१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
ललितपुरको इमाडोलस्थित स्यानिटाइजर उद्योगमा आइतबार प्रहरीले छापा मारेपछि बरामद सामग्री । तस्बिर : अमुल थापा
टेकराज थामी काठमाडौं
२o८१ जेठ ४ शुक्रबार o९:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

विषाक्त स्यानिटाइजर उत्पादन गर्ने कारखानामा प्रहरी छापा

३० हजार लिटर विषाक्त स्यानिटाइजर बरामद, बजारमा गइसकेका ‘प्लस ७५’ नामक स्यानिटाइजर नियन्त्रणमा लिन निर्देशन

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o९:२o:oo

‘बजारमा विषाक्त स्यानिटाइजर रहेको’ सूचना प्राप्त भएलगत्तै महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले निगरानीका लागि ‘इन्टेलिजेन्स’ परिचालन गरे । टोली ‘मुभ’ भयो । भएजति सबै स्यानिटाइजरका नमुना खरिद गरिए । लगेर औषधि व्यवस्था विभागको प्रयोगशालामा परीक्षण गरियो । लिइएका नमुनामध्ये ‘प्लस ७५’ ब्रान्डको स्यानिटाइजमा २४ प्रतिशत ‘मेथानल’ रहेको प्रमाणित भयो । जुन ‘एसेटिक एसिड’ हो । मानिसका लागि यो विषसमान हुन्छ । 

‘मेथानल’ विष भएको प्रमाणित भएपछि महाशाखाको ‘इन्टेलिजेन्स’ टोली ‘प्लस ७५’को कारखाना खोज्न लाग्यो । यसक्रममा त्रिपुरेश्वरस्थित ‘प्लस ७५’ नामको स्यानिटाइजर बेच्ने होलसेल बिक्री केन्द्र फेला पर्‍यो । ‘लाइफ लाइन’ नामको बिक्री केन्द्रका अधिकारीसँग सोधपुछपछि ललितपुरको इमाडोलमा स्यानिटाइजर उत्पादन गर्ने उद्योग नै रहेको खुल्यो । 

प्रहरी टोली आइतबार उद्योगमा छापा मार्न पुग्दा बन्द घरभित्र विषाक्त स्यानिटाइजर उत्पादनमा व्यस्त ५० भन्दा धेरै मजदुर फेला परेपछि चकित परेको थियो । ‘यहाँ यति ठूलो उद्योग नै चलेको रहेछ । यतिसम्म होला भन्ने त सोच्नै सकेको थिइनँ,’ छापा मार्न पुगेका महाशाखा प्रमुख एसएसपी खापुङले भने । उनका अनुसार औषधि व्यवस्था विभागको प्रशोगशालामा विष हो भन्ने प्रमाणित भएपछि मात्रै प्रहरीले कारखानामा छापा मारेको हो । 

कारखानाबाट उत्पादित सबै स्यानिटाइजरमा ‘मेथानल’ नामक एसिड भेटिएको एसएसपी खापुङले बताए । ‘यहाँ ड्रम र ग्यालिनमा धेरै स्यानिटाइजर बरामद भएका छन् । यी सबैमा मेथानल नामको एसिड छ, जुन विष हो । मानिसको शरीरलाई यसले ठूलो हानि पुर्‍याउँछ । कानुनी दृष्टिबाट यो गम्भीर अपराध हो । त्यसो हुँदा हामीले यहाँ छापा मारेका हौँ । दोषीलाई कानुनअनुसार कडा कारबाही हुन्छ,’ उनले भने ।

 उद्योग सञ्चालक  आशिष प्याकुरेल पक्राउ
अनुसन्धानमा संलग्न महाशाखाका एसपी कृष्ण पंगेनीका अनुसार उद्योगमा ‘मेथानल’ नामको केमिकल दुई हजार लिटर बरामद भएको छ । ‘इथानल’ तीन हजार ६ सय लिटर भेटिएको छ । ‘इथानल’ मिसाएर बेच्न तयार पारिएको स्यानिटाइजर ३० हजार लिटर बरामद भएको छ । उद्योग सञ्चालक २६ वर्षीय आशिष प्याकुरेललाई प्रहरीले पक्राउ गरेको छ । 

नक्कली क्यानिटाइजर ओसार–पसारमा प्रयोग भएका दुईवटा गाडीसमेत बरामद गरिएको छ । पक्राउ परेका प्याकुरेललाई कमसल माललाई असल भनी झुक्याई बिक्री–वितरण गरेको एवं औषधिमा मिसावट गरी बिक्री–वितरण गरेको कसुरमा कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन–२०३२ अन्तर्गत कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइने महाशाखाले जनाएको छ ।

सबै गरी उद्योगमा एक करोड ८० लाख रुपैयाँको सामग्री बरामद भएको र सबैको मुचुल्का गर्न अझै एक दिन लाग्ने एसपी पंगेनीले बताए । ‘ठूलो मात्रामा केमिकल बरामद भएका छन्, जुन सबै विष हुन् । सबै बजारमा बेच्न लैजान ठिक पारिएका थिए । सबै गरी बरामद सामग्री झन्डै दुई करोड मूल्यबराबरको छ, जुन स्वास्थ्यमा खेलबाड गर्दै यस्ता सामग्री उत्पादन भएको यो अहिलेसम्मकै ठूलो परिमाण हो,’ उनले भने ।

 ‘प्लस ७५’ नामको  स्यानिटाइजर कम्पनी कतै दर्ता छैन
प्रहरीका अनुसार ‘प्लस ७५’ नामको विषाक्त स्यानिटाइजर उत्पादन गर्ने कम्पनी कतै पनि दर्ता भएको छैन । साढे दुई महिनादेखि इमाडोलस्थित घर भाडामा लिएर उद्योग सञ्चालन हुँदै आएको थियो । ‘प्लस ७५’ उल्लेखित लेबलमा सामग्री वीरगन्जमा प्याकिङ गरिएको भन्ने छ । तर, ती सामग्री वीरगन्ज नभई इमाडोलमै प्याकिङ हुने गरेको एसपी पंगेनीले जानकारी दिए । ‘यो उद्योग अढाई महिनाअघिदेखि चलेको देखिन्छ । यो कतै दर्ता भएको देखिँदैन । सामग्री वीरगन्जमा प्याकिङ भएको लेबलमा उल्लेख छ । तर, सबै सामग्री वीरगन्ज नभई यहीँ प्याकिङ गरिएको देखिन्छ । त्यसो हुँदा धन्दा अवैध भएको देखिन्छ,’ उनले भने ।

ad
ad