मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
टेकराज थामी काठमाडाैं
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७८ असार ३ बिहीबार ०६:०९:००
Read Time : > 10 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सुरुवाती मनसुनको बाढीले ७ को मृत्यु, २७ बेपत्ता

Read Time : > 10 मिनेट
टेकराज थामी, काठमाडाैं
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७८ असार ३ बिहीबार ०६:०९:००

थप उद्धारका लागि उच्च सतर्कतामा सैनिक र प्रहरी

सिन्धुपाल्चोक : मेलम्ची र इन्द्रावतीमा आएको बाढीले दुईको मृत्यु, २० बेपत्ता, एक हजार विस्थापित, हेलम्बु र पाँचपोखरी–थाङ्पाल क्षेत्रमा उद्धार टोली पुग्न पाएन

मनाङ : बाढीले  ५५ घर डुबानमा, नासोँ गाउँपालिकाको कार्यालय, धारापानी सीमा प्रहरी चौकी, प्रभु बैंक र प्राइम कमर्सियल बैंकको भवन, थोंचे स्वास्थ्य चौकी र धारापानीका पाँचवटा होटेल बगायो

रसुवा : अविरल बर्षाका कारण पाँचवटा गाउँपालिकाका ३८ मानव बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको जिल्ला विपत् व्यवस्थापन समितिको निष्कर्ष । उच्च सतर्कता अपनाउन आह्वान ।

लमजुङ : दोर्दीखोलाको बाढीले हिलेबजारमा रहेका ११४ घरमध्ये १५ घर बगायाे ४५ घर उच्च जाेखिममा रहेकाे दोर्दी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तुलबहादुर घलेको भनाइ । विस्थापितलाई स्थानीय फलेनी माविको भवनमा आश्रय दिइएको छ । 

सप्तरी : खेतमा काम गरिरहेका बुवा किसुनदेव भण्डारीलाई खाजा पुर्‍याउन गएका बेल्हीका १३ वर्षीय बालक सन्तोष भण्डारीको भुतही बलान खोलाले बगाएर मृत्यु, सीमापारि भारतमा भेटियो शव ।

डोटी : खानेपानी अवरुद्ध भएपछि बनाउन मुहानमा गएका बासुदेवी देउकाँडाका खड्कबहादुर बमको पहिरोले पुरिएर मृत्यु । उनीसँगै रहेका १३ वर्षीया पुनी कुँवर र १६ वर्षीया पूजा कुँवर घाइते भएका छन्

मेलम्चीको होटेलमा बास बसेका मजदुरलाई उद्धार गर्दै सैनिक टोली । तस्बिर सौजन्य : नेपाली सेना  

मनसुन सुरु हुनासाथ आएको बाढीपहिरोमा परी देशभर सातजनाको ज्यान गएको छ भने २७ जना बेपत्ता छन् । दर्जनौँ घर बाढीले बगाउँदा हजारौँ बासिन्दा विस्थापित भएका छन् । 

बाढीले सिन्धुपाल्चोकमा दुई र बाजुरा, पाल्पा, सप्तरी, कास्की, डोटीमा एक–एकजनाको मृत्यु भएको छ । मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोेकमा २० जना बेपत्ता छन् । मेलम्ची र हेलम्बु क्षेत्रका करिब एक हजार बासिन्दा बाढीले विस्थापित भएका छन् ।

यता उद्धारको तयारी पनि सँगसँगै अघि बढेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकारी एवं सुरक्षाकर्मी विपत्को जोखिमबाट जनतालाई बचाउने ‘देवदूत’ बनेका छन् । विपत् क्षेत्रमा पठाउन नेपाल प्रहरीसँग करिब आठ हजार, सशस्त्र प्रहरीसँग एक हजार पाँच सय र नेपाली सेनासँग एक हजार दुई सयजना विशेषज्ञ छन् । आफ्नो ज्यानको बाजी थापेर उनीहरू उद्धारमा खटेका छन् । 

मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन भारी वर्षा हुने जनाएकाले नदी आसपासका क्षेत्रमा पानीको बहाव बढ्ने, पहिरो र डुबानसमेत हुने खतरा कायमै छ । भौगर्भिक दृष्टिले कतिपय स्थानहरू पहिरोको उच्च जोखिममा रहेकाले त्यस्ता स्थानमा बढी सतर्कता अपनाउनुपर्ने र सुरक्षित स्थलतर्फ स्थानान्तरण गर्नुपर्ने अवस्था छ । यिनै प्राकृतिक जोखिमसँग लड्न आवश्यक उपकरणसहित हाई अलर्टमा छन्, सुरक्षाकर्मी । विशेषज्ञसहित सुरक्षाकर्मीको टोली जोखिमपूर्ण क्षेत्रमा पुगेर रातदिन काम गरेका छन् । हरेक प्राकृतिक विपत्तिमा उनीहरू पीडितकहाँ पुगेका हुन्छन् । 

सम्भावित विपत्बाट पीडितलाई उद्धार गर्न तीनवटै सुरक्षा अंगलाई हाइअलर्ट रहन निर्देशन गरेको छ । निर्देशनअनुसार ७७ वटै जिल्लामा तीनवटै सुरक्षा अंगका सुरक्षाकर्मी तयारी अवस्थामा रहेका छन् । सरकारले स्थानीय तह, सम्बन्धित जिल्ला अधिकारी, सामाजिक संघसंस्थालाई तयारी अवस्थामा रहन निर्देशन गरेको छ । गृह मन्त्रालयको समन्वयमा सुरक्षाकर्मी परिचालन भएका छन् । सामाजिक संस्था परिचालन तथा उद्धारका बाँकी काम भने गृहअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा भइरहेको छ । 

गृहका सूचना अधिकारी खुमाकान्त आचार्यले विपत् न्यूनीकरण र उद्धारमा खटिन मातहतका सबै सुरक्षा अंगलाई अलर्टमा रहन निर्देशन भएको बताए । उनले भने, ‘बाढी–पहिरोबाट हुने सम्भावित क्षति रोक्न सरकार सक्रिय छ । उद्धारका लागि हाइअलर्टमा रहन मातहतका सबै सुरक्षा निकायलाई निर्देशन गइसकेको छ । सम्बन्धित सिडिओ कार्यालयलाई पनि अलर्टमा रहन र सामाजिक संघसंस्था, स्थानीय तहलाई परिचालन गर्न भनिएको छ ।’

नेपाल प्रहरीले ७७ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयलाई अलर्ट रहन भनेको छ । पीडितको उद्धारमा लाग्न, राहत सामग्री वितरणमा सघाउन निर्देशन छ । तराई क्षेत्रमा हुन सक्ने प्रकोप न्यूनीकरण गर्न र उद्धारका लागि मोटरबोट, रबरबोटलगायत सामग्री जिल्लामा पठाइसकिएको छ । नेपाल प्रहरीले यसका लागि विशेषगरी मातहतको प्रदेश प्रहरी कार्यालयमा जिम्मेवार बन्न निर्देशन गरेको छ । 

नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले आवश्यक उपकरणसहित नेपाल प्रहरीको टोली विपत् क्षेत्रमा खटिएको बताए । ‘स्थानीय तहको सानो इकाइसम्म पुगेको नेपाल सरकारको सुरक्षा संरचना नेपाल प्रहरी हो । त्यसो हुँदा सानोभन्दा सानो विपत्को घटनामा पनि प्रहरी खटिनुपर्ने अवस्था छ । यसका लागि हामीसँग करिब आठ हजारको संख्यामा विपत्मा खटिने डेडिकेटेड टिम छ । प्रत्येक टोलीलाई आवश्यकताअनुसार प्रदेश, जिल्ला र तल्लो युनिटसम्म खटाएका छौँ । सबैलाई अलर्ट रहन हामीले भनेका छौँ,’ प्रवक्ता कुँवरले भने, ‘यसरी खटिएका टोलीमा कम्तीमा प्रदेश तहमा एक सय २५ र जिल्ला तहमा ३० जनाको टोली हुन्छ । सबै डेडिकेटेड टिम हो । उद्धारका लागि विभिन्न उपकरण पनि आवश्यक पर्छ । त्यो पनि उपलब्ध गराएका छौँ ।’

उनले सहकार्य गरेर आफूहरूले विपत् क्षेत्रमा काम गरेको बताए । ‘उद्धारमा नेपाल प्रहरीको मात्रै जनशक्तिले भ्याउँदैन । त्यसो हुँदा थप सहयोगका लागि नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तह र विभिन्न संघसंस्थासँग पनि सहकार्य गर्नुपर्ने हुन्छ । यसका लागि हामीले सबै तयारी गरेका छौँ,’ प्रवक्ता कुँवरले भने । 

