पनीहरूको सहयोगमा विश्वभरि नै पुरुष तथा महिला खेलाडीहरूको विकास भइरहेको छ ।’ 

युरोकप २०२० फुटबल प्रतियोगिताकै डाइरेक्टर मार्टिन कालेनले खेलाडीहरूलाई आयोजकको नियम पालना गर्न आग्रह गरेका छन् । खेलाडीहरूले नियम पालना नगरेको अवस्थामा टोलीलाई कारबाही गर्न विवश हुने उनले चेतावनी दिएका छन् ।

‘हामी र सम्बन्धित फुटबल संघबीच सम्झौता भएको छ, त्यही सम्झौताअनुसार नियम पालना सबैले गर्नुपर्छ, सम्झौता पालना नगराउने पक्ष नै कारबाहीको भागेदारी हुनुपर्छ,’ मार्टिनले भने । धर्मसँग जोडिएका कारण पोग्बाको कार्यप्रति कुनै विमति नभएको उनले जनाए । युइएफएले खेलाडीहरूलाई कारबाही भने नगर्ने प्रतिबद्धता दिएको छ । ‘हामी कहिल्यै खेलाडीहरूलाई दण्डित गर्ने पक्षमा छैनौँ, युइएफए सधैँ खेलाडीहरूकै पक्षमा छ,’ उनले भने । 

इंग्ल्यान्डको बम्पर घोषणा
इंग्ल्यान्डले युरोकप उपाधि जितेको छैन । इंग्ल्यान्ड यसपटक पहिलोपटक च्याम्पियन हुने लक्ष्यका साथ मैदानमा प्रस्तुति दिइरहेको छ । सन् १९६६ पछि इंग्ल्यान्ड विश्वकपबाहेक अन्य फुटबल प्रतियोगिता जितेको छैन । खेलाडीहरूलाई हौसला प्रदान गर्न र युरोकपमा उत्कृष्ट प्रदर्शन गर्नका निमित्त इंग्ल्यान्डले खेलाडीलाई हौसला प्रदान गर्न बम्पर रकमको घोषणा गरेको छ । 

यदि यसपटक इंग्ल्यान्ड च्याम्पियन भए सिंगो टोलीलाई १२ मिलियन पाउन्ड दिने घोषणा भएको छ । यो रकम सन् २०१८ को विश्वकपभन्दा पनि दोहोरो हो । यसका साथै प्रत्येक खेलाडीले चार लाख ६१ हजार पाउन्ड थप पाउनेछन् । यसका साथै इंग्ल्यान्डले फाइनलसम्मको यात्रा गर्दा प्राप्त गर्ने सबै रकमको ४० प्रतिशत पनि खेलाडीलाई दिने भएको छ ।