१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ ७ शुक्रबार
  • Saturday, 29 June, 2024
मुना कुँवर काठमाडाैं
केदार दाहाल काठमाडाैं
२o७८ जेठ ७ शुक्रबार o९:४७:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपालीले विमान चार्टर गरी विदेश जान पाउने  तर, तत्काल स्वदेश फर्कन नपाउने 

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडाैं
केदार दाहाल, काठमाडाैं
नयाँ पत्रिका
२o७८ जेठ ७ शुक्रबार o९:४७:oo

भारतीयलाई साउदी जान दिने, तर नेपालीलाई जान नदिने निर्णयको आलोचना भएपछि सरकारद्वारा विदेश जान चाहने नेपालीलाई रोक नलगाउने, तर स्वदेश आउन नदिने निर्णय

सरकारले विदेश जान चाहने नेपालीलाई रोक नलगाउने निर्णय गरेको छ । यसअघि सरकारले नेपालीलाई भारतबाहेक अन्य देश जान रोक लगाएको थियो । नयाँ निर्णयसँगै वैदेशिक रोजगारीमा जान चाहने नेपालीहरू विदेश जान पाए पनि स्वदेश भने आउन पाउनेछैनन् । अब चार्टर उडानमार्फत जोकोही नेपाली विदेश जान पाउने भएका छन् । ‘नेपालबाट हुने उडानबाट जान दिने, तर नेपाल आउन भने नपाउने निर्णय भएको छ, सोहीअनुसार उडानमा नेपाली पनि जान पाउनेछन्,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने । नेपालीहरू जुनसुकै भिसा भए पनि बाहिर जान पाउने, तर नेपाल भने तत्काल आउन नपाउने पोखरेलले जानकारी दिए । 

केही दिनअगाडि सरकारले भारतीयलाई साउदी जान दिने, तर वैदेशिक रोजगारीमा जाने रोकिएका नेपालीलाई रोक लगाउने निर्णयसँगै चर्को आलोचना भएको थियो । भारतीय दूतावासको आग्रह भन्दै सातामा १० उडानमार्फत भारतीयलाई साउदी जानका लागि अनुमति दिइएको थियो । जसकारण अहिले धमाधम उडान भइरहेका छन् । यता युरोप, अमेरिकालगायत देशमा नेपालस्थित विदेशी दूतावासहरूले आफ्ना नागरिक लैजानका लागि जहाज चार्टर गरिरहेका छन् । नेपालीले चाहेमा सोही उडानमा पनि जान पाउने व्यवस्था सरकारले गरेको छ । 

सातामा नेपाल वायुसेवा निगमले ७ र हिमालय एयरलाइन्सले ३ उडान गर्न अनुमति पाएका हुन् । परराष्ट्र मन्त्रालय र भारतीय दूतावासबाट पत्र आएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान अनुमति दिएको थियो । 

‘अब साउदी मात्रै नभएर युुरोप, अमेरिका पनि जान पाउनेछन्,’ महानिर्देशक पोखरेलले भने । भारतीय दूतावासले पठाउने नामको सूचीअनुसार निगम र हिमालय एयरलाइन्समार्फत भारतीयहरू साउदी गइरहेका छन् । 

साउदीले भारतलाई यात्रा प्रतिबन्ध लगाए पनि नेपाललाई भने अझै आवतजावत गर्न अनुमति दिइरहेको छ । यसैको फाइदा उठाउँदै भारतीय नागरिक नेपाल भएर रोजगारीका लागि साउदी जान थालेका थिए । अहिले पनि साउदी अरबले भारतसँग सीधा उडान बन्द गरेको छ । 

सरकारले जेठ १७ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । आन्तरिक उडान अनिश्चित कालका लागि बन्द छन् । चार्टर र उद्धार उडान हुन सक्ने भनिए पनि सरकारले आफ्ना नागरिकका लागि कुनै देशमा उडान गरेको छैन । 

यता एयर बबलको सम्झौताअनुसार भारत–नेपालमा सातामा एक–एक उडान भइरहेका छन् । जसअनुसार नेपाल वायुसेवा निगम र एयर इन्डियाले सातामा एक–एक उडान गरिरहेका छन् । एयर बबल सम्झौताअनुसार उक्त उडानमा भारतीय र नेपालीले मात्रै उडान गर्न पाउनेछन् । जसमा तेस्रो मुलुकका नागरिकले उडान गर्न पाउनेछैनन् । 

हेलिकोप्टरको चार्टरको भाडा घट्यो
नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्देशनमा हेलिकोप्टर कम्पनीहरूले चार्टर उडानको भाडा घटाएका छन् । कम्पनीहरूले बढीमा प्रतिघन्टा उडानमा १२ सय डलर मात्रै लिने भएका छन् । प्राधिकरणले महँगो भाडा लिएमा प्राधिकरणमा उजुरी दिन आग्रहसमेत गरेको छ । यसअघि हेलिकोप्टर कम्पनीहरूले महँगो भाडा लिएको भन्दै गुनासो आएको थियो । 