गृहका अनुसार सशस्त्र प्रहरीले पनि मातहतका ७७ वटै जिल्लाका गुल्मलाई हाइअलर्टमा रहन निर्देशन दिएको छ । उद्धारका लागि तयार विशेषज्ञ टोलीलाई पनि अलर्टमा रहन भनेको छ । सशस्त्रमा पनि त्यस्ता विशेषज्ञ टोली एक हजार पाँच सयको संख्यामा छन् । बाढीबाट उद्धार गर्न मोटर तथा रबरबोट तराईका जिल्लामा पठाइसकेको छ । 

नेपाली सेनाका अनुसार सम्भावित क्षति रोक्न र प्रकोपमा परेकालाई उद्धार गर्न सबै पृतनामा हेलिकोप्टर स्ट्यान्डबाई राखिएका छन् । मतहतका पृतना, गुल्म, गणमा तालिम प्राप्त सुरक्षाकर्मी पठाइसकिएको छ । उद्धारका लागि मात्रै कुल जनशक्तिको एकतिहाइ सुरक्षाकर्मीलाई अलर्ट रहन भनिएको छ । ती सबै जनशक्ति जुनसुकै वेला जहाँ पनि खटिने सक्ने गरी तयारी अवस्थामा राखिएको सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए ।

‘हामीले बाढी–पहिरोको प्रकोप हुन सक्ने ठाउँ पहिचान गरेका छौँ । त्यस्ता क्षेत्रको म्यापिङ नै छ । सोहीअनुसार जनशक्ति परिचालन गरेका छौँ । सम्भावित प्रकोपबाट उद्धार गर्ने उद्देश्यले ७७ वटै जिल्लामा सुरक्षाकर्मी पठाइसकेका छौँ । हेलिकोप्टर स्ट्यान्डबाई छन् । हाम्रो एकतिहाइ जनशक्ति यस कार्यमा खटिने गरी तयारी गरेका छौँ,’ सैनिक प्रवक्ता पौडेलले भने । 

सेनाका अनुसार तराई क्षेत्रमा बाढीको प्रकोप धेरै हुने भएकाले मोटरबोट, रबरबोटलगायका उद्धार उपकरण तयारी अवस्थामा राखिएका छन् । त्यसबाहेक उद्धारका लागि तयार विशेषज्ञ टोेलीलाई पनि आवश्यकताअनुसार सबै क्षेत्रमा परिचालन गरिएको छ । यसका कार्यमा स्थानीय तह, अन्य सुरक्षाकर्मी, सामाजिक संघसंस्था पनि परिचालन हुने सैनिक प्रवक्ता पौडेलले जानकारी दिए ।

उनले भने, ‘मोटरबोट तयार छ । रबरबोटलगायत उपकरण पनि तयारी नै छन् । त्यसबाहेक उद्धारका लागि विशेषज्ञ टोली पनि तयार गरेका छौँ । करिब १२ सयको विशेषज्ञ जनशक्ति छ, उनीहरूलाई आवश्यकताअनुसार परिचालन गरिसकिएको छ ।’ 

मेलम्ची क्षेत्रमा विनाश : आखिर पहिरो कहाँ गयो ? 

१. लाङटाङ हिमालसँगैको राष्ट्रिय निकुञ्ज क्षेत्रबाट तीन वटा खोला सुरु हुन्छन्, मेलम्ची, याङ्ग्री र लार्के । काठमाडौंमा मेलम्चीको मात्र पानी आएको छ । याङ्ग्री र लार्केको पानी पनि ल्याउन काम सुरु भएको छ । 

२. मेलम्ची खोला हेलम्बु, नाकोटे, अम्बाथान तिम्बु, तालामाराङ हुँदै मेलम्ची बजार आइपुग्छ । 

३.  त्यस्तै लाङटाङ क्षेत्रबाटै सुरु हुने याङ्ग्री खोला बरुवा हुँदै याङ्ग्री दोभानतर्फ आउँछ । 

४. त्यस्तै लाङटाङबाटै आएको लार्के खोला पनि भोताङ हुँदै याङ्ग्री दोभान आइपुग्छ । 

५. याङ्ग्री खोला र लार्के खोला दोभानमा मिसिएपछि इन्द्रावती नदीको नामले चिनिन्छ ।  

...                           ...  

