१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
केदार दाहाल काठमाडौं
२०७८ जेठ २० बिहीबार ०८:२४:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय  विमानस्थल निर्माण ६ महिना लम्बियो 

Read Time : > 2 मिनेट
केदार दाहाल, काठमाडौं
२०७८ जेठ २० बिहीबार ०८:२४:००

भैरहवा र पोखरामा निर्माणाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थल कोभिड–१९ को दोस्रो लहरसँगै सम्पन्न हुने समय फेरि लम्बिने निश्चित भएको छ । १० जुलाईसम्म निर्माण सम्पन्न गर्ने अवधि रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको मिति डिसेम्बरमा पुग्ने भएको छ । त्यस्तै, भैरहवा विमानस्थलमा केही प्राविधिक ल्याउन नसक्दा परीक्षण हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवा विमानस्थल गत १ वैशाखमा उद्घाटन गर्ने तयारी गरेका थिए ।  

यता पोखरामा विमानस्थलको निर्माण सम्पन्न हुने मिति सकिनै लाग्दा ७७ प्रतिशत मात्रै काम भएको आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए । ‘अहिलेकै अवस्थामा काम हुँदा पनि ६ महिना धकेलिने निश्चित भएको छ, बाँकी अब कसरी काम हुन्छ भन्नेमा निर्भर हुन्छ,’ प्रमुख मुनकर्मीले भने ।  

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको केही प्राविधिक काम मात्रै बाँकी रहेको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । ‘भैरहवा विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’ गर्न बाँकी रहेको, जसका लागि केही प्राविधिक आउनुपर्नेमा पुनः रोकिएको छ,’ प्रमुख अधिकारीले भने । उक्त उडानपछि आइकाओले विमानस्थलको क्याटागोरी छुट्याएर रुट फाइनल गर्नेछ ।  

अहिले पनि भैरहवामा चिनियाँ २० जना, भारतीय १८ जना र नेपाली ७० जनाले काम गरिरहेका छन् । गत फागुनमा अमेरिका तथा अस्ट्रेलियाबाट प्राविधिक ल्याएर धावनमार्गमा बत्ती जडानदेखि टर्मिनल भवनका प्राविधिक काम सम्पन्न गरिएको थियो । सेन्ट्रल एसी जडानका लागि आउने चिनियाँ प्राविधिक भने अड्किएको   अधिकारीले जानकारी दिए । यता पोखरामा अहिले पनि २ सय २० नेपाली र १ सय ८५ जना चिनियाँले भित्रै बसेर काम गरिरहेका छन् ।  

राष्ट्रिय गौरवका दुवै आयोजनाको काम नरोक्ने  भनिए पनि प्राविधिक काम आफैँ रोकिने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल बताउँछन् । ०७१ मा सुरु भएको भैरहवा विमानस्थल निर्माण ०७४ मै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । ‘दुवै आयोजना निर्माण सम्पन्न हुने समय केही पर धकेलिने भएको छ,’ महानिर्देशक पोखरेलले भने । प्राधिकरणका अनुसार भैरहवाको काम ९५ प्रतिशत सम्पन्न भएको छ भने पोखराको ७७ प्रतिशत सकिएको छ ।  

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले ०७१ माघ १ गते शिलान्यास गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सात वर्षपछि निर्माणको अन्तिम चरणमा पुगेको थियो । तर, फेरि केही समय लम्बिने भएको छ । सरकारले निर्माण कम्पनीका लागि पाँचौँपटकसम्म म्याद थप गरेर २०२० डिसेम्बरसम्म पुर्‍याएको थियो ।   

लुम्बिनी प्रदेशको विकासको ढोका खोल्ने आशा गरिएको विमानस्थलको निर्माण सम्पन्न हुने समय अझै टुंगो लाग्न सकेको छैन । ०७१ माघमा शिलान्यास भएको विमानस्थल समयमा काम भएको भए ०७४ पुस मसान्तमा सकिनुपथ्र्यो । स्थानीय ठेकेदारसँगको विवादले धेरै समय काम रोकिँदा लामो समय विमानस्थलको निर्माण कार्य पर धकेलिएको थियो । भूकम्प र मधेस आन्दोलनको अवरोधका कारण सन् २०१८ को जुनसम्ममा सम्पन्न गर्ने गरी म्याद थप गरिएको थियो ।

त्यसपछि बढाएर २८ जुन २०१९ मा सक्ने लक्ष्य लिए पनि केही काम बाँकी रहेपछि तेस्रोपटक थप गरेर डिसेम्बर २०१९ सम्म सम्पन्न गर्ने भनिएको थियो । २०१९ डिसेम्बरमा पनि सक्ने अवस्था नभएपछि परियोजनाले चौथोपटक म्याद थप गरेको थियो । आइसिपी–१ र आइसिपी–२ गरी विमानस्थलको निर्माण कार्य जारी छ । आइसिपी–१ अन्तर्गतका अधिकांश कामहरू सम्पन्न भइसकेका छन् भने आइसिपी–२ अन्तर्गतका कामहरू केही बाँकी रहेका छन् । 

आइसिपी–१ अन्तर्गत धावनमार्ग, ट्याक्सी वे, टर्मिनल भवनलगायत संरचना निर्माण सम्पन्न भइसकेका छन् । आइसिपी–२ अन्तर्गत हवाईजहाज, पाइलट र विमानस्थलबीचको समन्वयका लागि प्रविधि निर्माण रहेको छ । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सुरु भएको विमानस्थल निर्माण कार्य चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो ।  

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल करिब २२ अर्ब रुपैयाँ लागतमा सन् २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङले ०७४ साल असारदेखि विमानस्थलको काम सुरु गरेको थियो । हालसम्म धावनमार्ग (रनवे), आन्तरिक र बाह्य टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल (एटिसी) भवनलगायत विभिन्न १४ भवनको अधिकांश काम सकिएको जनाइएको छ ।