एउटा खेतमा केही कृषि मजदुर काम गरिरहेका थिए । एकछिन काम गरिसकेपछि सबै एक ठाउँमा बसेर गफ लडाउन थाले । मजदुरहरूको यो चाला देखेर पनि खेतका मालिकले केही भनेनन् । उनी चुपचाप एक्लै काममा लागे । यसरी मालिकले एक्लै काम गर्न थालेको देख्दा मजदुरहरूलाई लाज लाग्यो । उनीहरू पनि खुरुखुरु काममा जुटे । खाजा खाने समय भयो । मालिकले मजदुरहरूलाई भने– दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईंहरू सबै थाक्नुभयो । अब काम रोक्नुहोस् । पहिले खाजा खानुहोस् र आराम गर्नुहोस् । काम त पछि गरौँला नि ! आखिर काम कहाँ भाग्छ र ?
मजदुरले काम रोकेर खाजा खाए । एकैछिन आराम गरेर उनीहरू सबै तुरुन्तै काममा फर्किए । सबै मजदुरले साँझसम्म डटेर काम गरे र मालिकसित बिदा भएर आआफ्नो घरतिर गए । मजदुर बिदा भइसकेपछि मालिकका सँधियार किसानले प्रश्न गरे– तिमी मजदुरलाई खाजा खान पनि लामै छुट्टी दिन्छौ । आराम गर्न पनि दिन्छौ । तिनलाई कहिल्यै गाली पनि गर्दैनौ । तैपनि, तिम्रो खेतमा मेरो खेतमा भन्दा दोब्बर काम कसरी सम्भव भयो ? जब कि म लगातार मजदुरमाथि ध्यान पनि दिन्छु । काममा ठग्न खोज्नेलाई गाली पनि गर्छु । छुट्टी पनि कहिल्यै दिन्नँ ।
सँधियारको दुखेसो सुनेपछि पहिलो खेतका मालिकले भने– हेर्नुहोस्, म बढी काम लिन मजदुरमाथि कडाइमाथि भन्दा प्रेम र स्नेहमाथि बढ्ता विश्वास गर्छु । उनीहरूलाई सहानुभूति पनि दिन्छु । आराम गर्न पनि दिन्छु । त्यसैले, मजदुर पनि मन लगाएर काम गर्छन् । काममा ठगी गर्दैनन् । त्यसबाट काम पनि राम्रो र बढी हुन्छ ।