देशभरजस्तै सिन्धुपाल्चोक क्षेत्रमा पनि शुक्रबारदेखि वर्षा सुरु भएको हो । मंगलबार पनि मेलम्चीबजारमा सिमसिम पानी परिहरेको थियो, तर माथि लाङटाङ क्षेत्रतर्फ भने ठूलै पानी परिरहेको थियो । मेलम्चीबाट इन्द्रावतीतर्फ करिब २२ किलोमिटर माथि रहेको वस्ती याङ्ग्रीमा बाढी आएपछि स्थानीय वासिन्दाको भागाभाग भयो । लार्के खोलाबाट आएको बाढीले याङ्ग्री वस्ती क्षतिग्रस्त बनायो । ज्यान बचाउन सफल त्यहाँका बासिन्दाले मेलम्चीतर्फ फोन गरेर इन्द्रावतीमा बाढी आएको जानकारी गराए । 

मंगलबार साँझ करिब पाँच बजेको थियो । लार्के–याङ्ग्री हुँदै इन्द्रावतीमा बाढी आउँदै छ भन्ने जानकारी पाएपछि मेलम्ची किनारका वासिन्दाहरू माथितर्फ सरे । नभन्दै ६ बजे बाढी आइपुग्यो । ठूलो बाढी देखेर स्थानीयहरू माथिमाथि सर्दैै गए । स्थानीयहरू उकालो लागिरहेका थिए । तर करिब सात बजेतिर मेलम्ची खोलामा पनि बाढी आयो । इन्द्रावतीमा मात्र बाढीको अपेक्षा गरेका सर्वसाधरण मेलम्चीमा पनि बाढी आएपछि झन् त्रसित भए । तर, इन्द्रावतीको डरले माथि सरिसकेकाले मेलम्ची बजारमा मानवीय क्षति हुन पाएन । 

इन्द्रावतीको पानी बजार पसेन । तर मेलम्चीको बाढीले भने बजारमा विध्वंश मच्चायो । बजारका ६० घर डुबे । बजारका मात्रै करिब तीन सय बासिन्दा विस्थापित भएका छन्  । राति भाग्न नपाएका दुई जना मजदुरलाई होटलबाट र एक जना सर्वसाधरणलाई निर्माणाधिन मनमोहन स्मृति भवनबाट सेनाको हेलिकोप्टरले उद्धार गरेको छ । 

करिब दुई दशकअघि मेलम्ची पल्लो भित्तातर्फ गएकोले वल्लो भित्ता बगर भएको थियो । त्यहाँ मेलम्ची नगरपालिकाले खेलकुदका लागि ‘कभर्ड हल’ बनाएको थियो । बाढीले पहिले कभर्ड हललाई पुरै बगाएर लग्यो र त्यहीँबाट बजारतर्फ पस्यो । कभर्ड हलको संरचना केहीबेर पक्की पुलको पोलमा अडियो । त्यसैले पानी झन् झन् माथि बढ्यो, बजार माथिसम्म डुब्यो । राति करिब दुई बजे मेलम्चीको पक्कि पुल पनि बग्यो । 

मेलम्ची बजारनजिकै क्रसरले रात दिन गिटी र बालुवा निकाल्दै आएका छन् । जग नै खनिएका पुलले बाढी थाम्न सकेन । बाढीको यो ताण्डव हेरेर मेलम्चीवासी सारा रात जागा थिए । 

बुधबार बिहानदेखि इन्द्रावतीको बाढी केही घटेको छ । तर, मेलम्चीको बाढी जस्ताको त्यस्तै छ । खासमा नदिमा पानीभन्दा धेरै लेदो र ढुंगा छ । २४ घन्टाभन्दा बढी समयदेखि लगातार लेदो र ढुंगा आउने गरी माथि के भत्किएको हो भन्ने अनुमान गर्न सकिएको छैन । मेलम्ची बजारभन्दा माथि अम्बाथानस्थित खानेपानीको ड्याम पुरै भत्किएको छ । खानेपानी आयोजनाको कुनै पनि संरचना अहिले देख्न सकिदैँन ।

