Skip This
उपत्यकाभित्र तीन स्थानमा महासंघको १३० बेडको आइसोलेसन 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ १० सोमबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ जेठ १० सोमबार o७:४९:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

उपत्यकाभित्र तीन स्थानमा महासंघको १३० बेडको आइसोलेसन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ जेठ १० सोमबार o७:४९:oo

नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ संक्रमित बिरामीलाई सुरक्षित राख्न काठमाडौं उपत्यकाका तीन ठाउँमा १ सय ३० बेडको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । महासंघले कमलपोखरीस्थित जैन निकेतनमा ५० बेड, क्षेत्रपाटीस्थित पुरानो गोर्खा अस्पतालमा ५० बेड र ललितपुरको अक्षेश्वर महाविहार पुल्चोकमा ३० बेडको आइसोलेसन सञ्चालनमा ल्याएको हो । महासंघ अध्यक्ष शेखर गोल्छाले मुलुकमा ठूलो चुनौती बनेर आएको कोभिड महामारीलाई परास्त गरेर सर्वसाधारणको स्वास्थ्य सुरक्षामा सहयोग गर्न महासंघ लागिपरेको बताए ।

उनका अनुसार मुलुक संकटमा पर्दा महासंघले संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी हरेकपटक सहयोग पुर्‍याउँदै आइरहेको छ ।ललितपुर उद्योग वाणिज्य संघ, आरम्भ फाउन्डेसन र अक्षेश्वर महाविहारसँगको सहकार्यमा महासंघले पुल्चोकमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । ३० बेड क्षमताको आइसोलेसन सेन्टर पुल्चोकस्थित अक्षेश्वर महाविहारमा रहेको छ । ललितपुर उवासंघको स्थानीय संयोजन, आरम्भ फाउन्डेसनको स्वास्थ्य सेवासम्बन्धी सहकार्य र अक्षेश्वर महाविहारले आइसोलेसन केन्द्र स्थापनाका लागि स्थान उपलब्ध गराएका हुन् ।

आइसोलेसन सेन्टरमा आवश्यकताका आधारमा थप बेडहरू व्यवस्था गर्दै जाने महासंघका कार्यकारिणी समिति सदस्य रञ्जित आचार्यले बताए ।महासंघले पहिलो आइसोलेसन सेन्टर कमलपोखरीको जैन निकेतनमा सञ्चालनमा ल्याएको हो । वैशाख ३० गतेदेखि भगवान् महावीर जैन निकेतन र आरम्भ फाउन्डेसनसँग सहकार्य गरी सञ्चालनमा ल्याएको आइसोलेसन सेन्टरमा ५० बेड रहेका छन् । त्यहाँ पनि आवश्यकताअनुसार थप बेडहरूको व्यवस्थापन गर्दै जाने महासंघले जनाएको छ ।
महासंघले काठमाडौं महानगरपालिका वडा नम्बर १७ सँगको सहकार्यमा जेठ ३ गतेदेखि क्षेत्रपाटीस्थित पुरानो गोर्खा अस्पतालमा कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । सुरुमा ५० बेड रहेको आइसोलेसनमा आवश्यकताका आधारमा सय बेडसम्म पुर्‍याइने बताइएको छ । 

तीनवटै आइसोलेसन केन्द्रमा कोभिड संक्रमित भई घर वा कोठामा बसेर रेखदेख गर्न सम्भव नभएका बिरामीलाई उचित खाना, औषधि र वासस्थानसहित स्वास्थ्यकर्मीको निगरानीमा आइसोलेसन सेवा प्रदान गरिने महासंघले जनाएको छ । आइसोलेसनमा उपलब्ध गराइएका स्वास्थ्यकर्मी र चिकित्सकले संक्रमितहरूको २४सै घन्टा स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्शसहित औषधि उपचारको प्रबन्ध गर्नेछन् । स्थानीय वडा कार्यालय, विभिन्न संघ–संस्थासँगको सहकार्यमा महासंघले आइसोलेसन सेन्टरमा दैनिक पौष्टिक आहार र स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइएको छ ।

आइसोलेसनमा रहँदा कुनै संक्रमितहरूमा स्वास्थ्य जटिलता आई अस्पताल जानुपर्ने अवस्था आइपरेमा बिरामीलाई अस्पतालसम्म जाने कार्यको समन्वय महासंघले गरिदिनेछ । त्यसपछिको सम्पूर्ण व्यवस्थापन बिरामी आफँैले गर्नुपर्ने हुन्छ । महासंघ अध्यक्ष गोल्छाले भने, ‘कतिपय संक्रमितहरू उचित खानपिन र क्वारेन्टिनको अभावमा ठूलो समस्यामा पर्ने भएकाले दैनिक कमाएर गुजारा गर्नुपर्ने निम्न आय भएका वर्गहरूलाई लक्षित गरी आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएका हौँ ।’ विभिन्न संघ–संस्थाहरूसँग समन्वय गरेर अन्य ठाउँमा पनि आइसोलेसन सेन्टर विस्तार गर्दै जाने महासंघ कार्यकारिणी सदस्य आचार्यले बताए ।