भिसा पाएका १२ हजारभन्दा बढी श्रमिक नेपालमै रोकिए

दोस्रो चरणको कोरोना संक्रमणका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा १२ हजारभन्दा बढी नेपाली श्रमिक वैदेशिक रोजगारीमा जानबाट रोकिएका छन् । वैदेशिक रोजगार व्यवसाय संघका अनुसार रोजगारीका लागि मध्यपूर्वका विभिन्न मुलुक जान तयार भएका र बिदामा आई फर्कन तयार भएका श्रमिक रोकिएका छन् । साउदी अरबको भिसा लागेर जान तयार भएका ३ हजार १ सयभन्दा बढी श्रमिक नेपालमा नै रोकिएका छन् । त्यस्तै, कतारको भिसा लागेका २ हजार ६ सयभन्दा बढी छन् । दुबईको भिसा लागेर बसेका २ हजार ३ सय, ओमानको भिसा लागेका ३५० र बहराइनको भिसा लागेर १५० भन्दा बढी श्रमिक नेपालमा नै रोकिएका छन् । त्यस्तै, बिदामा आई पुनः श्रम स्वीकृति लिएर बसेका करिब ४ हजार श्रमिक फर्कन नपाएको संघका सचिव मेघनाथ भुर्तेलले बताए । 

मध्यपूर्वमा नेपाली श्रमिकलाई खुला
मध्यपूर्वका मुलुकमा नेपाली श्रमिकलाई रोजगारीमा जान खुला गरिएको छ । नेपालमा कोरोना संक्रमण बढे पनि सम्बन्धित मुलुकले तोकेको स्वास्थ्य मादपण्ड पालना गरी नेपाली श्रमिक जान पाउँछन् । कतार जाने नेपाली श्रमिकले पिसिआर परीक्षण गरी १५ दिन होटेल क्वारेन्टिन बसेपछि काममा जान पाउँछन् । त्यसैले कतार पुग्नुअघि नेपालबाट नै होटेल बुकिङ गर्नुपर्ने संघका सचिव मेघनाथ भुर्तेलले बताए । त्यस्तै, साउदी, दुबई, ओमान र बहराइनले पनि पिसिआर परीक्षण र १५ दिन होटेल क्वारेन्टिनमा बस्नुपर्ने मापदण्ड तोकेको छन् । 

तर, नेपाल सरकारले भने कोरोना संक्रमण नियन्त्रणका लागि गत वैशाख २३ गतेदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । समयमा नै गन्तव्य मुलुकमा जान नपाउँदा कतार जाने कतिपय श्रमिकको भिसाको अवधि नै सकिएको संघका सचिव भुर्तेलले बताए । सरकारले जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । 

अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोजगारीमा गएर भिसा अवधि सकिएका श्रमिकसमेत नेपाल फर्कन पाएका छन् । भिसा अवधि समाप्त भएका, आममाफी पाएका, बिरामी र भिजिटका लागि गएका नेपाली नागरिक नेपाल फर्कन पाएका छैनन् । त्यसैले रोजगारीमा मृत्यु भएका नेपाली श्रमिकको शवसमेत नेपाल ल्याउन नसकिएको संघले जनाएको छ । 

२५ हजारको टिकटलाई १ लाख ६० हजारमा बिक्री गरिँदै
साउदी अरबको हवाई टिकट ६ गुणाले बढाइएको वैदेशिक रोजगारी व्यवसायीहरूले बताएका छन् । सरकारले साउदी अरब उडानको अनुमति दिएका एयरलाइन्सको टिकटलाई ट्राभल एजेन्टहरूले बढाएर बिक्री गरेको व्यवसायीहरूको भनाइ छ । 

व्यवसायीका अनुसार भारतीय श्रमिकले साउदी अरबका लागि भारतीय १ लाख रुपैयाँसम्म भुक्तानी गरेका छन् । सामान्य अवस्थामा काठमाडौंदेखि साउदी अरबको उडानका लागि २२ हजारदेखि २५ हजार रुपैयाँसम्म पर्ने गरेको व्यवसायीहरू बताउँछन् । तर, लकडाउनको फाइदा उठाउँदै ट्राभल एजेन्टहरूले टिकटमा कालोबजारी गरेको उनीहरूको आरोप छ । सरकारले भारतीय श्रमिकलाई साउदी उडानका लागि अनुमति दिएकै दिन २ हजार ४ सयवटा टिकट बिक्री भएको संघले बताएको छ ।

ad
ad
ad
ad