माथि के भएको भनेर बुझ्न हेलिकोप्टरबाट हेलम्बु र पाँच पोखरी–थाङ्पाल गाउँ पालिकाका अध्यक्षहरूसहित सेनाको टोली गएको थियो । टोलीले नाकोतेमा पहिरो देखेको थियो । तर त्योभन्दा माथिबाट पनि लेदोसहितको बाढी आइरहेको टोलीले बताएको छ । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार मेलम्चीभन्दा ३५ किलोमिटर माथि काचेतसम्म पुग्दा पनि माथिबाट लेदोसहितको बाढी आइरहेको थियो । त्योभन्दा माथि जान नसिकएको टोलीले बताएको छ । त्यस्तै इन्द्रावतीतर्फ भोताङमा पनि पहिरो गएको स्थानीयहरूको भनाइ छ । यसरी लाङटाङ क्षेत्रमै पहिरो अथवा हिमपहिरो गएकोले मेलम्ची र इन्द्रावती दुवैतर्फ बाढी आएको अनुमान उद्धार टोलीले गरेको छ । थप अवलोकन बिहीबार हुँदै छ । 

मेलम्ची किनाराका सबै बस्ति क्षतिग्रस्त भएका छन् । नदि किरानामा भएको एउटा ट्राउट फर्म बगाउँदा कामदार तथा पाहुना गरी  सात जना एकै ठाउँबाट बगेका थिए । समग्रमा २० जनालाई बगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तर खोजि र उद्धार सफल हुन सकेको छैन । मेलम्ची वारीपारी र जोड्ने पाँच वटा पुल बगेकोले हेलम्बु र  पोखरी–थाङ्पाल गाउँपालिकासँगबो सडकसम्पर्क बिच्छेद भएको छ । त्यहाँ खाद्यान्न, लत्ताकपडा लगायतका राहतका सामग्री पनि पुर्‍याउन सकिएको छैन । त्यसमाथि बाढी लगातार आएकोले सर्वसाधरण त्रसित छन् । अहिले करिब तीन सय मान्छे मेलम्ची बजारमाथि उद्धार शिविरमा छन् । त्यहाँभन्दा माथिका बाढी पीडितको अवस्थाबारे कुनै पनि निकायबाट सम्पर्क स्थापित भएको छैन । 

बाढीपीडित मेलम्चीवासीको स्कुलमा वास : सडकसम्बन्ध विच्छेद भएकोले मेलम्चीपारीका बाढीपीडितको अवस्था अज्ञात

बाढीले घर डुबाएपछि हतार–हतार पोकापन्तरा बोकेर सडकमा आएका सर्वसाधारण । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

बाढीले सबैभन्दा बढी सिन्धुपाल्चोकमा क्षति पुर्‍याएको छ । मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोकमा २० जना बेपत्ता छन् । मेलम्ची र हेलम्बु क्षेत्रका करिब एक हजार बासिन्दा बाढीले विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत डिएसपी प्रकाश सापकोटाका अनुसार एकजनालाई नदीले बगाउँदै गरेको देखे पनि प्रहरीले समात्न सकेन । फेला परेका शव पनि सनाखत हुन सकेका छैनन् । 

जिल्ला प्रशासन कार्यालयका अनुसार हेलम्बु गाउँपालिका– २ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, ६५ वर्षीय टीकामाया खड्का र ४५ वर्षीय ज्ञानेन्द्र कक्षपति, वडा नम्बर ६ का च्याङगा तामाङ, काली तामाङ, वडा नम्बर ३ की साइँली तामाङ, चौतारा साँगाचोकगढी नगरपालिकाका सुरेन्द्र नेपाल, त्रिपुरा सुन्दरी– १ का विमल खत्री, राम थापा, सुवास जिरेल, कमल खत्री, होमराज घिमिरे र रेसमलाल सार्की बेपत्ता छन् ।

त्यस्तै, भारतीय नागरिकहरू कमललोचन महतो, विजय वासुमन्तरी र जिनडाओ वासुमन्तरी तथा चिनियाँ नागरिकहरू सन यु चुवान, यु चि झु र गोङ टियान छियो पनि बेपत्ता छन् । उनीहरू मेलम्ची खानेपानी आयोजनामा काम गर्ने ठेकेदार कम्पनी सिनो हाइड्रोका कर्मचारी हुन् । 

मेलम्ची बजारबाट विस्थापित भएका पाँच सयमध्ये तीन सय स्थानीयलाई सेनाले आफ्नै क्याम्पमा राखेर खान–बस्नको व्यवस्था मिलाएको छ । दुई सयजनालाई मेलम्चीस्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयमा राखिएको छ । त्यस्तै, हेलम्बु क्षेत्रबाट विस्थापित करिब पाँच सयलाई स्थानीयको सहयोगमा सेना, सशस्त्र र नेपाल प्रहरीले खान–बस्नको व्यवस्था प्रबन्ध गरेको छ । जिल्ला प्रशासन कार्यालयले भने मेलम्चीमा ६ सय र हेलम्बुका करिब तीन सय बासिन्दा प्रभावित अनुमान गरेको छ ।

