पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ । विपक्षमा राजनीतिक दलहरूसँगको छलफलपछि माओवादी केन्द्रले आकस्मिक रूपमा शनिबार दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने गरी बोलाइएको बैठक साढे ३ बजेबाट सुरु भएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।
माओवादीले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेपछि विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न लागेको हो । बैठकले संसद् विघटन भएको अवस्थामा कसरी अगाडि बढ्ने रणनीति तय गर्ने बताइएको छ ।
यसअघि पाँच दलको सर्वदलीय बैठक बसेको थियो । बैठकले ओलीको कदमलाई गैरसंवैधानिक, गैरलोकतान्त्रिक र प्रतिगमन भएको ठहर गरेको छ । साथै, १४९ जना सांसदको हस्ताक्षरसहित आइतबार सर्वोच्च अदालत जाने निर्णय पनि गरेको छ ।