मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
केदार दाहाल काठमाडाैं
२०७८ जेठ २४ सोमबार ०७:४४:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अन्तर्राष्ट्रिय एयरलाइन्सलाई हवाई इन्धनको मूल्यमा भारी कटौती

प्रतिकिलोलिटर आठ सय ९३ अमेरिकी डलर रहेको हवार्ई इन्धनको मूल्य घटेपछि सात सय १५ डलर हुने भएको छ, वायुसेवा निगमको मात्रै ७० करोड बचत, अन्तर्राष्ट्रिय यात्रुलाई २० प्रतिशतसम्म हवाई भाडा घट्न सक्ने

Read Time : > 2 मिनेट
केदार दाहाल, काठमाडाैं
२०७८ जेठ २४ सोमबार ०७:४४:००

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीलाई फाइदा हुने गरी हवार्ई इन्धनको मूल्यमा भारी कटौती गरेको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्यमा २० प्रतिशत कटौती गरेको हो ।  आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनमा ४० प्रतिशतसम्म नाफा गरेको थियो ।

वायुसेवा कम्पनीहरूले त्यस विषयमा लामो समयदेखि गुनासो गर्दै आएकोमा त्यसलाई सम्बोधन गर्दै निगमले मूल्य कटौती गरेको हो । प्रतिकिलोलिटर आठ सय ९३ अमेरिकी डलर रहेको हवार्ई इन्धनको मूल्य घटेपछि सात सय १५ डलर हुने भएको छ । यो निर्णयले नेपाल वायुसेवा निगमलाई सबैभन्दा बढी फाइदा हुने भएको छ । 

तेलको मूल्यका कारण पनि नेपाल आउने पर्यटकलाई भाडा महँगो भएको गुनासो आएको थियो । ‘आयल निगमको निर्णयले वायुसेवा निगमको वार्षिक खर्च ७० करोड हाराहारी बचत हुनेछ,’ वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले भने । निगमलाई फाइदा हुने मात्रै होइन, यसले यात्रुका लागि भाडासमेत सस्तो पर्न जाने उनको भनाइ छ । निगमले वार्षिक दुई अर्ब ९९ लाख रुपैयाँ हवार्ई इन्धनमा खर्च गर्दै आएको छ । 

नेपालमा २७ एयरलाइन्स कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । पर्यटन मन्त्रालयमा नेपाल वायुसेवा निगमसहित, कतार, साउदी तथा चीनबाट उडान गर्ने एयरलाइन्स कम्पनीले हवार्ई इन्धनको मूल्य घटाउनुपर्ने माग राख्दै आएका थिए । 
शतप्रतिशत महँगो तिरेको निगमलाई राहत
निगमले अन्तर्राष्ट्रिय हवार्ई इन्धनको मूल्यमा अत्यधिक नाफा राख्दा त्यसको भार राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई पर्ने गरेको थियो । अन्य विदेशी एयरलाइन्सले नेपालमा उडान गर्दा थोरै मात्रै हवार्ई इन्धन भर्छन् । तर, निगमले बाध्य भएर नेपालमै तेल भर्नुपर्छ । जसले गर्दा अन्य एयरलाइन्सको तुलनामा नेपाल एयरलाइन्सको हवार्ई इन्धन खर्च शतप्रतिशतसम्म महँगो भइरहेको छ ।

तेलमा मात्रै निगमले ४० प्रतिशत खर्च गर्नुपरेकाले पनि घटाउनुपर्ने माग आफूहरूको रहेको पौडेल बताउँछन् । ‘प्रधानमन्त्री केपी ओलीकै पहलमा तेलको मूल्य घटेको छ,’ पौडेलले भने । एक ग्यालन (३.७८५४ लिटर) तेल मलेसियाको क्वालालम्पुरमा १.३८ डलरमा पाइन्छ भने काठमाडौंमा करिब ३.५८ डलरसम्म पर्छ । मलेसियामा निगमले प्रतिलिटर ४३.८९ रुपैयाँमा जहाजमा तेल भर्ने गर्दछ । तर, सोही तेल काठमाडौं विमानस्थलमा प्रतिलिटर एक सय १३ रुपैयाँसम्म परेको थियो । 

निगमले आर्थिक वर्ष ०७६/७७ मा मात्रै ६ करोड ८३ लाख ७३ हजार आठ सय ६५ लिटर तेल भरेको थियो । जसका लागि दुई अर्ब ९९ लाख रुपैयाँ खर्च गरेको थियो । काठमाडौं विमानस्थलमा मात्रै एक वर्षमा एक करोड ३८ लाख ५५ हजार लिटर तेल खरिद गर्न निगमले एक अर्ब ५४ करोड खर्च गरेको छ । त्यस्तै, दिल्ली र बेंग्लोरमा एक करोड २५ लाख ३० हजार लिटर तेलका लागि ७१ करोड ९२ रुपैयाँ खर्च गरेको छ ।

भारतकै मुम्बईमा २३ लाख ८५ हजार लिटर तेलमा १३ करोड ९२ लाख ५७ हजार रुपैयाँ खर्च गरेको थियो । भारतमा निगमको प्रतिलिटर ४६ रुपैयाँ मात्रै खर्च हुने गरेको छ । निगमले गत वर्ष मलेसियामा २९ लाख ५१ हजार लिटर तेलमा २० करोड ४७ लाख खर्च गरेको थियो ।

मलेसियामा निगमलाई वार्षिक सरदर ४३ रुपैयाँ प्रतिलिटर खर्च पर्ने गरेको छ । निगमले हङकङमा २९ लाख ६७ हजार लिटर तेलमा १७ करोड १२ लाख रुपैयाँ खर्च गरेको छ । हङकङमा निगमलाई वार्षिक सरदर प्रतिलिटर ४४ रुपैयाँ पर्ने गर्दछ । निगमले बैंककमा आठ लाख ३५ हजार लिटर तेलमा १० करोड दुई लाख रुपैयाँ मात्रै खर्च गरेको छ । त्यस्तै, कतारको दोहामा एक करोड ४० लाख ३६ हजार लिटर तेल भरेको छ । जसमा ८५ करोड ३१ लाख ६२ हजार रुपैयाँ मात्रै खर्च गरेको थियो । निगमले दोहामा सरदर वार्षिक प्रतिलिटर ४४ रुपैयाँ खर्च गरेको छ । 

निगमले विभिन्न गन्तव्यमा वार्षिक खर्च गर्ने प्रतिलिटर रकम
गन्तव्य     तेलको मूल्य (वार्षिक सरदर)

काठमाडौं    ११३
आन्तरिकतर्फ काठमाडौं    ६६
दिल्ली    ४६.६९
 बेंग्लोर    ४७.११
मुम्बई    ४९.०८
क्वालालम्पुर    ४३.८९
हङकङ    ४४.२८
दोहा    ४४.२८
दुबई    ४४.६७
नारिता    ४५.२१