बाढीले पुल बगाउनुका साथै सडक कटान गरेकाले मेलम्ची–हेलम्बु सम्बन्धविच्छेद भएको छ । मंगलबार रातिबाटै विद्युत् आपूर्ति पनि अवरुद्ध भएकाले फोन सम्पर्क पनि हुन सकेको छैन । जसका कारण हेलम्बु क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिको यकिन विवरण अझै आउन नसकेको प्रहरीले जनाएको छ । 

बाढीले तहसनहस गर्न थालेपछि मंगलबार साँझदेखि रातिसम्म नदी आसपासका बासिन्दा ज्यान जोगाउँदै उकालोतर्फ भागाभाग गरेका थिए । मुसलधारे पानी परिरहेकाले अन्धकार रातमा सुरक्षित स्थानतिर जान पनि उनीहरूलाई समस्या भएको थियो ।

हेलम्बु गाउँपालिका– २ गणेशेबगरमा पसल सञ्चालन गरेर बसेकी सुप्रभा गिरी राति ११ बजे दुइटा साना नानीलाई काखी च्यापेर उकालो लागिन् । सँगै उनका पति र वृद्ध सासू–ससुरा पनि थिए । ‘खोला धमिलो भए पनि बाढी र पहिरो सँगै आउँछ भन्ने अनुमान हामीले गरेका थिएनौँ,’ उनले भनिन्, ‘तर, जब साँझ छिप्पिँदै गयो, खोला पनि ठूलो गर्जनसहित बग्न थाल्यो । अनि भागाभाग भयो ।’ 

गिरी साँझ अबेरसम्म पसलमै थिइन् । पहिरो गएको भनिएको मेलम्चीघ्याङका स्थानीयले फोन गरेर उनलाई ‘बाढी ठूलो छ सुरक्षित रहनू’ भनेपछि परिवारसहित उकालोतर्फ लागेको उनले बताइन् । हेलम्बु, चनौटे र ग्याल्थुम क्षेत्रका स्थानीयमा भागदौड चलेको थियो । 

एक्कासि बाढी आएकाले स्थानीयले घरमा भएको अन्नपात र सरसामानसमेत निकाल्न पाएनन् । उनीहरूले झरीमा रुझ्दै भोकैभाकै रात बिताए । हेलम्बुका बस्ती बगाएर ल्याएको बाढीले राति २ बजे मेलम्ची र बाहुनेपाटीको पुल पनि बगायो । 

बाढीले मेलम्चीको पुरानो बजार, पुल बजार, आमा ह्योल्मो यातायातको बसपार्क क्षेत्रमा रहेका करिब ५० घर बगाएको छ । स्थानीय बासिन्दा शालिग्राम दुलालका अनुसार माथिल्लो क्षेत्रका बासिन्दाले ‘ठूलो बाढी आएकाले सुरक्षित रहनू’ भन्ने खबर गरेका कारण पनि मानवीय क्षति धेरै हुनबाट जोगिएको छ । ‘समयमै खबर पाएकाले मेलम्चीका बासिन्दा सुरक्षित स्थानतर्फ भाग्न पाए । मंगलबार साँझ करिब ६ बजेतिर फोन आएलगत्तै मान्छेहरूको भागाभाग भयो,’ उनले भने, ‘कति वेला कुनस्तरको बाढी आउने हो भन्ने अनुमान गर्न नसकेका स्थानीय बासिन्दा खाली हात भागे ।’

सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै स्थानीयले पनि मेलम्ची र हेलम्बु क्षेत्रमा उद्धार कार्य गरिरहेका छन् । दुई सय ५० सुरक्षाकर्मी उद्धारका लागि खटिएका छन् । सेनाको हेलिकोप्टरले मेलम्ची र हेलम्बु क्षेत्रबाट सातजनाको उद्धार गरेको छ । 

बुधबार सभामुख अग्निप्रसाद सापकोटा, स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ, राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा र बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाल पनि बाढी प्रभावित क्षेत्र पुगेका छन् । प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेल, मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्याल र हेलम्बुका अध्यक्ष निमाग्याल्जेन शेर्पासहितका जनप्रतिनिधि सम्मिलित आपत्कालीन बैठकले उद्धारलाई प्रभावकारी बनाउन सुरक्षाकर्मी परिचालनलाई व्यवस्थित बनाउने निर्णय गरेको छ ।

