मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असार ४ शुक्रबार
  • Saturday, 12 July, 2025
शान्ति तामाङ काठमाडौं
२o७८ असार ४ शुक्रबार o५:५१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौं महानगरको नीति तथा कार्यक्रम सार्वजनिक : अधिकांश कार्यक्रम पुरानै, कांग्रेस जनप्रतिनिधिद्वारा नगरसभा बहिष्कार

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार ४ शुक्रबार o५:५१:oo

अधिकांश पुरानै कार्यक्रमलाई दोहोर्‍याउँदै काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नवौँ नगरसभाको पहिलो बैठकमा सार्वजनिक भएको नीति–तथा कार्यक्रममा महानगरपालिकाले कोभिडलक्षित केही कार्यक्रमबाहेक धेरै कार्यक्रम दोहोर्‍याएको हो । 

मेयर उज्यालो कार्यक्रमअन्तर्गत सार्वजनिक स्थल तथा सडकहरूमा स्वचालित सडकबत्ती जडान गर्ने, माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन बनाउने, थापाथली पुलदेखि शंखमूलसम्मको नदी किनारालाई हरियाली तथा खुला क्षेत्रको रूपमा विकास गर्नेे, छाडा पशुहरूका कारणबाट हुन सक्ने सडक दुर्घटना, मानवीय क्षति र रोगको जोखिमलाई न्यूनीकरण गर्न बहुद्देश्यीय परियोजनामार्फत आवश्यक प्रबन्ध मिलाइनेलगायत दर्जनौँ कार्यक्रम दोहोरिएका हुन् ।

त्यसैगरी, काष्ठमण्डप पुनर्निर्माण गत आर्थिक वर्षमै सकाउने भनिएको थियो । तर, यो वर्ष पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । युवापुस्ताको नवीन सोच र प्रविधिप्रतिको आकर्षणलाई बढावा दिन काठमाडौं बिजनेस हबको स्थापना गरिने, भद्रकाली मन्दिर महांकाल मन्दिर विकास, मर्मतसम्भार, जीर्णोद्धार गरिने, ब्रुमरले उठाएको धुलोलाई निर्माण कार्यमा उपयोग गरिने, नाकामा भेइकल क्लिनिङ सेन्टर स्थापना कार्यक्रम पनि दोहोरिएका छन् । 

काठमाडौं महानगरपालिकाले सय बेडको ‘काठमाडौं महानगर विशेष अस्पताल’ स्थापना, विद्युतीय सवारी करमा शतप्रतिशत छुट, कोभिडको महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट, उपत्यका एकीकृत विकास कार्यक्रम अघि बढाउने, ‘पौरखी मेला’देखि ‘रिभल्विङ फन्ड’सम्मको योजना, एक वडा एक नमुना विद्यालय कार्यक्रम’ कक्षा ४ देखि नैतिक शिक्षा, महानगर डाटा बैंकको स्थापना, सम्पदा संरक्षण, ठमेल र वसन्तपुर क्षेत्रलाई पैदलयात्री मैत्री बनाउने, नाकामा भेइकल क्लिनिङ सेन्टर स्थापनाजस्ता विषयलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेको छ ।

उपमेयरसहित १५ जना कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नीति तथा कार्यक्रम बहिष्कार गरेका छन् । एजेन्डाविनाको नीति तथा कार्यक्रम आएकाले बहिष्कार गरिएको उपमेयर हरिप्रभा खड्गीले बताइन् । ‘महानगरमा सिस्टम कहिल्यै पनि बसेन । जहिल्यै कराएको करायै गर्दा पनि एजेन्डाविनाको नीति तथा कार्यक्रम आयो,’ उनले भनिन्, ‘अस्तिको बोर्ड बैठकमा दुई घन्टा पढेको भरमा नीति तथा कार्यक्रम आयो । नीति तथा कार्यक्रम तयार भएपछि हाम्रा कुरा राखिएन । मेयरज्यूले आफ्ना कुरा मात्र लाद्न खोज्नुभयो ।’

कोभिडविरुद्धको भ्याक्सिन किन्न बजेट छुट्याउनुपर्ने, वीर अस्पताललाई कोभिड अस्पताल बनाउनुपर्ने, सबैले कर तिर्न सक्ने गरी करको दायरा फराकिलो गर्नुपर्नेलगायतका विषयलाई नीति तथा कार्यक्रममा नसमेटिएको कांग्रेस जनप्रतिनिधिको भनाइ छ ।

‘विकास बजेटलाई हटाएर भए पनि खोप किन्ने कुरा कार्यक्रममा समेटिनुपर्ने हो, तर त्यसलाई बेवास्ता गरियो । महामारीको यो वेला मतदाता र करतादाको कुराभन्दा महानगरवासीको कुरा थियो,’ उपमेयर खड्गीले भनिन्, ‘करको दायरा फराकिलो गरी सबैले कर तिर्ने वातावण सिर्जना गरौँ । पानपसलेसम्मलाई करको दायरामा ल्याऔँ । त्यसका लागि कर घटाऔँभन्दा त्यो कुरा पनि नीति तथा कार्यक्रममा आएन ।’ उनले आफ्ना माग सम्बोधन नगरिए शुक्रबारको नगरसभा पनि बहिष्कार गर्ने बताइन् । महानगरमा उपमेयर खड्गी र १४ जना वडाध्यक्ष कांग्रेसबाट निर्वाचित छन् ।