मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ जेठ १८ मंगलबार १८:५०:००
Read Time : > 2 मिनेट
प्रदेश डिजिटल संस्करण

निषेधाज्ञामा मिर्गौलापीडितलाई अस्पताल पुग्न समस्या

Read Time : > 2 मिनेट
२०७८ जेठ १८ मंगलबार १८:५०:००

मिर्गौला रोगबाट पीडित बैतडीको सुर्नया गाउँपालिका– ८, कठमोडाका धीरसिंह धामीले तीन सातायता डायलाइसिस गराउन पाएका छैनन् । निषेधाज्ञाका कारण सार्वजनिक यातायातका साधन बन्द भएपछि गाउँबाट धनगढी आउन नसक्दा उनले डायलाइसिस गराउन नपाएका हुन् ।

४० वर्षीय धामी पाँच महिनादेखि मिर्गाैला रोगबाट पीडित छन् । सुरुमा नेपालगन्ज र काठमाडौं उपचार गराएका उनले चार महिनादेखि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सातामा एक दिन डायलाइसिस गराउँदै आएका छन् । त्यसका लागि उनी गाउँबाटै धनगढी आउँछन् । लकडाउनयता सार्वजनिक यातायात बन्द भएपछि भने उनी डायलाइसिसका लागि धनगढी आउन पाएका छैनन् । 

गाडी बुकिङ गरेर जान सक्ने आर्थिक क्षमता नभएपछि डायलाइसिस गराउन नपाएको धामीले बताए । ‘गाडी चलेका छैनन्, बुकिङ गरेको १८–१९ हजार भन्छन्,’ नयाँ पत्रिकासँग फोनमा उनले भने, ‘भएको पैसा उपचारमै सकियो । हप्तैपिच्छे त्यत्रो पैसा तिर्न सक्ने क्षमता छैन ।’ करिब तीन सातासम्म डायलाइसिस नगराउँदा अहिलेसम्म उनलाई स्वास्थ्यमा समस्या भने देखिएको छैन । तर, जुनसुकै वेला पनि स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले उनी चिन्तामा छन् ।

धामीले सुरुमा सातामा दुईपटक डायलाइसिस गराउँथे । डाक्टरको सल्लाहअनुसार दुई महिनायता हप्तामा एक दिन गर्ने गरेको धामीले बताए । दुईपटक गराउँदा घरबाट आउन–जान समस्या भएपछि सजिलोका लागि केही समय उनी डोटीको बुडरमा आफ्नो भाइसँग बसे । हप्तामा एकपटक डायलाइसिस गराउनुपर्ने भएपछि दुई महिनायता भने उनी घरबाटै धनगढी आउने–जाने गर्छन् । 

गाउँमा सडक नपुगेकाले गाडी पाउने ठाउँ श्रीभावरसम्म पुग्न उनलाई पैदल हिँडेर दुई घन्टा लाग्छ । ‘श्रीभावरबाट बेलुकी गाडी चढे बिहान धनगढी पुग्थेँ, दिउँसो डायलाइसिस गराएर त्यही दिन बेलुकीको गाडीमा घर फर्कन्थेँ,’ धामीले भने, ‘दुई दिन श्रीभावर पुगेँ, गाडी नपाएर फर्केँ ।’ लकडाउनकै बीचमा एकपटक भने चिनेजानेका मान्छेको जिपमा धनगढी गएर डाइसाइसिस गराएको उनले बताए ।

डडेल्धुराको अमरगढी नगरपालिका– २, सोलपरीका शम्भु कठायत डायलाइसिसका गर्न निषेधाज्ञा खुल्ने पर्खाइमा छन् । लकडाउनले यातायात बन्द भएपछि उनले चार हप्तादेखि डायलाइसिस गराउन पाएका छैनन् । ५२ वर्षीय कठायतले एक वर्षयता सेतीमा हरेक हप्तामा एकपटक डायलाइसिस गराउँदै आएका छन् ।

‘गाडी नचल्दा जान पाएन । बुकिङ गर्दा १२ हजार पर्छ,’ उनले दुःखेसो पोखे, ‘आम्दानीको स्रोत केही छैन, हरेक हप्ता त्यति पैसा कहाँबाट ल्याउनु ?’ डडेल्धुराबाट सार्वजनिक बसमा आउँदा उनले चार सय रुपैयाँ भाडा तिर्थे । नियमित सेवन गर्दै आएको औषधि पनि अहिले सकिएको उनले बताए । डायलाइसिस गराउन नपाउँदा अहिले हिँड्न गाह्रो हुने गरेको कडायतले बताए । डडेल्धुरामा १९ वैशाखदेखि निषेधाज्ञा छ । 

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण सार्वजनिक यातायात बन्द हुँदा मिर्गौला रोगपीडितलाई अस्पताल पुग्न समस्या भएको छ । सुदूरपश्चिममा डायलाइसिसको सुविधा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मात्र छ । धनगढी आसपास बाहिरका बिरामीलाई समस्या भएको हो ।

सेतीमा सरकारसँग सम्झौता गरेर बिराङ हेल्थ केयर प्रालिले डायलाइसिस सेन्टर सञ्चालन गरिरहेको छ । दैनिक २१ जनाले पालोअनुसार डायलाइसिस गर्दै आएकोमा निषेधाज्ञायता दैनिक तीन–चारजना अनुपस्थित हुने गरेका डायलाइसिस सेन्टर प्रमुख दीपक भट्टले बताए । भट्टका अनुसार नियमित डायलाइसिय गराउनेमध्ये तीनजना सुदूरपश्चिमका पहाडी जिल्लाबाट यहाँ आउने गर्छन्् । अन्य बिरामी कैलाली, कञ्चनपुरमै बस्ने गरेका भट्टले बताए ।

पहाडी जिल्लाबाट आउने तीनैजना बिरामी निषेधाज्ञायता अनियमित रहेका भट्टले जानकारी दिए । यातायातका साधन नपाउँदा र बुकिङ गरेर ल्याउदा चर्को भाडा तिर्नुपर्ने भएकाले सातामा दुई दिन डायलाइसिस गराउनुपर्ने कतिपय बिरामी सातामा एक दिन मात्र आउने गरेका उनले बताए । विपन्न वर्गका बिरामी बढी मारमा परेका हुन् ।

सेतीमा सातामा दुई दिन डायलाइसिस गराउँदै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ४ का विमलकुमार वडले एक हजार रुपैयाँमा अटोरिक्सा बुक गरेर आउने गरेको बताए । पैसा नहुँदा दुई–तीनपटक सातामा एक दिन मात्र डायलाइसिस गराउँदा स्वास्थ्यमा समस्या देखिएपछि अहिले ऋण सापट गरेर पनि आइरहेको उनले बताए ।

‘पैसा नभएपछि तीनपटक हप्तामा एक दिन मात्र गराएँ, स्वास्थ्यमा समस्या आएपछि आफन्तसँग सरसापट गरेर नियमित आउँछु,’ उनले भने, ‘सधँै रिक्सा बुक गराएर आउन सक्ने अवस्था छैन ।’ धनगढीभन्दा बाहिरका कतिपय बिरामी चर्को भाडा तिरेर ई–रिक्सा बुकिङ गरेर आउने गरेका छन् । यातायात बन्द रहेका वेला गाडी बुकिङ गरेर आउन समस्या भएको उनीहरूको गुनासो छ ।