शुक्रबारसम्म मौसम सुधार नहुने

मनसुन देशैभर सक्रिय भई वर्षा भइरहेको र आगामी शुक्रबारसम्म सुधार हुने संकेत नरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले बताए । ‘देशैभर पानी परिरहेको छ, मध्यनेपाल केन्द्रित ठूलो वर्षा अन्यत्र पनि सरेको छ,’ उनले भने ।

मंगलबार गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी तथा बागमतीको पश्चिमी भूभागमा धेरै ठूलो पानी परेको थियो भने बुधबार दिउँसो कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीका केही क्षेत्रमा घनघोर वर्षा भएको महाशाखाले जनाएको छ । 

पौडेलका अनुसार देशभर मौसम बदली रहनेछ र अधिकांश स्थानमा पानी पर्नेछ । जसमध्ये सुदूरपश्चिम, लुम्बिनी र बागमती केही क्षेत्रमा ठूलो पानी पर्ने आकलन गरिएको छ । राति प्रदेश १ का केही क्षेत्रमा पनि ठूलो पानी पर्ने प्रक्षेपण गरिएको छ । शुक्रबार पनि देशका अधिकांश स्थानमा पानी पर्ने र सुदूरपश्चिम, लुम्बिनी र बागमतीका केही क्षेत्रमा ठूलो वर्षा हुनेछ ।

‘न्यूनचापीय रेखा माथि आएकाले वर्षा भएको हो । मनसुन सिजनमा यो वर्षालाई नर्मल नै मान्नुपर्छ,’ पौडेलले भने । नेपालमा २८ जेठमा मनसुन भित्रिएसँगै वर्षा सुरु भएको थियो । त्यसयता काठमाडौं उपत्यकामा पनि हरेक दिन पानी परिरहेको छ । 

अब तराईमा डुबान र बाढी बढ्ने 

सरकारले अब तराईका जिल्लामा डुबान र बाढीका घटना बढ्न सक्ने निष्कर्ष निकालेको छ । पछिल्ला दिनमा सिन्धुपाल्चोक, गोरखा, मनाङ, प्युठान, पाल्पा, स्याङ्जा, लमजुङ, अर्घाखाँची, कास्की, जुम्ला, जाजरकोट, डोटी र बाजुरामा बाढीपहिरोका घटना भएको गृह मन्त्रालयले जनाएको छ । पानी पर्ने क्रम रोकिएको छैन, बरु ठूलो वर्षा देशभर विस्तार भइरहेको छ । 

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बुधबार बालुवाटारमा बसेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले तराईमा बाढी र डुबानका घटना बढ्न सक्ने भएकाले सोही रणनीतिअनुसार प्रमुख जिल्ला अधिकारीलाई बन्दोबस्त मिलाउन निर्देशन दिएको छ । उद्धार र राहतका लागि आवश्यक पर्ने सामग्री जिल्लाजिल्ला पुर्‍याउने निर्णय पनि बैठकले गरेको हो । यो वर्ष बाढीपहिरोबाट १८ लाख जनसंख्या प्रभावित हुने आकलन गरिएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले तत्काल परोपकारी संस्थासहित संयुक्त समन्वयमा पूर्वतयारी, प्रतिकार्य, उद्धार, खोज र पुनस्र्थापनामा जुट्न निर्देशन दिएका थिए । विपत्सँग जुध्न स्रोत–साधनमा कुनै कमी हुन नदिइने भन्दै उनले जिल्ला विपत् व्यवस्थापन समितिलाई थप सक्रिय बनाउन निर्देशन दिएका छन् । 

असारको सुरुवातीमै बाढीपहिरोबाट क्षतिग्रस्त निजी घर पुनर्निर्माणका लागि लगत संकलन गरेर प्रक्रिया अगाडि बढाउने निर्णय पनि भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहप्रवक्ता वेदनिधि खनालले बताए । 

गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा रहेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ११औँ बैठक पनि बुधबार नै बसेको छ । बैठकले सिन्धुपाल्चोक, मनाङ, गुल्मी, कास्कीलगायत जिल्लामा बाढीपहिरोबाट क्षतिग्रस्त बनेका घर पुननिर्माण गर्ने निर्णय गरेको छ ।