![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/chame2021-06-19-02-45-19.jpeg)
मनाङको मनाङ मिस्याङ गाउँपालिकास्थित हुम्देमा पहिरो जाँदा मर्स्याङ्दी नदी थुनिएकाे छ । शनिबार मनाङ मिस्याङ गाउँपालिकास्थित हुम्डे एयरपोर्ट क्षेत्रभन्दा केही माथि पहिरो आएर मर्स्याङ्दी थुनिएको हो ।
मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले नदीको बहाव बढ्दै गएकाले चामे बजार जोखिममा रहेको बताए । उनका अनुसार अहिले नेपाली सेनामार्फत बम विष्फोट गराई मर्स्याङ्दी खुलाउने तयारी भएको छ ।
थुनिएको मर्स्याड्दी नदी खुलाउन हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी लागिपरेका छन् । मर्स्याङ्दी नदी थुनिएर चामेको पारिपट्टिको भक्तपुर क्षेत्रसमेत डुबानमा परेको स्थानीय सुशीला लामाले बताइन्।
घट्टेखोलाबाट बगेको बाढीले ढुंगामुढा बगाएर थुपारिदिएपछि चामेमा मर्स्याङ्दी नदी ताल बनेको छ । बाढीले चामेबाट माथिल्लो मनाङ जाने बेलिब्रिजसमेत कटान गरेको मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले बताए ।
चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले पानीको बहाव बढिरहेकाले स्थानीयलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन् ।
नदी जुनसुकै वेला पनि फुट्न सक्ने भन्दै मनाङ प्रशासनले नदीछेउ नजानका लागि मनाङसँगै मर्स्याङ्दी काेरिडोरमा पर्ने लमजुङ र तनहुँका बासिन्दासमेतलाई आग्रह गरेको छ ।