मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ १७ सोमबार १३:०५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले र जसपालाई विभाजन गराउन कांग्रेसले प्रधानमन्त्रीमा दाबी गर्‍यो : भानुभक्त ढकाल (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ १७ सोमबार १३:०५:००

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउन नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको आरोप लगाएका छन् ।  सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री ढकालले नेकपा (एमाले) र जनता समाजवादी पार्टीलाई विभाजन गराउने मनसायका साथ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेको बताएका हुन् ।  

दलीय व्यवस्थामा अरू दलका सांसदको समर्थन छ भन्नु गैरलोकतान्त्रिक भएको भन्दै उनले कांग्रेसले अरू पार्टीको आन्तरिक मामिलामा भाँजो हाल्ने काम गरेको आरोपसमेत लगाए । उनले भने, ‘आगामी आमनिर्वाचनमा जसपा र नेकपा (एमाले)लाई विभाजनमा लानको निम्ति आफू प्रधानमन्त्री हुने सर्तमा नै यी पार्टीहरू विभाजन गर्न सकिन्छ भन्ने उद्देश्यका साथ अरू पार्टीको आन्तरिक जीवन र मामिलामा हात हाल्ने, भाँजो सिर्जना गर्ने र पार्टी विभाजित गर्ने मनसायका साथ नेपाली कांग्रेसजस्तो आफूलाई बहुलवादी लोकतन्त्रको लागि नेतृत्व गरेर आएको छु भन्ने पार्टी अरुको घर झगडा गराएर यो खालको काममा लाग्ने कुरा एकदम गलत कुरा हो । दलीय व्यवस्थामा अरू दलको समर्थन मलाई छ भन्ने हाक्काहाक्की कसरी नेपाली कांग्रेसका नेतृत्वले भन्न सक्छ ? योभन्दा गैरलोकतान्त्रिक कुरा अरू केही हुन सक्छ जस्तो मलाई लाग्दैन ।’

मन्त्री ढकालले संविधानको धारा ७६ को उपधारा ५ को निर्दलीय कोणबाट व्याख्या गर्नु नहुने बताए ।  देशमा बहुदलीय शासन प्रणाली रहेको उल्लेख गर्दै यस प्रणालीभित्र निर्दलीय आचरणअनुरूपको राजनीति गर्न खोज्नु प्रतिगमन भएको उनले बताए । उनले भने, ‘धारा ७६(५) को जुन दाबीको कुरा आयो, त्यसलाई मान्छेहरूले निरपेक्ष र निर्दलीय कोणबाट व्याख्या गर्न खोजेका छन् । बहुदलीय शासन प्रणाली हाम्रो देशमा छ । यसले गर्दा दलीय शासन प्रणालीभित्र निर्दलीय आचरण र आकांक्षाअनुरूपको राजनीति फर्काउँछु भनेर जसले नेतृत्व गर्छ । त्यसले अग्रगमनको कुरा गर्नु नै वास्तवमा प्रतिगनमनको साधनमा चढेर अग्रगमनको कुरा गर्ने कुरा यो आफैँमा विरोधाभाषपूर्ण कुरा हो ।’

मन्त्री ढकालले ताजा जनादेशमा जानुको विकल्प नभएको बताए ।  सरकार स्वस्थ, मर्यादित, अनुशासित, पारदर्शी र भयरहित निर्वाचन गराउन अगाडि बढ्ने पनि उनले बताए ।